अन्तरवार्ता

नायिका कार्कीकाे अात्महत्या बारे किशाेर श्रेष्ठकाे सनसनीपूर्ण खुलासा

नायिका कार्कीकाे अात्महत्या बारे किशाेर श्रेष्ठकाे सनसनीपूर्ण खुलासा

 

हप्ताको एक दिन सुरक्षा निकायका उच्च पदस्थहरु हैरान हुन्छन् । बुधबार सबेरै अर्दलीलाई पत्रिका पसलमा कुदाउंछन् । पत्रिका लिएर उनीहरु बाथरुम छिर्छन । अरु दिनको तुलनामा धेरै समय बाथरुममा बिताउंछन् ।

बाथरुमको कमोडमा बसेर जनआस्था टप टु बटन सिद्धाउछन् । आफ्नाबारे केही समाचार नभए मन चंगा बनाएर बाहिरिन्छन् । सूचनासंग शस्त्रधारी पनि डराउंछन् । नेता र ठूलाबडाको हालत पनि यस्तै हुन्छ । कञ्चन न्यौपानेलाई पत्रकारिताको कक्षामा यसै भनिएको थियो । जसको भैसीं उसैको बन, जसका छोरा उसैको धन भनिन्थ्यो । पत्रकारितामा यसैलाई भिन्दै हिसावले भनिदोरहेछ । जोसंग सूचनाको स्रोत छ, उहीं नै शक्तिशाली पत्रकार ।

पत्रकार जति नै नामी होस् बदनामी हुन समय लाग्दैन । एउटा सामान्य गल्तीले पनि पत्रकारको जीवनभर कालो धब्बा लाग्न सक्छ । गुरु यसै भनेर पढाउंथे । घुमिफिरी किशोर श्रेष्ठकै नाम आउँथ्यो । नायिकाको नग्न तस्बिर छापेको १२ बर्ष बित्दा पनि जनआस्थाका सम्पादक श्रेष्ठलाई सो घटनाले पछ्याइरहेको छ । जनआस्था र किशोरका बारेमा अनेक उदाहरण सुनेकी कञ्चन न्यौपानेले पत्रकारिता थालेपछि किशोरलाई भेटिन् र अर्न्तवार्ता लिइन् ।

तपाईंको जन्म र बाल्यकाल ?

बाल्यकाल मलेखु धादिङमा बित्यो । कक्षा एकदेखि आठसम्म मैले त्यहीँ पढेँ ।

पत्रकारिता कसरी सुरु गर्नुभयो ?

उता स्कुलमा हुँदा हप्ताको एक पटक भित्तो पात्रो निकाल्थेँ । म धादिङमा राजनीति गर्थे । म समाज र जीवनका बारे बढी सोच्दथे । त्यस कारण पनि राजनीति गर्ने इच्छा जागृत भयो होला । पंचायतकाल थियो । राजकाज मुद्दा लाग्यो । पञ्चायत विरुद्ध गएकोमा हाम्रा केहि साथीहरु जेल जानुभयो । म चाँही भागेर काठ्माडौँ आए र पढ्न थालेँ । नौ कक्षा पढ्दापढदै यँहा पनि पक्रेर जेलमा हालियो । जेल बस्दा हामी ५५ जना राजनैतिक बन्दिहरुको एउटा मेस थियो । त्यसमा झापा संघर्षका मोहनचन्द्र अधिकारीदेखि लिएर थुप्रै नेताहरु हामीसगँ हुनुहुन्थ्यो ।

मेसमा सबैभन्दा सानो म थिए, १६ वर्षको । मैले त्यहाँ दिउसो खाना खाएपछि सबैलाइ पत्रिका पढेर सुनाउथेँ । त्यो ५५ जनाको मेसमा सबैले पत्रिका पढ्न थाले भने त कहिले पढेर भ्याउनु ? जेलमा रहेका राजबन्दीलाई भेट्न कोही नआउंने । त्यत्रो संर्घष गरेका नेताहरु । कोही त मारिनु पनि भयो ।

