राजनीति

महाधिवेशनको आन्तरिक तयारी थाल्यो राणा समूहले

महाधिवेशनको आन्तरिक तयारी थाल्यो राणा समूहले

पुस १० । फागुनमा तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको तयारीमा पशुपति शमशेर राणा समूहले तयारी तीव्र पारेको छ ।

फागुन ६ देखि ९ गते काठमाडौंमा हुन महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्दैछ । जसमा राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणा र कार्यकारी अध्यक्ष कमल थापाबीच भिडन्त हुने पक्कपक्की जस्तो छ । यद्यपि दुवै नेताले अहिलेसम्म औपचारिक घोषणा गरिसकेका छैनन् ।

यद्यपि  राणाले आफूले आफू निकटहरुलाई आफ्नो उम्मेदवारी रहने भन्दै तयारी थाल्ने निर्देशन दिएको स्रोतले बताएको छ । राणा समूह गणतन्त्र पक्षधर हो भने कमल थापा पक्षधरहरु हिन्दु राष्ट्रसहित संवैधानिक राजतन्त्रको पक्षमा छ । महाधिवेशनले जस्तो एजेन्डा तय गरे पनि स्वीकार गर्ने दुवै पक्षको सहमति भइसकेको छ ।

राप्रपाको महाधिवेशनमा करिब ३ हजार प्रतिनिधि सहभागी हुनेछन् । ती मध्ये प्रत्येक प्रदेशबाट ८–८ जनाको दरले र बाँकी जनबर्गीय संगठनबाट हुनेछन् ।

राप्रपा र राप्रपा नेपालबीचको एकतापछिको महाधिवेशन भएकोले आगामी महाधिवेशन दुवै पक्षको लागि महत्वपूर्ण हुनेछ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संगठन ७५ नै जिल्लामा थियो । जुन अहिले राप्रपा नेपालसँग मर्ज भइसकेको छ । जिल्ला बलियो भएका कारण महाधिवेशनमा राणा पक्षको पल्ला भारी हुन सक्ने अनुमान छ ।

सत्ता यात्राका क्रममा देखिएको आन्तरिक असन्तुष्टिलाई कमल थापाले मिलाउन सकेनन् भने त्यो राणा समूहका लागि फाइदाजनक हुनेछ ।

विशेष