निर्णायक जवाफ दिन मधेसी मोर्चा पत्रकार सम्मेलन गर्दै
पुस १५ । निर्वाचनका विषयमा प्रमुख तीन दलको मिलेमतो हुने सम्भावना देखेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले शुक्रबार चेतावनी दिने भएको छ । यसका लागि मोर्चाले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ ।
मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘मोर्चाको ११ बजेदेखि बैठक छ । बैठकले तय गरेका विषयहरु दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिनेछ ।’
प्रमुख तीन दलले फेरि पनि मधेसी जनताको उपेक्षा गरे अर्को चरणको आन्दोलनमा जाने चेतावनी आज दिइनेछ । मोर्चा आवद्ध स्रोतका अनुशार तत्कालका लागि दुई खाले रणनीति तयार पारिएको छ । पहिलो रणनीति अनुशार संशोधनसहितको प्रस्ताव पास गर्न दबाब दिने । त्यसो हुन नसकेमा आन्दोलन घोषणा गरेर अगाडि बढ्ने ।
अहिलेकै संविधान संशोधन प्रस्तावमै पनि मधेसी मोर्चाले चित्त बुझाएको छैन । अर्कोतिर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधन प्रस्ताव भारतको इशारामा आएकोले फिर्ता हुनु पर्ने बताउँदै आएको छ ।