राजनीति

युवा संघका सचिव नै भन्छन्, ‘आगजनी गलत छ, घर जलाएर खरानीको ध्वाँस किन ?’

युवा संघका सचिव नै भन्छन्, ‘आगजनी गलत छ, घर जलाएर खरानीको ध्वाँस किन ?’
नरेश शाही, सचिव युवा संघ नेपाल
सरकारी गाडी जलाउने बारेमा संगठनमा कुनै छलफल भएको छैन । संगठनको योजना पनि होइन । सरकारी सम्पत्ति जनताको हो । जनताको सम्पत्ति जलाउने कुरा एमालेको मुद्दा हुन सक्दैन । पाँच महिना अघि हामी सरकारमा थियौँ । आज छैनौँ, भोली हुन्छौँ । आफू सरकारमा नहुँदा सरकारी सम्पत्ति अर्काको ठान्ने प्रवृत्ति गलत हो । सरकारी गाडीको दुरुपयोग भएको हो भने दोष गाडीको होइन, कर्ताको हो । कर्ता जोगिने, सरकारी सम्पत्ति जल्ने कुरा जायज हुँदै होइन । यस्ता गतिविधिले संगठन र पार्टीलाई क्षति भइरहेको छ । चर्चामा आउन र आक्रोश व्यक्त गर्न यस्ता गतिविधि कतिपयलाई ठीक लाग्न सक्छन् । तर, त्यो घर जलाएर खरानीको ध्वाँस दिएजस्तै हो । कुनै अर्थ छैन । युवा संघ रचनात्मक र सृजनात्मक संगठन हो । संगठनको शक्ति दुरुपयोग हुने कुरा गम्भीर सवाल हो । यसबारे आवश्यक समीक्षा हुनेछ । जहाँसम्म हाम्रा साथीहरुमाथि भएको आक्रमण छ, त्यसको प्रतिरोध गर्नैपर्छ । राजनीतिक कारण भएका आक्रमणको प्रतिरोध गर्न सिंगो पंक्ति जुर्रमुराउनै पर्छ । तर, विरोधीलाई विरोध गर्ने मैदान दिने गरी र जनताको मनमा चिसो पस्ने गरी अराजक गतिविधि कुनैपनि मानेमा स्विकार्य हुन सक्दैन । संगठन त्यतिबेला बलियो हुन्छ, जतिबेला जनताको विस्वास जित्न सक्छ । हामीले हिजोको दिनमा जनताको माझमा जाँदा के भन्यौँ ? आगजनीको विरोध गर्यौँ । हिंसाको बिरुद्धमा आवाज बुलन्द गर्यौँ । आज आफैं हिंसा गर्ने ? यो हुँदैन । यो युवा संघको नीति र योजना होइन । अराजक गतिविधिलाई कुनैपनि मानेमा सही मान्न सकिदैन । आगजनी युवा संघको नीति र योजनामा भएको छैन । यसका बारेमा पार्टीले आवश्यक छानबिन गर्न अपरिहार्य छ । संगठन बदनाम हुनबाट जोगाऔँ ।

विशेष