राजनीति

संशोधन विधेयक पारित हुन नदिइने

संशोधन विधेयक पारित हुन नदिइने
पुस - १४ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक असंवैधानिक र मुलुकको हितविरुद्ध भएको विचार व्यक्त गरेका छन् । संविधान संशोधन र पाँच नं प्रदेश विभाजनका विरूद्धमा आन्दोलनरत संयुक्त सङ्घर्ष समितिले युवा सङ्घ नेपाल रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीका स्मृतिमा आज देवदहमा आयोजना गरेको संयुक्त श्रद्धाञ्जलि सभामा अध्यक्ष नेता ओलीले विधेयक कुनै पनि हालतमा पारित हुन नदिने बताउँदै भने, “यो विधेयक संसद्मा छलफलसमेत गर्न मिल्दैन किनकि यो असंवैधानिक छ ।” उनले ‘वर्तमान सरकार सङ्क्रमणकाल टुङ्ग्याएर निर्वाचन गर्ने र सत्ता हस्तान्तरण गर्ने जिम्मेवारीबाट पन्छिएर संविधान विपरीत राष्ट्रिय एकतालाई नै कमजोर पार्ने ढङ्गले’ काम गरिरहेको आरोप लगाउँदै सरकारले देशलाई लोकतान्त्रिक विधिबाट राष्ट्रिय एकताका साथ अघि बढाउनेभन्दा पनि अराजनीतिक बाटो अख्तियार गरिरहेको विचार पनि राखे । उनले तिवारीको हत्याको निष्पक्ष छानबिन हुनुपर्ने र अपराधी पत्ता लगाई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए। सभामा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले अपराधीलाई पक्राउ गरेर कारबाही गर्नेतर्फ सरकार गम्भीर नभए जनता सरकारविरुद्ध आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए । अर्का उपमहासचिव घनश्याम भुसालले तिवारीले आफूलाई एउटा सच्चा देशभक्त र जनतामाझ लोकप्रिय युवाका रुपमा स्थापित गरेको बताउँदै उनको हत्याबाट सिर्जित शोकलाई शक्तिमा बदल्नुपर्ने बताए । यसअघि एमाले अध्यक्ष ओलीले तिवारीको निवास देवदह नगरपालिका–४ मा पुगेर परिवारका सदस्यलाई भेटी समवेदना व्यक्त गरेका थिए । उनको यही पुस ४ गते देवदह खैरेनीबाट मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा मोटरसाइकलमै पिछा गर्दै गएको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । रासस

केपी शर्मा ओली संविधान संशोधन विधेयक

विशेष