बाहिरकालाई वास्ता नभएर होकी बेफुर्सदिलो भएर हो कुन्नी । म जेलमै हुँदा मेरो बुबा बित्नुभयो । काजक्रिया गर्न मलाई छोडिदिनुपर्छ भन्ने कुरा उठ्यो । म छुटें । त्यतिबेला म ९ कक्षामा पढ्दै थिएँ । जेलबाट निस्किएपछि जेलमा संगत गरेका राजनीतिक वन्दीलाई मैले गुन लाउनुपर्छ भन्ने भावना जाग्यो । विहानको स्कुल थियो मेरो , छ बजेदेखि एघार बजेसम्म । स्कुल सकेपछि म त्यतिबेला प्रकाशित हुने साप्ताहिक पत्रिकाको पसल पसल धाउंथे । ५/५ प्रति पत्रिका लिन्थे । र उपत्यका भरिका जेलमा रहेका राजवन्दीलाई पत्रिका पुर्याउथे  । मसंग सानो चाइनिज साइकल थियो । पछि त्यो साइकल पनि पुलिसले लुट्यो । पत्रिका पुर्याएर घर फर्कन्थे । खाना खान्थे । त्यसपछि जुलुशमा हिड्थें । यसरी म पत्रिका, पत्रकारिता र पत्रकारहरुसंग जोडिदै गएँ । पछि अखिलको राजनीति छोडेर पत्रकारिता गर्न थालेँ ।

नेता हुन छाडेर पत्रकार भएकोमा पछुतो लागेको छ ?

त्यस्तो कहिल्यै भएन र नहोस् पनि । यसमै कर्म गरेर मर्ने सोच छ ।

राजनीति किन छाड्नुभयो ?

मैले जीवनमा एउटा बाटो त रोज्नै पर्थ्याे । मैले राजनीतिमा मेरो स्वभावको मान्छे पनि भेटिन । चित्त नबुझेको कुरा डागंडुगं बोलिहाल्नु पर्ने मेरो स्वभाव छ । यस्तो स्वभावले राजनीतिमा उभो लाग्न सक्दिन जस्तो लाग्यो । त्यसमाथि मेरो दाइले घरपरिवारको सारा सम्पत्ति सिद्धाइदिएको अनि मेरो बुबा बितेको असहज परिश्थितिमा मैले परिवारको लागि केही त गर्नैपर्थ्याे। त्यो मेरो आर्थिक दायित्व पनि थियो । मैले प्रकाश साप्ताहिकमा रु ७०० बाट जागीर सुरु गरेँ । प्रकाश सात्ताहिक बन्द भएर दृष्टि साप्ताहिक भएको हो । त्यतिबेला ७०० भनेको टन्नै हुन्थ्यो । त्यो आर्थिक अभाव पनि भयो, पारिवारिक दायित्व पनि भयो र मेरो आफ्नो रुचि पनि । विद्यालयमा मैले भित्तो पत्रिका निकालेको त मेरो रुची भएरै हो । मेरो रुचिले नै मलाई पत्रकारितामा डोरायो । कविता लेखेर म उपत्यकाभरिमा प्रथम भएको पनि छु र स्वर्ण पदक जितेको छु । लेखनतिर गएं, अनि पत्रकारितातिर ।

लेखनमा रुचि छ भन्नुभयो अहिलेसम्म कतिवटा किताब लेख्नुभयो ?

किताब त मैले दुइवटा निकालीसकेको छु । माघ १९ को महाभारत भन्ने ज्ञानेन्द्रले सत्ता टेकओभर गरेपछिको स्तिथिबारे एउटा छ । अर्को राजपरिवारका सदस्यहरुले गरेका बलत्कार र हत्याका घटनाबारे ।

तपाईसगँ काम गर्ने कोही नामी पत्रकार भए कोही दामी पनि भए , नामी र दामी पत्रकार हुन के गर्नुपर्छ ?

हामी सबै संगै काम गरेका साथी हौँ एउटा टिममा बसेर । सुधिर शर्मा कान्तिपुरको सम्पादक छन्, गुणराज लुइंटेल नागरिकको सम्पादक छन् , अरुन बराल अनलाइन खबरको सम्पादक छन् , दिपक अधिकारी एपिएफपिमा काम गर्छन् । कान्तिपुरमा सात आठजना साथीहरु छन् । धेरै साथीहरु शिखरमा पुगेका छन् । कसैले टुप्पीमा समातेर तानेर ती मान्छे त्यहाँ पुगेका होइनन् । मेरो विशेष त्यस्तो योगदान भन्ने छैन । क्षमतावान् मान्छेहरु प्रतिभावान् मान्छेहरुको प्रतिभाले खोस्टाउने मौका मात्र पाको हो । यो एउटा फोरम मात्र भएको हो ।

