संविधान सशोधन प्रस्ताव परित नभई घोषणा गरिने कुनै पनि निर्वाचन आफूलाई मान्य नहुने- मोर्चा

पुस–१५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान सशोधन प्रस्ताव परित नभई घोषणा गरिने कुनै पनि निर्वाचन आफूलाई मान्य नहुने अडान राखेको छ ।
मोर्चाको बिहीबार र शुक्रबार राजधानीमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई –मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी घोषणा हुने निर्वाचनले समस्या समाधान गर्नुको साटो द्वन्द्व मात्र बढाउने बताए ।
उनले भने– “संविधान सशोधन प्रस्ताव सहमतिको आधारमा परिमार्जन गरी पारित नगरिएसमम कनै पनि तहको निर्वाचन मोर्चालाई मान्य हुने छैन ।”
सो अवसरमा वितरित प्रेस विज्ञप्तिमा संविधान जारी गर्दा नै असन्तुष्टिलाई संविधान संशोधन गरी सम्बोधन गर्ने बाचा गर्ने नेकपा –एमालेले संशोधनलाई रोक्न सदनमा गरिरहेको अवरोध अलोकतान्त्रिक र संसदीय अध्यायको विपरित रहेको मोर्चाले ठहर गरेको उल्लेख गरिएको छ ।
मोर्चाले संविधान सशोधन प्रस्तावलाई परिमार्जन गरी पारित गर्नका लागि जनदबाब सिर्जना गर्न आउँदो सोमबार जिल्ला सदरमुकाममा खबरदारी विरोध प्रदर्शन गर्ने जनाएको छ ।
सङ्घीय राज्यको पुनः संरचनाको मान्य सिद्धान्त अनुरुप सङ्घीय राज्यमा स्थानीय तह प्रदेश अन्तर्गत सम्बन्धित हुनपर्ने तथ्यप्रति सबैको ध्यानाकर्षण गराउँदै मोर्चाले समान जनसङ्ख्याको आधारलाई बेवास्ता गर्दै जनसहभागिता बिना तथा संविधान विपरित तयार गरिएको अपूरो प्रतिवेदनलाई स्वीकार गर्न नसकिने जनाएको छ ।
मोर्चामा सङ्घीय समाजवादी फोरम, तमलोपा, मधेसी जनअधिकार फोरम गणतान्त्रिक, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी, तराई– मधेस सद्भावना पार्टीलगायतका दल आवद्ध छन् । रासस
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा
संविधान संशोधन प्रस्ताव