राजनीति

‘संविधान संशोधन विधेयक राष्ट्रिय एकता विपरीत’

‘संविधान संशोधन विधेयक राष्ट्रिय एकता विपरीत’
पुस–१५ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले संविधान संशोधन विधेयक राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्ता विपरीत भएको जनाउँदै त्यस प्रस्तावमाथि छलफल नै हुन नसक्ने बताएका छन् । खानीगाउँमा आयोजित बचत तथा ऋण सहकारी संस्थाको सातौँ साधारणसभालाई सम्बोधन गर्दै नेता पाण्डेले ‘देशलाई बिखण्डनको बाटोमा धकेल्न सक्ने भएकाले’ आफ्नो दललाई संविधान संशोधन स्वीकार्य नभएको बताए । पूर्वपरराष्ट्रमन्त्री पाण्डेले राष्ट्रिय एकता, सार्वभौमसत्ता, राष्ट्रियता तथा आर्थिक विकास र समृद्धिका लागि सबै एक जुट हुनुपर्ने बताए । सरकारले पुनःनिर्माण प्राधिकरणका कार्यकारी प्रमुखलाई स्पष्टीकरण सोध्ने विषय सरकारको लाचारीपन ढाकछोप गर्ने बहाना मात्र हो भन्दै उनले आवश्यक ऐन, नियम र कानुनका अभावमा पुनःनिर्माण प्राधिकरणको काम सन्तोषजनक हुन नसकेको औँल्याए । नेता पाण्डेले सहकारीमा लागेर फरक फरक विचारधारालाई आर्थिक समृद्धिमा लगाएमा देशले फड्को मार्ने बताए । साधारणसभामा सहकारीका अध्यक्ष पूर्णलाल श्रेष्ठले सहकारीको गत आव २०७२÷०७३ को आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले रु सात करोड एक लाख ७१ हजार निक्षेप सङ्कलन गरी रु चार करोड ९० लाख ५८ हजार कर्जा लगानी गरेको र सहकारीले गत आवमा रु ८७ लाख २६ हजार आम्दानी गरेको जानकारी दिएका छन् । रासस

नेकपा एमाले संविधान संशोधन विधेयक

विशेष