राजनीति

'गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ'

'गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ'

पुस ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक मान्यता उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन्।

नेकपा माओवादी केन्द्रले सुर्खेतमा आयोजना गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले माओवादी आन्दोलन केही कमजोर भएपछि संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी मान्यताजस्ता परिवर्तनका मुद्दा उल्टाउने कोशिश भइरहेको बताएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले भने,‘प्रतिपक्षका कतिपय नेताहरु राजतन्त्र र २०४७ सालकै संविधान ठीक थियो भन्ने ठाउँमा आएका छन्। गणतन्त्र र संघीयता उल्टिँदा माओवादी आन्दोलनको औचित्य समाप्त हुन्छ। परिवर्तनका मुद्दा जोगााउन माओवादी धाराहरुको एकता अनिवार्य छ।’

उनले गणतन्त्र जोगाउन माओवादी एकता अपरिहार्य रहेको बताए। उनले भने,‘हामीले दश माओवादी घटकसँग एकता गरेका छौं। तर, माओवादी एकता अभियान पुरा भएको छैन। पहिले हामीले पार्टीको एकतालाई मजबुत बनाऔं, अनि सबै माओवादी धारालाई एकतावद्ध गर्न सबैले पहल गरौं। हामीले प्रष्ट रुपमा बुझ्नुपर्छ, माओवादीको एकता अभियान अहिले पनि जारी छ।’

संविधान कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, पूनर्निर्माण र समृद्धि सरकारका मूख्य प्राथमिकता भएकोमा जोड दिँदै प्रचण्डले भने,‘सरकार आफ्ना प्राथमिकतामा स्पष्ट छ। संविधान कार्यान्वयन, पुनर्निर्माण, सन्तुलित विदेश नीति, वैदेशिक रोजगारीमा गएका नेपालीहरुका समस्या समाधानमा सरकार निरन्तर क्रियाशिल छ। सरकारले गरीबका लागि सरकार, जनता पेन्सनजस्ता महत्वपूर्ण कार्यक्रम ल्याउँदैछ। यो सरकारले जनताको हितलाई केन्द्रमा राखेर अन्तिमसम्म काम गर्नेछ ।’

संविधान संशोधन प्रस्तावबारे प्रचण्डले भने,‘संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएको छ। तर, त्यो माओवादीको प्रस्ताव होइन, बरु विगतमा एमालेले अघि सारेको र कांग्रेसले समर्थन गरेको प्रस्ताव हो। मेरो एक मात्रै चाहना हिमाल, पहाड र तराईलाई मिलाएर संविधान कार्यान्वयन गर्नु नै हो। कोही यसको विपक्षमा उभिन्छ र राष्ट्रिय एकता चाहँदैन भने सिधै बुझ्दा हुन्छ, त्यहाँ राष्ट्रवादको नाममा देशलाई बिखण्डन गर्ने राष्ट्रघातको नियत लुकेको छ। यसले देशको हित गर्दैन।’

pm dahal

विशेष