जनआस्थामा क्षमता नभइकन टुप्पीले तानेर मात्र माथि जान कोहि पनि सक्दैन । सबभन्दा ठूलो कुरो आफूसगँ क्षमता हुनुपर्यो, इच्छाशक्ति हुनुपर्यो र लगनशीलता हुनुपर्यो । छिटै नाम कमाऊ , छिटै दाम कमाऊ भनेर हिड्नेहरुको पतन एकदम छिटो हुन्छ । त्यसैले संघर्ष गर्नुपर्छ । हाम्रोमा के छ भने , फास्टफुडको चलन आयो । केही गरिहालौँ , प्रतिक्रिया जेसुकै होला पछि , भन्ने हतारको प्रवृति धेरै देखिएको छ । त्यसैले अहिलेको पत्रकारितामा दुर्घटना धेरै हुने गर्छ ।

दुर्घटना त तपाईको जीवनमा पनि भयो । श्रृषा कार्कीको नग्न तस्बिर छापेकोमा कुनै पछुतो छ ?

मलाई दुईवटा कुरा छ । पछुतो कुन सन्दर्भमा भने , हामीले लेखेपछि उनले आत्महत्या गरिन् । एउटा मान्छेको ज्यान गयो , त्यो कुरामा पछुतो छ । तर प्रोफिसनल्ली भन्ने हो भने हामीले केही नराम्रो काम गरेको होइन । यसको बारेमा म वर्णन गरिदिन्छु । मलाइ थाहा छ, मैले जतिसुकै राम्रो काम गरे पनि , ठूलो ब्रेकिङ दिए पनि मान्छेहरुले मलाइ चिन्ने भनेको 'श्रृषा कार्कीको हत्यारा' भनेरै हो । किनभने हामी नकारात्मकताबाट ग्रसित छौँ । अरु कुरा सबै ओझेलमा परिहाल्छ । तपाईलाई म एउटा कुरा बताइदिन्छु , त्यो पत्रिका बुधबार निस्क्यो । त्यसपछि पनि उनी नियमित हाम्रोे सम्पर्कमा थिइन् । शनिबार उनी बुबा र भाइलाइ लिएर यहाँ आइन् । बुबा र भाइलाइ सम्झाइदिनु भनिन्, किनभने उनलाइ थाहा थियो त्यो त ओरिजिनल हो भनेर । उनले गल्ती गरेको पनि उनलाई थाहा थियो । उनलाई एउटा पुलिसको सईले आठ हजार रुपैयां तिरेर सहमतिमै लिएर गएको हो । उनले मेरो बुुबालाइ सम्झाउनु पर्यो भनेर कन्भिन्स गराउन यहाँ ल्याइन् । मैले बुबा हाम्रो गल्ती हो हामी खण्डन गरिदिन्छौँ , केटाहरुले बदमासी गरेछन् , के के मिसमास भएछ भनेर मैले नाटक गरेँ । त्यो घटना घट्यो सोमबार विहान । त्यसको ठीक ६ दिनपछि उनले आत्महत्या गरिन् । कुनै मानिसलाइ कुनै कुराले सक हुन्छ भने त्यसबाट हार खान चौबिस घण्टा पनि लाग्दैन ।

श्रृषाले छ दिनसम्म कसरी रेसिस्ट गर्न सकिन् ? त्यो सोमबार उनले आठबजे दिदीलाई फोन गरेर ट्याक्सी लिनु अब हामी सिन्धुपाल्चोक जाने दशै नमानेर भनिन् । दिदी आउँदै थिइन् । पन्ध्र मिनेटमा छतमा गएर उनले आत्महत्या गरीन् । त्यो घटनाक्रम हेर्दैनन् मान्छले । नेपाल पुलिसको सई उद्धव भण्डारी जसले फोटो खिचेको हो उसको श्रीमतीको मा श्रृषा र उनको प्रेमी प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको बडीगार्ड क्याप्टेन प्रकाश देउजा गएछन् । यहीं घरमा हो मेरो फोटो खिचेको भनेर देखाइछन् । उद्धबकी श्रीमती पनि पुलिसको हवल्दार । हवल्दार इश्वरी भण्डारीमाथि हेलमेटले हान्ने काम भएछ । इश्वरीले उद्धवलाइ फोन गरी । के गरेको यस्तो मलाई त हिर्काउन आए मान्छेहरु एउटा आर्मीको मान्छे र आइमाईले हिर्काए भनेर फोन गरी ।

उद्धवले उताबाट श्रृषालाई फोन गरेर जथाभावी बोल्दै भनेछ , 'तैले के खोज्या ? तेरो अरु पनि फोटो छ , निकाल्दिउं ?' उद्धबले धम्काएपछि मेरो अरु केही उपाय छैन भनेर आत्महत्या गरेकी हुन् । त्यो इतिहास खोतल्नेहरुले खोजेर हेरे हुन्छ । डर त त्यस्तो मान्छेलाइ हुन्छ जसले पहिलो चोटि गल्ती गरेको छ । उनको बारेमा पहिला पनि डब्बु क्षत्री भन्ने पत्रकारले यस्तैगरी फिल्मी म्यागेजिनमा लेखे । त्यस्तै एउटा फोटो राखेर केके सम्बन्ध भनेर लेखे, अनि बसुन्धारा भुसालले पुतलीसडकको अफिसमा गएर पिटे उनलाई । डब्बु क्षत्री साह्रै पटके यो मामलामा । उनी आत्तीनुपर्ने खासै केहि थिएन यो मामलामा । दास्रो, जेठ १३ गते कृष्ण सेनलाइ महेन्द्र पुलिस खोरमा कुटेर मारियो । कुटेर मारेपछि प्रहरी इन्काउन्टरमा मारिएको देखाउनलाई मरेको मान्छेको छातीमा दुई गोली दागियो । राती विष्णुमतीमा लगेर लास डढाइयो । त्यो समाचार जनआस्थाले पहिला ब्रेक गर्यो ।

जेठ १३ गतेको कुरा थियो । असारको पहिलो हप्ता छापियो त्यो समाचार । त्यसपछिको सिक्वेन्स हेर्नुस् । त्यसपछि माओवादी द्वन्दकाल चर्किन थाल्यो । एमर्जेन्सी लाग्यो , हामीलाइ केही गर्न बाँकी राखिएन । त्यसपछि नेपाल पुलिसका आइजी प्रदिपको छोरो दीप समलिंगी हो , त्यसकारण त्यसको घरबार टुट्यो भनेर लेखियो जन आस्थामा । कति मान्छे मलाई भेट्टाए गुल्ट्याउँछु भन्दै हिडे । यस्तो हुँदै गयो । अमरसिहं ठकुरी भ्याली डि आइ जी थिए । अमर सिंह शाह ठकुरीले कृष्ण सेनलाइ कुटेर मार्यो भनेर एउटा ठकुरीले अर्को ठकुरीलाई कुटेर मार्यो भनेर लेखियो । जनआस्थाको सबै फाइल निकालेर हेर्नुस् । मैले यहाँ बोलेको कुरालाइ ट्याली गर्नुस् न । नेपाल पुलिस, नेपाली आर्मीको चिफ , भ्याली पुलिसको चिफ सबैको सिक्वेन्स हेर्दै जादाँ मलाई र जनआस्थलार्इ फसाउन षडयन्त्र गरेको देखिन्छ ।

असोजको २३ गते छापिएको हो श्रृषाको समाचार , उनले २९ गते आत्महत्या गरिन् । त्यसपछि हाम्रो विरुद्ध समाजिक अपराधको केस हालीयो । त्यसलाई छ दिनपछि हत्याको अभियोग लगाइयो । त्यतिबेला देउवालाई बर्खास्त गरेर राजाले सत्ता टेकओभर गरेका थिए । सडकमा को आयो ? लोकेन्द्र बहादुर चन्द , धर्मबहादुर थापा, सडकभरि मण्डलेको जुलुस । श्रृषाको त्यो मुद्दाकाे फाइल हेर्नुस्, त्यसमा श्रृषालाई बोग्ने ४५ जनाको नाम छ । लोकमान सिंह कार्की , खुमबहादुर खड्का , केशव स्थापित अनि शर्मिला मल्ल । आफ्नी श्रीमतीलाइ मारुती भ्यानमा हालेर सोल्टी होटेल पुर्याउन जाने को ? ग्राहक बनेर ? कृष्ण मल्ल । सबै स्टोरी त्यो फाइलमा छ । अहिले पनि हेर्न सक्नुहुन्छ तपाइँ । ती सबैको एकता भयो र सबैले जुलुस निकाले । मुद्दा दर्ता गरे, अनेक गरे । हाम्रा बिरुद्ध ज्यान मुद्दा दर्ता भयो । दुइ बर्षसम्म म , विश्वमणि र यादव पाण्डे तीनजना माथि ज्यान मुद्दा लाग्यो । समय सधै बलवान् हुँदैन । समयले सधैँ साथ दिदैँन भन्छन् नि । अब कहाँबाट ल्याएर कृष्ण सेनलाइ मारेको कुरा ल्याएर बदला कहाँबाट लिन थाले भन्दाखेरी , जनआस्थालाइ त बदनाम गराउनु थियो । २०४६ सालको संविधानले नेपालको पत्रकारितामा जतिसुकै जे लेखे पनि छापाखाना खोस्न पाइन्न , पत्रिकाको दर्ता खारेज हुँदैन भन्ने व्यवस्था गर्या छ । पत्रिका खारेज गर्न नसकेपछि, पत्रिका बन्द गर्न नसकेपछि हुलहुज्जत गरियो ।

