ओलीले घुमाउरो भाषामा भने– यो संघीयता र धर्मनिरपेक्षता खारेज हुन सक्छ
पुस १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संघीयता र धर्मनिरपेक्षता खारेज हुन सक्ने संकेत गरेका छन् । विविसी नेपाली सेवामा कुरा गर्दै अध्यक्ष ओलीले लोकतन्त्र, गणतन्त्रका आधारभूत विषयबाहेकमा पुननिर्वाचार गर्न सकिने उल्लेख गरे । उनले भने,‘ गणतन्त्र, लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकतामा पुनर्विचार हुँदैन । अरु विषयमा अनुभवका आधारमा जनतालाई सुख दिने सवालमा पुनर्विचार हुन सक्छ ।’
तपाई त महेन्द्रपथमा हिँड्न लाग्नुभयो भन्न थालिएको छ नी भन्ने प्रश्नको जवाफमा उनले भने, ‘ महेन्द्रपथ भनेको के हो ? के मलाई राजा बनाउन खोजेको हो ? ’
अध्यक्ष ओलीले संसदमा जारी अवरोधलाई राष्ट्रहितका लागि भएको जनाएका छन् । उनले संशोधन विधेयक संसदमा प्रवेश गर्न नपाउने र गरे पनि असफल हुने दाबी गरे । पहिले मधेसी मोर्चाले राष्ट्रहित हुन लाग्यो भनेर संसद बहिष्कार गर्ने गरेको अहिले राष्ट्रको अहित गर्न पाइन्छ कि भनेर संसदीय प्रणालीमा सहभागी भएको आरोप अध्यक्ष ओलीको छ । उनले भने, ‘उहाँहरु त जसरी भए पनि मुलुकको अहित हुने कुराको पक्षमा हुनुहुन्छ ।’
सात प्रदेशको खाका, पाँच नम्बर टुक्र्याउने खाकामा एमालेले पहिले नै सहमति गरेको थियो, तर अहिले किन पछाडि भन्ने प्रश्नमा उनले भने, ‘के एमालेले भनेको मान्न खोजेका हुन् अरुले ? भ्रम छरिएको छ । पहिले त्यो प्रस्ताव कांग्रेसको नेतृत्वमा छलफलका लागि ल्याएको थियो । अरुले नमानेपछि हामीले पनि फालिदियौं । हामीले पहिले नै फालिसकेको प्रस्ताव डस्टविनबाट झिकेर ल्याएर फेरी ल्याप्चे लगा भने ? ’
एमालेलाई तराईमा प्रवेश नै निषेध गर्ने मधेसी मोर्चाको शैलीमा उनले व्यंग्य गरे । एमालेलाई नश्लवादी भन्ने तर आफूले निषेधको राजनीति गर्नेहरुले एमालेलाई केही फरक नपार्ने अध्यक्ष ओलीले बताए ।