नाकाबन्दी भारतले गरेको होइन भन्नेहरु सबै नक्कली नेपाली हुन्
करिब २५ वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध रहेका पुराना नेता पर्शुराम खापुङ अहिले नयाँ शक्ति नेपालमा हुनुहुन्छ । राप्रपामा महामन्त्री, प्रवक्ता, सचिवलगायत पदमा रहेर काम गर्नुभएका खापुङ पूर्वमन्त्री पनि हुनुहुन्छ । प्रमुख दलहरु संविधान संशोधन, निर्वाचन आदिमा केन्द्रीत भइरहँदा नयाँ शक्ति भने शक्ति आर्जनमै व्यस्त छ । राजनीतिको मूल प्रवाहमा आइनसकेको पार्टी र त्यो पार्टीका नेता पर्शुराम खापुङको धारणा बुझ्ने प्रयास गरेका छौं । प्रस्तुत छ नयाँ शक्तिका नेता खापुङसँग भएको कुराकानीको संपादित अंशः
तपाई र बाबुराम भट्टराईको पृष्ठभूमि नै फरक, कसरी नयाँ शक्तिमा अटाएर काम गरिरहनु भएको छ ?
– पृष्ठभूमि भन्ने कुरा समय सापेक्ष हुन्छ । एउटा परिस्थितिमा म राप्रपामा थिएँ । राप्रपाबाटै मुलुकको हित, जनताको हित गर्न सकिन्छ भन्ने मेरो दृढ विश्वास थियो । जसकारण मैले लामो समय राप्रपामा बिताएँ । विभिन्न पदमा रहेर काम गरेँ । तर त्यो जब राप्रपाबाट देश र जनताको हित हुँदैन भन्ने लाग्यो, अनि पार्टी छाडे । अहिले नयाँ शक्तिमा छु । अबको राजनीतिक एजेन्डा भनेको समृद्धि हुनु पर्छ भन्ने मेरो मान्यता हो । यो मान्यता नयाँशक्तिको पनि हो । मान्यता मिलेपछि बाबुराम भट्टराईसँग मिल्न के गाह्रो भएको छैन ।
तपाईले राप्रपा छाड्ने बेला भन्नुभएको थियो कि यो पार्टीमा बसेर देश र जनताको सेवा गर्न सकिने रहेनछ, यसकारण पार्टी छाडेँ । तपाईलाई त्यही पार्टीले मन्त्री बनायो, त्यो भन्दा देश र जनताको लागि सेवा गर्ने अर्को अवसर के हुन सक्थ्यो ?
–राप्रपामा मैले २५ वर्ष बिताएँ । फरक फरक खाले जिम्मेवारी सम्हाले । तर पार्टीमा जालझेल, षडयन्त्र, चाप्लुसी मौलाउँदै गयो । युगको हाँक अब राप्रपाले थाम्न सक्दैन भन्ने निचोडमा पुगेँ । त्यसपछि बाबुराम भट्टराईले नयाँ पार्टी खोल्ने बताउनु भएको थियो । उहाँसँग कुराकानी भयो । र हामीले नयाँ पार्टी खोलेका हौं । मैले एक पार्टी छाडेर अर्को पार्टीमा प्रवेश गरेको होइन, एक पार्टी छाडेर अर्को पार्टी गठन गरेको हो भन्नु उपयुक्त हुन्छ । यसमा अर्को महत्वपूर्ण कुरा के भने नेपालमा अहिलेका पार्टीहरु कुनै न कुनै हिसाबले ‘डेट एक्स्पायर्ड’ भइसकेका छन् । हिजोको दिनमा एमाले, कांग्रेसको आवश्यकता थियो । उनीहरुले गरे । तर अब उनीहरुले पुरानै एजेन्डा बोकेर हिँड्न हुँदैन । तर उनीहरु बदलिँदो समयअनुशार परिवर्तन हुन सकेका छैनन् । यसकारण नयाँ शक्तिको आवश्यकता भएको हो ।
१० वर्षसम्म जनयुद्ध हाँक्ने नेतालाई अहिले आफ्नो नेता बनाउनु भएको छ । तपाईलाई चाहिँ के लाग्छ, त्यो जनयुद्ध ठीक थियो ?
–जनयुद्ध ठीक कि बेठीक भनेर अहिले भन्नु सान्दर्भिक नहोला । त्यो बेला माओवादी र राज्यपक्षबाट भएका ज्यादती, अत्याचारबारे सत्य निरुपण होला एक दिन । गलत गर्नेले कुनै सजाय अवश्य पाउलान् । आयोग गठन भएपछि त्यही निकायले धेरै गर्ला । यसबारे म टिप्पणी गर्दिनँ । अहिले त हामी समृद्धिको पक्षमा छौं । राजनीति धेरै गरियो, अब मुलुकलाई समृद्ध बनाउनु पर्छ । यसका लागि राजनीतिक स्थायीत्व चाहिन्छ । राजनीतिक स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ । यसकालागि हामी आवाज उठाउनेछौं ।
नेपालमा संघीयता नै चाहिँदैन भन्ने जमात पनि ठूलो छ । तपाईको बिचारमा यो देशमा प्रदेश चाहिँ कतिवटा चाहिएला ?
