राजनीति

‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’

‘राष्ट्रिय सहमति निर्माण गर्न संविधान संशोधन’
पुस–७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सहमति निर्माण गर्न सजिलो होस् भनेर संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताएका छन् । पाँचौँ धादिङ महोत्सवको बिहिबार उद्घाटन गर्दै उनले संशोधनको प्रस्ताव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका तत्कालीन सभापति सुशील कोइरालाले पहिले संसद्मा दर्ता गराएको प्रस्ताव भएकाले संविधान कार्यान्वयनका लागि सबैको स्वीकार्यता बढाउनका लागि आएको बताए । विभेद र निषेधको नीति लिँदा राष्ट्रियता खतरामा पर्ने भएकाले संविधान संशोधनको प्रस्तावलगायत विषयमा संसद्बाटै समाधान निकाल्न प्रमुख प्रतिपक्षी दललाई उनले आग्रह गरे । प्रधानमन्त्री दहालले प्रमुख प्रतिपक्षी दल, मधेसी मोर्चा र राप्रपासँग छलफल गरेर केही दिनमै संविधान संशोधन, महाभियोग र निर्वाचन घोषणासम्बधी विषय एकमुष्ट निर्णय गरिने बताए । संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै प्रधानमन्त्री दाहालले दुई तिहाइ मत नपुगेमा स्वतः असफल हने भएकाले संसद् अवरोध गर्न छाडेर संसदीय मर्यादामा आउन नेकपा एमालेलगायत प्रतिपक्षी दललाई आग्रह गरे । सो अवसरमा प्रधानमन्त्री दाहालले धादिङबेँसी उत्तरी नाका, केरुङ– गल्छी– ठोरी नाकाका लागि सडक निर्माण, बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा, मध्यपहाडी लोकमार्ग नयाँ बाटो पहिचान, भूकम्पपीडितलाई तत्काल थप सहयोग, पर्यटन प्रवद्र्धन र जिल्ला अस्पताललाई ५० शय्याको बनाउन सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान संशोधनको प्रस्ताव

विशेष