राजनीति

११ पुसका लागि प्रमुख दलहरुको बैठक आह्वान

११ पुसका लागि प्रमुख दलहरुको बैठक आह्वान
पुस–१० । राजनीतिक गत्यावरोध अन्त्य गर्ने लक्ष्यका साथ सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलका शीर्ष नेताको बैठक आह्वान गरेकी छिन् । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा ११ पुस दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा प्रमुख तीन राजनीतिक दलका अतिरिक्त संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतालाई समेत निमन्त्रणा दिइएको छ । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, सङ्घीय समाजवादी फोरम नेपाल, तराई–मधेस लोकतान्त्रिक पार्टीका शीर्ष नेतालाई बोलाइएको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए । संविधान संशोधनका विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालले लगातार संसद् अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचनसँग सम्बन्धित विधेयक अलपत्र परेको, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको महाअभियोगको प्रस्तावसमेत अगाडि बढ्न नसकेकाले सदनलाई अवरोध गर्नु जायज नभएको भन्दै सदन खुलाउने विषयमा छलफल गर्न सभामुखले पहल गर्न लागेकी हुन । सरकारले सदनमा संविधान संशोधनको प्रस्ताव अगाडि बढाएपछि एमालेले लगातार सदनको कारबाही अवरुद्ध गर्दै आएको छ । एमालेलगायतका दलका अवरोधका कारण महत्वपूर्ण विधेयक अगाडि बढ्न सकेका छैनन् । रासस  

ओनसरी घर्ती बैठक

विशेष