राजनीति

प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारी गर्न निर्देशन

प्रधानमन्त्रीद्वारा निर्वाचनको तयारी गर्न निर्देशन
पुस - २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेको आन्दोलन संविधान, सङ्घीयता र गणतन्त्र विरोधी भएको बताएका छन् ।माओवादी केन्द्र चितवनको कार्यालयमा शनिबार कार्यकर्तालाई निर्देशन दिँदै उनले संविधान कार्यान्वयनको वातावरण बनाउन सबै राजनीतिक शक्ति र जनतालाई लिएर सरकार अघि बढिरहेको बताए । संविधान संशोधन प्रस्तावमाथि विरोध गर्नेहरुले विरोधको औचित्य पुष्टि गर्न नसकेको उनले उल्लेख गरे । जबरर्जस्ती विरोधको अर्थ नभएको भन्दै उनले मधेस, पहाड, तराई सबैलाई जोड्न संविधान संशोधन प्रस्ताव ल्याइएको बताए । केही दिनमा नै संविधान संशोधनको टङ्गो लागेर देश निर्वाचनतर्फ धकेलिने उनले जनाए । ‘माओवादी केन्द्र’का अध्यक्ष समेत रहेका दाहालले पार्टीका कार्यकर्तालाई जिम्मेवार भएर निर्वाचनमा लाग्न निर्देशन दिए । गाउँ तहसम्म सङ्गठनलाई सुदृढीकरण गर्दै आउँदो निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै एक भएर लाग्न उनको निर्देशन थियो । गृह जिल्ला चितवनलाई आफ्नो निर्वाचन क्षेत्र बनाउने तयारीमा जुटेका दाहालले जिल्लाको गाउँ तहसम्म पार्टीको सङ्गठन मजबुद बनाउने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष