कला साहित्य साहित्य आज

परीक्षा केन्द्रमा खटिएका एक पर्यवेक्षकको ईतिवृतान्त

परीक्षा केन्द्रमा खटिएका एक पर्यवेक्षकको ईतिवृतान्त
कालीप्रसाद थापा kali prasad thapa-3176 (2)यसपालीको कक्षा एघार र बाह्रको पर्यवेक्षकका रुपमा वीरेन्द्र उच्च माध्यमिक विद्यालय जुगांथापाचौरमा जाने जिम्मेवारी पाएपछि मनभरी रोमान्चकता र कौतुहलता बोकेर शान्तिचौतारा बसपार्क तर्फ हान्निएँ । मलाई रोमान्चकता र कौतुहलता यसकारण पनि लागेको थियो, २६ गाविस र एउटा नगरपालिका भएको जाजरकोटको जुंगाथापाचौर, थालारैकर प्रत्यक्ष रुपमा पुगेको थिईन । यसलाई अवसर ठानेर अगाडी बढें । निर्धारित समय भन्दा दुइ घन्टा वितिसक्दा पनि बस हिड्ने छाँटकाँट देखिएन । बसभित्रका यात्रुहरु आत्तिईसकेका थिए । उसो त गाडीको यात्रा मलाई खासै रुचिकर लाग्दैन । त्यसैमा गाडीका स्टाफहरुले गर्ने व्यवहारले यात्रा नै खराब गरिदिन्छ । टिकटमा उल्लेख गरिए अनुसार सीट पनि नपाईने, गाडीवालाहरुले जतिसक्यो ठग्न खोज्ने । निर्धारित समयमा गन्तव्यमा नपुर्याउने । सबैलाई यो आरोप नसुहाउला तर संयोग हो या दुर्भाग्यले, प्रायः म यस्तै गाडी र गाडीवाला सँग फेला पर्ने गरेको छु । चार घन्टापछि बल्ल बल्ल छेडाबजार पुगियो । जाजरकोटको प्रवेशद्वार मानिने छेडाबजारको सरसफाईको अवस्था हेर्ने भने मन खिन्न हुन्छ । जथाभावी फालिएका फोहरको डंगुर देख्दा दिक्क लाग्छ । छोटो विश्राममा एउटा होटेलमा पानी मागेर पिएँ । भनेको समयमा गाडी नपाईने भएकाले मोर्क बजारलाई गन्तव्य बनाएर धुलाम्यबाटोमा लडिबुडी गर्दै अगाडी बढें । मोर्क बजार पुग्नु अघि भेटिने सल्लेरीको बाटोमा सुर्खेत तातोपानी घर भएका एकजना प्रहरी जवानसँग भेट भयो । परिचयका क्रममा उनले मलाई सोधे, प्लस टुको एक्जाम दिन जान लाग्नुभा हो दाई ? मैले हाँस्दै हो भनेर जवाफ दिएँ । उनी ईलाका प्रहरीचौकी सिमामा कार्यरत रहेछन् । उनीसँगको रमाईलो सहयात्रासँगै सालतरा देखियो । त्यहाँ गाडीको हर्न बजेको सुनेपछी ती प्रहरी जवानले गाडीमै जानुपर्छ हजुर भन्दै मेरो हात ताने । यात्रले गाडी खचाखच भरिएको थियो । हपहपी गर्मी र यात्रुको पसिनाको गन्धले मेरो घाँटीसम्म बान्ता उफ्रिरहेको थियो । मैले न्वारन देखिको बल लगाएर आफूलाई सामान्य बनाउने प्रयास गरिरहेको थिएँ । मोर्क बजार पुगियो । मेरो आत्मयि मित्र पूर्ण समिर महताराको घरमा १३ वर्षपछि पुगियो । त्यो साँझ उहाँकै आत्मिय आतिथ्यमा विताईयो । भोलीपल्ट जुंगाथापाचौर जाने एकजना साहुजीलाई साथी बनाईदिए उनैले । बाटोमा भेट हुने धेरैले प्लस टुको परीक्षा दिन जान लागेको भनेर प्रश्न गरें । मैले ती प्रश्नहरुको जवाफ दिनु आवश्यक ठानिन । मुस्कानले जवाफ दिएर टारें ।