हामीलाइ जेल हालिदिएपछि पत्रिकामा कसले लेख्ने ? सिताराम बरालको टेबल त्यहीं थियो, पुलिसले आएर तोडफोड गरेर डायरी जति सबै लिएर गयो । सिताराम त फेरि माओवादीसँग अलि नजिकको मान्छे । कुनबेला कोसगँ भेट भएर के के भएको थियो, उसले सबै लेखेको थियो त्यो डायरीमा । पुलिसको डि आइ जी अमर सिंह शााहले सितारामलाइ बोलाएर भने ‘तैले किशोर श्रेष्ठको कर्तुत ननिकाले तलाई पनि आतंकवादीमा फसाइदिन्छु’ । त्यसपछि उनले राजीनामा निकाले । म जनआस्थामा छैन भनेर कान्तिपूरमा उनको स्टेटमेन्ट पनि छापिएको थियो । तर उनले जनआस्था छोड्या तीन वर्ष मात्र भयो । उनले राजीनामा दिए पनि हामीसँगै काम गरेको हो । अब तपाईहरुलाई मैले एउटा काम दिएँ । ल खोज्नोस् । श्रृषालाई पनि न्याय होस् , उनी मरेको मान्छेलाई किन अन्याय गर्ने ? हामीलाइ पनि न्याय होस् ।

नेपालका अरु पत्रकार भन्नेहरु वा भनौँ न आफूलाई अनुसन्धानकर्ता भन्नेहरुका लागि पनि प्रेरणाको स्रोत होस् । तपाईलाई चाहिएको डकुमेन्ट म दिन्छु , पोष्टमाटम रिपोर्ट दिन्छु , पुलिसको रिपोर्ट दिन्छु , अदालतले बोलेको कुरा दिन्छु, सारा कुरा दिन्छु । तपाइलाई श्रीषाको दाइ र बुबासंग पनि भेटाइदिन्छु । जनआस्थामा भएको कुरा के थियो भनेर सोध्नुस् । ल तपार्इंलाई मैले यो काम अनुरोध गरेँ । किनभने यस्ता कुराहरुले मान्छेहरुलाई हेर्ने दृष्टिकोण नै अर्कै बनाइदिन्छ । त्यतिबेला हामी भाग्यले बाच्यौँ । हामी पक्राउ परेनौँ । लुकेर पत्रकारिता गर्यौ र पत्रिका निकालीरह्यौँ । पत्रिका निस्किरहेपछि त्यतिबेलाका भ्याली डिआईजी अनन्त भट्टराईले चिठी लेखे ।

विक्रम थापा त्यतिवेलो डिएसपी थिए । विक्रम थापाले कृष्ण सेनलाइ कुटेर मारे भनेर हामीले स्टोरी लेखेका थियौँ । अनन्तले चिठी लेखे विक्रम थापालाई तोक लगाएर । जन आस्थाका सम्पादक किशोर श्रेष्ठ काठमाडौँमै घुमिफिरी पत्रकारिता गरिरहेको भेटिएकाले निजलार्इ समातेर तुरुन्तै पक्राउ गरी दाखीला गराउनु भनेर सर्कुलर जारी गरेछन् । त्यसले त के बताउँछ भने , किशोर श्रेष्ठ पक्रने ठूलो कुरै भएन । उनीहरुको मोक्ष त पत्रिका बन्द गराउने रहेछ नि त । ल कानूनको नजरमा म अपराधि ज्यानमारा किशोर श्रेष्ठलाइ पक्रेर दाखीला गर्नु । त्यो ठीक हुन्छ तर पत्रिका सञ्चालन गरिरहेको बुझेपछि निजलाइ पक्राउ गर भनेपछि पत्रिका बन्द गराउने धारणा रहेछ नि त।

त्यसको मतलव जनआस्थाको रिस गर्ने धेरै छन् समाजमा ?

