राजनीति

नेपाल एक चीन नीतिको पक्षमा रहेको छः सभापति देउवा

नेपाल एक चीन नीतिको पक्षमा रहेको छः सभापति देउवा
पुस–४ । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति तथा प्रकाशन विभाग प्रमुख एवम् उक्त पार्टीका राजनीतिक सचिवालय सदस्य ल्यु छिपाओ नेतृत्वको टोलीले साेमबार भेटवार्ता गरेका छन् । सभापति देउवाको निवास बुढानिलकण्ठमा भएको सो भेटमा दुई देशका आपसी हित र नेपालको समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको काँग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए । नेपालको वर्तमान राजनीतिक घटनाक्रम र संविधान कार्यान्वयन सम्बन्धमा चिनियाँ टोलीले राखेको चासोको विषयमा सभापति देउवाले जानकारी गराउँदै नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताए। सो अबसरमा चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय समिति सदस्य ल्यु छिपाओले नेपालको आर्थिक विकासमा चिनले सधैं सहयोग गरिरहने बताउँदै नेपाल र चिन जोड्ने कोदारी राजमार्ग छिट्टै सुचारु गर्ने विश्वास व्यक्त गरे । भेटका अवसरमा सभापति देउवालाई चीन भ्रमणका लागि निमन्त्रणा गरेकोमा उपयुक्त समय मिलाएर चीन भ्रमण गर्ने सभापति देउवाले जानकारी गराएका थिए । उक्त भेटका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको सहभागिता थियो । रासस

नेपाली काँग्रेस शेरबहादुर देउवा

विशेष