– यो प्रश्न जनताको अधिकारसँग सम्बन्धित छ । यहि मुलुकमा रहेर पनि सदियाँैदेखि राज्यको मूल प्रवाहमा आउन नसकेका धेरै जातजाति, भाषाभाषी छन् । ती सबै जातिजातिलाई हामीले जागरुक बनाउन सक्यौं भने राष्ट्रियता बलियो हुन्छ । अहिले प्रदेश सीमांकनका विषयमा उठेको विवाद प्रमुख तीन दलको कारणले सिर्जना भएको हो । ७४ माघ भित्र तीन वटा निर्वाचन हुनुपर्छ । तर कोही पनि निर्वाचनका लागि गम्भीर छैनन् ।
मुलुकको समस्या न सरकारले बुझ्यो, न तीन दलले । अहिले मुलुक अन्यौलमा फस्दै गएको छ । यसको प्रमुख कारक तीन दल हुन् ।
निर्धारित समायावधि भित्रै निर्वाचन होला ?
– हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । तर मुलुकमा भइरहेका खेल हेर्दा चुनाव होला जस्तो लाग्दैन । मुलुक झन झन संकटमा पर्दै गएको छ । नेपालमा लेन्डुप दोर्जे जन्मिन खोजिरहेका छन् ।
एमालेका केही नेताले प्रचण्डलाई लेन्डुप दोर्जे हुन खोजको बताउने गर्छन्, तपाईको इशारा पनि त्यतै हो ?
–मेरो इशारा यसलाई वा उसलाई भन्नु भन्दा पनि लेन्डुप दोर्जे प्रवृत्तिका मानिसहरु जन्मने खतरा देखेको छु । एमालेले भन्ने कुरा आफ्नो ठाउँमा होला ।
निर्वाचनमै जोडन चाहन्छु, निर्वाचन भयो भने नयाँ शक्तिले बढीमा गोरखाबाट एक सिट जित्छ पनि भन्नेहरु छन्, के भन्नुहुन्छ ?
–हामीले कति र कसरी निर्वाचन जित्छौं भन्ने कुरा त पहिले निर्वाचन हुन दिनुहोस् न अनि थाहा हुन्छ । तर यो सरकारको निर्वाचन गराउने छाँट देख्दिनँँ । आफ्नो तलब बढाउने सबै पार्टीका नेताहरु मिलेर विधेयक पास गरे । तर देशको हित हुने कुरामा यिनीहरु मिल्दैनन् । अब निर्वाचन पनि नगराउने र संसदको आयु बढाउने खेलमा दलहरु लागिसकेका छन् भन्ने मेरो ठहर हो ।
संविधानमा कुनै पनि दलले भने झै विषय समावेश भएका छैनन् । यो एक सम्झौताको दस्तावेज बनेको छ । तर मधेसी मोर्चामा आवद्ध दलहरु आफूले भने झै नभए देश नै खाडलमा जाओस झै गरी अगाडि आएका छन् । तपाईलाई कस्तो लाग्छ ?
–अहिलेको संविधान अपूर्ण छ । यसलाई पूर्ण गर्न संविधान संशोधन आवश्यक छ । संविधान संशोधनको माग मधेसी मोर्चाले गर्यो । संशोधन प्रस्ताव सरकारले ल्यायो । अहिले मधेसी मोर्चाले पनि त्यसको स्वामीत्व लिएको छैन । प्रतिपक्षी दलले पनि विरोध गरेका छन् ।
मलाई आश्चर्य लागेको विषय भने कसैको सहमति हुँदैन थियो भने सरकारले हचुवाको भरमा किन ल्यायो संविधान संशोधन प्रस्ताव ?
अर्को कुरा, मधेसी नेताहरु वा मधेसी दलहरु मात्रै छैनन् तराईमा । तराईमा अरु पनि छन् । अरु दलहरुले पनि तराईको प्रतिनिधित्व गर्छन् । यसकारण मधेसी दलहरुले तराईको ठेक्का लिइरहनु पर्दैन । तराइको सबै ठेक्का उनीहरुले लिने, अनि बाँकी तराईका प्रतिनिधिले चाहिँ के गर्ने ? तराईबाटै पराजित भएका, जनताबाट तिरष्कृत भएकाहरुले सबै काम आफै गर्छौ भनेर हिँडन अलि सुहाउँदैन ।
भारतले नाकाबन्दी गर्छ, मधेसीले स्वागत गर्छन्, सरकारले संविधान संशोधन प्रस्ताव ल्याउँछ भारतले स्वागत गर्छ, किन यस्तो भइरहेको छ ?
–मूल समस्या मधेस, पहाड र हिमाल भन्ने भावना हो । समस्या मधेसमा मात्रै छैन । सबैतिर छ । एक ठाउँको मात्रै कुरा गर्नुको अर्थ छैन । त्यो नाकाबन्दीको कुरा गर्ने हो भने स्पष्ट रुपमै सानो मुलुक नेपालमाथि भारतले गरेको अत्याचार हो । त्यो नाकाबन्दीलाई भारतले गरेको होइन भनेर यदि कसैले भन्छ भने बुझ्नु पर्छ कि त्यो नेपालको नागरिक होइन । नक्कली नागरिक हो ।