अभियस्ली, छन् । जनआस्था निस्केर टाउको दुखेको कसलाई थिएन ? पारसलाइ थियो, ज्ञानेन्द्रलाई थियो, दरवारलाई थियो, सेनालाई थियो, पुलिसलाई थियो र मण्डलेलाई थियो । चार बर्ष अगाडि मोहन वैद्य, बाबुराम भट्टराई उपस्थित भएको एउटा कार्यक्रममा मलाई पत्रकारिताको अवार्ड दिइएको थियो । मैले त्यो बेलामा प्रचण्डलाई त्यही मञ्चबाट त्यो चेक हस्तान्तरण गरेको थिए र भनेँ, यो चेक तपाईले राख्नोस्, तपाईका पत्रकार बिजोग अवश्थामा छन्, उनीहरुका लागि कल्याण कोष बनाइदिनोस् । त्यो चेक नै पचाइदिए प्रचण्डले । तपार्इंहरु हावाको पछाडि बतासिनुहुन्छ । प्रचण्डले मलाई गणतान्त्रिक पत्रकार मोर्चाको नेतृत्व लिन आग्रह गरे, मैले मानिन् । युद्धकालमा जनआस्थामा समाचार छापिएपछि धेरै माआवादीको ज्यान जोगिएको थियो । तर प्रचण्डले पछि मलाई दरबारिया देखे । रविन्द्र श्रेष्ठले माओवादी छोडेर जन आस्थामा लेख्न थालेका थिए । शक्तिखोरमा प्रचण्डले दरबारिया पत्रिकामा लेख्न थाल्यो भनेर भाषण ठोकिदिए । दरवार भित्रको सबै अन्तर गुन्तर खबर छाप्दा चाहिँ म क्रान्तिकारी भएँ । तपार्इंको कुरा छाप्दा वित्तिकै म दरबारिया भएँ ? सेनाको बारेमा पनि लेख्छु नि ! म सेनाको मान्छे भएँ ?

प्रचण्डले चेक पचाए भन्नुभयो, त्यो कसरी भयो ?

मलाई पुरस्कार दिइएको थियो । त्याे चेक थियाे । मैले यो पुरस्कार वापत पाएको रकम अहिल्यै नै म तपार्इलाई हस्तान्तरण गर्दैछु भने । तपाईले 'सिड मनि' मानेर यसलाई राख्नोस् र पैसा थपिदिएर कल्याण कोष बनाइदिनुस् भनेर मैले दिएको हुं । उनले हुन्छ भने । तर कल्याण कोष बनाएनन् । चार बर्ष भइसक्यो । चेक फिर्ता पनि गरेनन्, कल्याणकोष पनि बनाएनन् । फर्काउने भनेको होइन तर जुन कामको लागि दिएको त्यो कामको लागि सदुपयोग त हुनुपर्यो नि । म हरेक बर्ष जेठको १३ गते आयो कि फेसबुकमा लेख्ने गर्छु । ‘प्रचण्ड जी तपाइले त्यो चेक कहाँ पचाउनुभयो ?’ जेठ १३ मा कृष्णसेनको हत्या भएको हो । म उनको नाममा कल्याणकारी कोष स्थापना होस् भन्न चाहन्छु । प्रचण्डले गर्नुपर्छ ।

तपाईलाई कस्ताकस्ता सूचना आउछ, त्यो चेकको बारेमा सूचना आएन ?

उहाँले त्यो चेक साट्नुभयो या साट्नुभएन भन्ने कुरा गर्यो भने त्यसको समापन चाहिँ नराम्रो हुन सक्छ । उहाँले चेक साट्नुभयो भन्ने कुरा मैले बुझेँर पत्ता लगाए भने त मैले उहाँलाई त्यो चेक कहाँ पचाउनुभयो भनेर प्रश्न गर्ने नैतिक धरातल नै पाउँदिन ।

तपाईसगँ व्यक्ति व्यक्तिको सूचना कहाँबाट आउँछ ? तपाईसगँ त सबै मानिस डराउछन् भन्छन् नि ?

