राजनीति

प्रचण्डलाई बाबुरामको व्यंग्यः गरिबी नदेखाउनुहोस्, तपाईलाई कसैले सन्तनेता भन्दैनन्

प्रचण्डलाई बाबुरामको व्यंग्यः गरिबी नदेखाउनुहोस्, तपाईलाई कसैले सन्तनेता भन्दैनन्

पुस ६ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले देखाएको सम्पत्ति विवरण अपारदर्शी रहेको संकेत गरेका छन् ।

भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा बुधबार एक ट्विट गर्दै लेखेका छन्, ‘अब गरिबी देखाएर महान/त्यागी/सन्तनेता बन्ने युग पुरानो भैसक्यो है ! अब समृद्धिमा गर्व गर्ने युग आइसक्यो । सम्पत्ति पारदर्शी गरौं ! इमान्दार बनौं !’

प्रधानमन्त्री दाहालले केही दिन अघि सार्वजनिक गरेको आफ्नो सम्पत्ति विवरणमा एक कठ्ठा जमिन र तीन तोला सुनमात्रै रहेको उल्लेख गरेका थिए । दाहालको सो विवरणमा धेरैले शंका गरेका छन् । त्यसमा पूर्वप्रधानमन्त्री भट्टराईले पनि घुमाउरो पारामा शंका गरेका हुन् ।

बुधबार नै अर्को ट्विट गरेर भट्टराईले प्रधानमन्त्री दाहालमाथि बैंक खाता लुकाएको आरोप लगाएका छन् । उनले लेखेका छन्, ‘कुनै प्रमको मासिक तलव/भत्ता साझै बैंकको खातामा जान्छ ! त्यो देखाउनपर्दैन ? मोवाइलाई सम्पत्ति मान्ने हो भने टिभी/घडी/ रेडियो/जुत्ता/कापी /कलम ?’

प्रधानमन्त्री दाहालले आफ्नो सम्पत्ति विवरणमा बैंक खाताबारे उल्लेख गरेका छैनन् ।  भट्टराईले अगाडि लेखेका छन्, ‘कसैको सम्पत्ति कति भन्दा उसको इमान्दारिता र पारदर्शिता मुख्य कुरा होइन र ?’

Bbauram Bhattarai

विशेष