एकता दिवसमा पनि बिदा दिइनुपर्ने
पुस १० । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले आइतबार सरकारले क्रिसमसको सार्वजनिक बिदा दिएझँै पुष २७ गते राष्ट्रिय एकता दिवसका अवसरमा पनि बिदा दिइनुपर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन चितवनले भरतपुरमा निर्माण गर्दै गरेको भवनको आइतबार निरीक्षणपछि पत्रकार सम्मेलनमा उनले आफ्नो यसमा निरन्तर जोड रहने बताए ।
ठूला तीन दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा एकै ठाउँमा बसेर अहिलेको समस्याको समाधान निकाल्नुपर्ने बताउँदै उनले संविधान कार्यान्वयनका लागि सबै दल एकै ठाउँमा उभिनाको विकल्प छैन भने ।
संसद्मा पेस भएको संविधान संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै उनले भने, “फिर्ता लिन सम्भव छैन, असफल बनाउने अधिकार विपक्ष्ीलाई छ ।” संसदीय प्रक्रिया रोकिँदा स्थानीयदेखि संसदीयसम्मका निर्वाचन गराउन निर्माण गर्नैपर्ने ५० जति विधेयकमाथि छलफल रोकिएको उनले बताए ।
सो अवसरमा युनियनको भवन निर्माणका लागि उद्योग संघ चितवनका उपाध्यक्ष त्रिलोचन कँडेलले रु २५ हजार प्रदान गरेका थिए । भवन गत वर्षे आइतबारको दिन शिलान्यास गरिएकामा निर्माण सम्पन्न हुने क्रममा छ ।
एकता दिवसमा पनि बिदा