कहाँबाट आउँछ त्यो त न मैले भन्न मिल्यो न तपाईले सोध्न । आउन त आउछ नि । तपाई आफू मरेर भए पनि सोर्सलाइ बचाउनुस, तपाईलार्इ सूचना आउँछ । दास्रो कुरो, तपाईलाई दिइएको सूचनालाई व्यक्तिगत फाइदाको नामले दुरुपयोग गर्नुभयो भने त्यो तपाईको इथिक्समा रहँदैन । तपाई त्यही दिन मर्नुहुन्छ । मैले बुझको के हो भने नेपालको पत्रकारितामा विश्वासको ठूलो खडेरी छ । मान्छेले सितिमिति आफ्नो जागिर , जिन्दगी धरापमा राखेर कसैलाइ सूचना दिदैँन । तर कोही मान्छे यस्तो स्वाभिमानी पनि हुन्छ कि जसले सोच्छ यदि मैले यस्तो नराम्रो कुरा बाहिर ल्याउन सकिन भने म बाँच्नुको अर्थ हुँदैन । यदि कोहि मान्छे यस्तो डिटरमिनेसन लिएर आउँछ भने त्यस्तो सोर्सप्रति हामी इमान्दार हुनुपर्छ । नत्र भने दरबारको त्यत्रो चार पर्खाल भित्र भएको सूचना जनआस्थामा कसरी आयो ? सेनाको सूचना कसरी आयो ? त्यसैले तपार्इं आफ्नो सोर्सप्रति इमान्दार रहनुस् । अहिलेको पत्रकारले सिक्नुपर्ने कुरा त्यहि हो ।

जादाँ जादैँ के भन्न चाहनुहुन्छ पत्रकारीता गर्दै गरेका व्यक्तिहरुलाइ ?

मैले तपाईहरुलाई पनि भन्ने कुरा त्यहि हुन्छ, हतारमा कुनै पनि समाचार पोष्ट नगर्नुस् । किनभने मैले तपाईलाई आज यो ठाउँमा बसेर भन्दै छु । मैले १६ बर्षको उमेरदेखि पत्रकारिता गरेको आज म ४६ बर्ष भएँ । यो तीस बर्षसम्म त सरकारी जागीर गरेको भएपनि आज मेरो पेन्सन पाकिसक्थ्यो होला । यो ठाउँमा आएर मैले मित्र कमाएको छु । त्यस्तैगरि मैले गुडविल कमाएको छु र त्यसैगरि मैले शत्रु पनि कमाएको छु । हरेक हप्ता जनआस्थामा आउने एभरेज समाचार जति पनि आउंछ , त्यसको सत्तरी प्रतिशतको दरले शत्रु कमाइरहेको छु । शत्रुहरु मैले चिनेर होइन उनीहरुको बारेमा र उनीहरुको कर्मको बारेमा लेखेको भएर कमाउंछु । मलाई मानहानीको मुद्दा लाग्न सक्छ , साइबर क्राइम लाग्न सक्छ तर हामीलाइ मुद्दा लाग्यो भने प्रशाासनले सितिमिति केस दर्ता गर्दैन पहिलो कुरो । दास्रो कुरो , दर्ता गरेपनि यसलाइ जेल नै हालौँ भनेर उनीहरुले आटँ गर्न सक्दैनन् ।

म यो ठाउँमा बसेर घमण्डका साथ भन्दैछु , किन भन्दै छु भने उसले पचास पटक सोच्नुपर्ने हुन्छ । त्यसैले नयाँ नयाँ मान्छेलाइ किचिमिचि पार्न कत्ति पनि समय लाग्दैन, किनभने तपाइको पक्षमा बोल्ने पनि कोहि मान्छे हुदैनन् । त्यसकारण हतार गर्नुभएन । सुनेको कुरा र देखेको कुरा सुन्ने वित्तिकै र देख्ने वित्तिकै लेखिहाल्नु पर्छ भन्ने छैन । पुष्टि गर्न समय लिनुपर्छ , यसको लागि पछि परिएला । त्यो अघि बढेर अनुजा बानियाँ, रसेन्द्र भट्राइको जस्तो केसमा फस्नुभन्दा त पछि पर्नु राम्रो होइन र ? आफ्नो क्रेडिबिलिटिको सवाल आउछ कि कसो ?

 

kishor shrestha Shrisha karki

विशेष