कभर स्टोरी नेपाल आज विशेष मुख्य समाचार

करिअर निर्माण कसरी गर्ने ? रबिन्द्र मिश्र, अनिल शाहदेखि मनोज गजुरेलसम्म

करिअर निर्माण कसरी गर्ने ? रबिन्द्र मिश्र, अनिल शाहदेखि मनोज गजुरेलसम्म

 

‘मेरो बुबा सानै हुँदा परिवारका सात जनाको ज्यान गयो । १० वर्षको बुबा र आठ वर्षको काका मात्रै बाँकी रहने गरी हाम्रो परिवार तहस नहस भयो । बुबा र काका घरमै पढ्न थाल्नुभयो । बुबाको प्रेरणाले काकाले पहिल एसएलसी दिनुभयो । काका पास भएपछि काकाको जोडबलमा बुबाले एसएलसी दिनुभयो । जस्तै संकट आइलागेपनि संर्घषबाट माथि उठ्न सकिन्छ भन्ने उदाहरण मेरो बुबा र काका पनि हो ।’ आफ्नो कोही नहुँदा र अफ्ठयारो स्थितिमा हुनेले पनि सफलता पाउन सकिन्छ भन्ने सन्दर्भमा बीबीसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्र परिवारको कथा बताइरहँदा भाबुक बने ।


 

काठमाडौंकै भएपनि रबिन्द्रको बाल्यकाल सुदुरपश्चिममा बित्यो । काका शाखा अधिकृत भएपछि उनीसँगै साथ लागेर रबिन्द्र सुदुरपश्चिम हानिए । दार्चुलाबाट उनले माध्यामिक शिक्षा पुरा गरे । ‘म पढेको विद्यालयमा एकजना मात्रै विद्यार्थी एसएलसी पास भएको र उसलाई अविरजात्रा गरिएको मैले देखें । त्यस्तो ठाउँमा पढेको हुँ । सायद तपाईहरु त्यो परिश्थितिमा हुनुहुन्न ।’ नेपाल आजले कलेजका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको कलेज एण्ड करिअर नामक उत्प्रेरणा कार्यक्रममा बोल्दै रबिन्द्रले जीबन अनुभुति साटे । सफलताका लागि आफुले चाहेको क्षेत्रमा विशेष लगाव दिनुपर्नेमा उनले जोड दिए । ‘निरन्तरको प्रयासबाट सफल भइहन्छ । हरेक सफल व्यक्तिको पछाडि संर्घष रहेकै हुन्छ ।’ रबिन्द्रले विद्यार्थीलाई सुझाब दिए ।


 

बैंकर अनिल शाहले सफलताका लागि एकलब्य झैं निरन्तर कर्ममा लागि रहनुपर्नेमा जोड दिए । उनले लहैलहैमा लागेर सफलता पाउन नसकिने सुझाए । ‘आफ्नो रुची र क्षमता चिन्न सक्नु सफलताको पहिलो कडी हो । सफल व्यक्तिले कुनै एक क्षेत्रमा सफलता हासिल गर्ने हो । सबै क्षेत्रमा सफल कोही पनि हुँदैन । पारस खड्काले फुटबल र नवयुग श्रेष्ठले क्रिकेट खेल्दा के हुन्थ्यो होला ?’ शाहले आफ्नो क्षेत्र पहिल्याउनु पर्नेमा जोड दिए । नेपाल सरकारका सचिव दिनेश थपलियाले पहुँच र प्रभाव नभएपनि सोलुखुम्बुको दुर्गम ठाउँबाट सिंहदरबारसम्मको यात्रा कसरी गरेँ भन्ने बारेमा अनुभव बाँडेका थिए । ‘लोकसेवा र सार्वजनिक सेवामा जान सोर्सफोर्स चाहिँदैन । म आफैं उदाहरण छु । विद्यार्थीलाई म यो क्षेत्रमा आउन आग्रह गर्दछु ।’ थपलियाले भने ‘योग्य व्यक्ति देशलाई खाँचो छ । प्रशासनप्रति धेरैको आलोचना हुने गर्दछ । यो क्षेत्र सुधार्न योग्य र असल व्यक्तिको आवस्यकता छ ।’

 


 

मेरो जब डटकम मार्फत धेरैलाई अवसर प्रदान गरेका शैलेन्द्रराज गिरीले सिप हुनेलाई अवसरको कमी नभएको बताए । उनले सिपसहित आउनेलाई रोजगारको व्यवस्था गर्न कुनै कठिनाइ नभएको दाबी गरे ।


 

पूर्वमिस नेपाल सुबिन लिम्बुले अर्काको करबलमा अध्ययनको क्षेत्र रोज्न नहुनेमा जोड दिइन् । ‘म धरानबाट विज्ञान बिषय पढ्न भनेर काठमाडौं आएँ । ब्रिज कोर्ष पढ्दा पढ्दै विज्ञान विषय नपढ्ने निधो गरेँ । धेरैले मलाई म्यानेजमेन्ट किन पढेको भनेर सोधे । तर, मैले मेरो निर्णय परिवर्तन गरिनँ । म खुशी छु ।’ सुबिनले आफ्नो सफलताको सुत्र बताइन् ।


 

कलाकार मनोज गजुरेलले करिअरका बारेमा अनुभव सुनाउँदा हल हाँसोले गुन्जिएको थियो । ‘मनोजेजस्तै बिग्रिएलास् भन्दै छोराछोरीलाई गाली गर्थे । कलाकारिता गर्दा राम्रो मानिदैनथ्यो । अरुले के भने भन्नेतिर लागेको भए म देशकै गनिने कलाकार बन्ने थिइनँ । विश्व घुम्न पाउने थिइनँ ।’ झापादेखिको संर्घषको कथा सुनाउँदै मनोजले भने ।


 

सहभागी बिद्यार्थी र वक्ताहरुका बीच करिअर निर्माणका बारेमा प्रश्नोत्तर समेत गरिएको थियो । १५ सय बिद्यार्थी सहभागी सो कार्यक्रमको आयोजना नेपाल आजले गरेको थियो भने नेपाल टेलिकमले सहकार्य गरेको थियो ।


 

उक्त कार्यक्रममा बाेल्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्काे कार्यालयका सचिव दिनेशकुमार थपलियाले निजमती सेवामा प्रवेशको लागि अनुभवको आवश्यकता नपर्ने बताए । योग्यता भएको जो कोही पनि निजमतीमा प्रवेश गर्न सक्ने, त्यस्ता व्यक्तिका लागि अनुभव र अाफ्ना मान्छेकाे नचाहिने उने उनकाे भनाई थियाे । कार्यक्रम सकिएपछि नेपाल आजसँग कुरा गर्दै नेपाल टेलिकमका डिपुटी म्यानेजर गणेश चौधरीले कार्यक्रम अपेक्षाअनुरुप सफल रहेको र बिद्यार्थीको करिअर निर्माणमा नेपाल टेलिकम सचेत रहेको प्रतिक्रिया दिए ।

 


   

अनिल शाह नेपालअाज बीबीसी नेपाली सेवा मनोज गजुरेल रबिन्द्र मिश्र

विशेष