राजनीति

मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैनः प्रधानमन्त्री

मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैनः प्रधानमन्त्री
पुस–८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित हुने विश्वास व्यक्त गरेका छन् । ‘मधेसी, थारु, जनजातिलाई हेपेर संविधान कार्यान्वयन गर्न सकिदैन,’ गोरखाको मुच्चोकमा निर्माण भएको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको शुक्रबार उद्घाटन गर्दै उनले भने, “यो संविधान सबैको संविधान बनाउनका लागि संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्छ ।” प्रधानमन्त्री दाहालले काँग्रेसका तत्कालीन सभापति स्व सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव अनुसार नै तराईका जिल्ला समेटेर– ५ नम्बर प्रदेश निर्माण गर्न लागिएको बताउँदै काँग्रेस र एमालेकै प्रस्तावअनुसार अहिले आफूले संविधान संशोधनमार्फत ५ नम्बर प्रदेशको प्रस्ताव ल्याएको बताए । प्रतिपक्षमा रहेको नेकपा एमालेले संशोधन संशोधन प्रस्तावको विरोध गर्न पाउँछ भन्दै उनले संसद् अवरुद्ध गरेर कोही पनि राष्ट्रवादी नहुने बताए । प्रधानमन्त्री दाहालले अवरुद्ध संसद् खुलाउनेबारे छलफल भइरहेको बताउँदै निर्वाचन सम्बन्धी विद्येयक, अख्तियारका पूर्वप्रमुखको महाअभियोगबारे छलफललगायत महत्वपूर्ण काम संसद् अवरुद्ध हुँदा अघि बढाउन नपाएकोमा दुःख व्यक्त गरे । “राष्ट्रवादको पक्षमा छौँ भन्ने अनि संसद् अवरोध गर्ने? यो कहीँ कतै केही मिलेन’, भन्दै उनले चित्त नबुझेका कुरा संसद्मा राख्न एमालेलाई आग्रह गरे । प्रधानमन्त्री दाहालले ‘संविधान संशोधन प्रस्ताव फेल गराएर देखाउनुहोस्’ भनेर एमालेलाई चुनौती दिँदै “फेल गराउन सक्नुहुन्न भने प्याकेजमै सहमति गरौंँ । प्रक्रियागत रुपमा सहमति गरौँ देशलाई निकासको बाटोमा लैजाऔँ,’ भने। उनले मधेसी, थारु, जनजातिलगायत सबैको संविधान बनाउन संविधान संशोधनको आवश्यकता परेको बताए । रासस

पुष्पकमल दाहाल ‘प्रचण्ड’ संविधान संशोधन प्रस्ताव

विशेष