राजनीति

संसद्को गतिरोधले देशमा निरङ्कुशता

संसद्को गतिरोधले देशमा निरङ्कुशता
पुस - ९ । हाल मुलुकमा भइरहेको संसद्को गतिरोधले देशमा निरङ्कुशता र अतिवादलाई फाइदा पुग्ने खतरा रहेको परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले बताएका छन्। मन्त्री महतले भने–“संसद् प्रजातान्त्रिक अभ्यास गर्ने थलो भएकाले यसलाई बन्द गराउन खोजिनु कुनै पनि निकास वैधानिक र सर्वमान्य हुँदैन।” धादिङको ढोला गाविसमा आयोजित धार्मिक महोत्सव तथा ज्ञान महायज्ञमा बोल्दै उनले संविधान संशोधनप्रति सम्पूर्ण देशवासीको चासो र चिन्ता रहेकाले त्यसमा गरिने उचित परिमार्जन जनताको प्रतिनिधि रहेको संसदमा छलफल हुन पाउने अधिकारप्रति संवेदनशील हुन प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरे। मन्त्री महतले संविधानको सशक्त कार्यान्वयन गर्न सकेमात्र देशले निकास पाउने बताउँदै निर्वाचन मिति नजिकिँदै गर्दा सम्पूर्ण राजनीतिक दलहरु निर्वाचनका लागि तयार हुनुपर्नेमा जोड दिए। उनले संविधानमा सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण र संवद्र्धन गर्न पाउने अधिकारको व्यवस्था भएकाले नेपाल सनातनदेखि हिन्दू र बौद्ध धर्मको भूमि भएको बताए। सो अवसरमा नेपाली काँग्रेसका जिल्ला सभापति रमेश धमलाले निर्वाचनका लागि काँग्रेसले अभियान चलाउने बताए। काँग्रेस नेता डा राजाराम कार्कीले ७६ प्रतिशत ओमकार परिवार रहेको नेपाललाई हिन्दू राज्य बनाउन पार्टी नेतृत्वलाई आग्रह गरे। कार्यक्रममा नेपाली काँग्रेसका नेता भीम ढुङ्गाना, शिवराज अधिकारीलगायतले बोलेका थिए।

डा प्रकाशशरण महत परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री डा प्रकाशशरण महत रासस

विशेष