शिवालय नजिकै पुगेपछि एकजना मोटो मान्छे भेटिए । उनी जुंगाथापाचौरकै एउटा निमाविको शिक्षक रहेछन । उनले पनि उस्तै प्रश्न गरे, कहाँ जाने ? परीक्षा दिन जान लाको ? म आफैभित्र मुर्मुरिएँ । यी मान्छेहरुलाई के भाको ? सबैले उही प्रश्न गर्छन् ? मैले उनलाई भने जवाफ फर्काएँ —“म पर्यवेक्षक भएर जाँदैछु । सबै परीक्षा दिने मान्छे मात्रै हुन्छ र ?” उनीले अनुहार विगार्दे “सरी” भने । सँगै हिड्दाहिडर्दै उनी पछि परेको थाहै भएन । वलेवनको उकालो काटीसकेपछि छात्राहरुको एक हुल आपसमा गफगाफ गर्दै हास्दै हिडिरहेको थियो । म पनि एक्लै हिड्दा दिक्दारी महसुस भएको थियो । उनीहरुसँग कुराकानी गर्छु । र, यहाँको परीक्षाको संस्कृति कस्तो रहेछ बुझ्छु भन्ने ध्येयले बोलें । नानीहरु परीक्षार्थी हो कि ? एकजनाले भनीन् — हो । तयारी कस्तो छ ? के को तयारी हुनु नि । नियमित विद्यालय जान पाईन्न । गएपनि पढाई हुने होईन । गेसपेपर जिन्दावाद । सरहरुले पेज नम्बर कण्ठ गर्नु भन्नुभएको छ । जाजरकोटको परीक्षा संस्कृतिको सामान्यतया मेरो मनमा तस्बिर नभएको होईन । तर, यी छात्राको कुराले म अक्क न बक्क भएँ । मलाई अझै बुझ्न मन लाग्यो । फेरी प्रश्न गरें, कति वटा किताब हुदा रहेछन् ? उनीहरुले आपसमा मुखामुख गर्न थाले । र, अन्यौलमै भनिन्, थाहा छैन । म एउटा पत्रकारझैं लगातार प्रश्न गर्छु, अभ्यास शिक्षण विषयको पुर्णाकं कति हो ? यस्ता कुरा हामीलाई केही थाहा छैन । को हो तपाई घर कहाँ हो तपाईको ? मेरो घर ढिमे हो । जुगांथापाचौर सानो काम छ । यति भनेर म शराशर आफ्नो गन्तव्य भेट्न हिडें । मेरो गन्तव्य आईपुग्यो । बीरेन्द्र उच्च माध्यमिक विद्यालय जुगांथापाचौर । विद्यालयको फिल्डमा लगाईएको घेराबारको छेउमा उभिएको रुखमुनी सुस्ताएँ । विद्यालयको भवन हेर्दा जिर्ण थियो । एकछिनपछि कार्यालय भित्र छिरें । निशुल्क प्राप्त सोलार सिस्टम, २ वटा दराज, दुईवटा टेबल र १३ थान कुर्सीबाहेक अन्य सम्पत्ति देखिन । उच्च माध्यमिक विद्यालयको हालत देख्दा मनमनै टिठ लागेर आयो । र, त्यहाँ प्राचार्य, व्यवस्थापन समिति प्रति थुप्रै प्रश्नहरु उम्रिए । मैले केन्द्राध्यक्षलाई आफ्नो पत्र बुझाएँ । र, नजिकैको कुर्सिमा बसें । भित्तामा पहिलो प्रधानाध्यापक दार्जिलिंगका टिएन प्रधान देखि वर्तमान शेरबहादुर खत्रीको नाम सहितको लिस्ट र दुइजना संस्थापक व्यक्तिहरुको फोटो तुर्लुगं झुन्ड्याईएको पुरानो कोठा धेरै समय देखि सफा नगरेको जस्तो देखिन्थ्यो । अर्को तिरको भित्तामा राष्ट्रिय गान र केही नीति नियमहरु पनि टाँसीएको थियो ।विद्यालयको सामान्य जानकारी दिने वार्षिक कार्यपात्रो, शिक्षकहरुको नामावली, कर्मचारीहरुको विवरण केही पनि देखिन । मनमनै सोचें, हाम्रो जिल्लामा यस्ता नमूना उच्च माध्यमिक विद्यालय पनि रहेछन् । २० गते देखि बाह्रको परीक्षा शुरु हुदै थियो । परीक्षा हुनुपूर्व परीक्षालाई प्रभावकारी व्यवस्थापन गर्न सर्वपक्षिय वैठक बसी सात बुदें नियमहरु पनि पारित गरिए । मदिरा सेवन देखि परीक्षामा अमर्यादित कार्य गर्ने सबैलाई कडा कारवाही गरिने निर्णय हुदा जोड जोडले तालीहरु बजेको सुनियो । बैठक सकियो । साँझ ढल्दै गयो । शिक्षक अभिभावकहरुले नै बेलुकीपख जाँड खाएर वैठकले पारित गरेका निर्णयहरुको धज्जी उडाए । उनीहरुको माझमा आफूलाई हाँसको वथानमा बकुल्लो बनेजस्तै महसुस भयो । परीक्षाको सुरक्षामा खटिने जिम्मेवारी पाएका प्रहरी नायव निरिक्षक जगत रावलले मलाई खुसुक्क भने— “जुंगाथापाचौरको परीक्षा मात्रै मर्यादित बनाएर केही हुन्न सर । जिल्लाको अवस्था तपाईलाई राम्रोसँग थाहा नि, होईन ?” मलाई उनको कुराले खासै आश्चार्य लागेन । हाम्रो परम्परागत सोच कहिल्यै माथि नउठ्ने भयो । परीक्षा सुधार हुनुपर्छ, शैक्षिक सुधार हुनुपर्छ भनेर ठुला कुरा गर्ने । सबैले आफ्नो रंग देखाईहाल्ने । कसरी हुन्छ शैक्षिक सुधार ? म हरुवा खेलाडी जस्तै लुरुक्क परें । पहिलो दिन अंग्रेजी विषयको परीक्षा शुरु भयो । र, परीक्षा सँगै अमर्यादित चलखेलहरु शुरु भए । प्रत्येक कक्षा कोठा अनुगमन गर्दै हिडें । प्रत्येक कोठाका प्रत्येक परीक्षार्थीबाट चीट, गाईड र गेसपेपरहरु खोस्दै जाँदा मेरो हातमा विटाका विटा चीट, गाईड र गेसपेपर फेला पर्न थाले ।प्रवेश द्वारमा परीक्षार्थीलाई जाँच किन गरिएन होला ? शिक्षकहरुले कार्वन कपी, फोटोकपी गरिएका उत्तरकापी भित्र्याउन थाले । पर्यवेक्षकलाई जानकारी नदिएर प्रश्नपत्र खोलेर वितरण गरियो । जुन जिम्मेवारी लिएर म पुगेको थिए, त्यो जिम्मेवारी निर्वाह गर्न नपाउदा दुःख लाग्यो । परीक्षार्थीहरुसँग चीट खोस्दा उनीहरु खाउँला झैं हेर्छन् । कसैकसैले त सर चीट दिनु न भनेर माग्छन् । पहिलो दिनको परीक्षामा अत्यन्तै घटिया हर्कतहरु भए । कोरियन भाषा पढ्न राजधानी गएका, सशस्त्र प्रहरीका जागिरे, सिटिईभिटीमा पढीरहेका देखि कालापारमा मजदुर गर्न गएकाहरुको समेत सट्टामा परीक्षा दिईरहेका खेताला परीक्षार्थीहरु समेत फेला परे । एकजना परीक्षार्थीले आफ्नो उत्तर पुस्तिका समेत च्यातिदिएर परीक्षाको खिल्ली उडाए ।परीक्षा अवधीभर नै जुंगाथापाचौर परीक्षा केन्द्र तनावपूर्ण रह्यो । अन्य केन्द्रहरुमा यो भन्दा फरक भयो होला भन्ने म कल्पना गर्न सक्दिन । अधिकासं विद्यालयलाई टुरिष्ट विद्यार्थी चाहिएको छ । उतिर्ण प्रतिशत भए पुग्छ । विद्यार्थीलाई उतिर्ण हुनपाए पुग्छ । यो वर्ष जिल्लालाई शैक्षिक सुधार वर्ष समेत घोषणा गरिएको छ । यसको उद्घाटन माननीय गृहमन्त्री ज्युले नै गरेर यो अभियानको गरिमा बढाउनु भएको छ । तर, शैक्षिक सुधार भाषण र पत्रपत्रिका प्रचार गरेर हुने होईन । र, एउटाले सबैथोक गरेर पनि केही हुनेवाला छैन । हामी जो जहाँ जुन अवस्थामा छौ, सबैले आआफ्नो स्तरमा चीटमुक्त गर्ने प्रयास गरेको खण्डमा मात्रै अभियान सफल हुन सक्छ । शिक्षक, अभिभावक र विदयार्थीले आफ्नो कर्तव्य निर्वाह गरौं । परीक्षा प्रणाली प्राथमिक तहबाटै मर्यादित बनाईनुपर्छ । अर्थात यसको शुरुवात शुन्यबाटै गरिनु आवश्यक देखिन्छ । ढिलो होला तर जिल्लाको शिक्षा पद्धति सुधार अवश्य हुन्छ ।

विशेष