अयोग्य लडाकुको डायरी
-नेकी धनेन्द्र यहिँ झुप्रोबाट तिमि जन्मदा कति खुसी भएकी थिएँ म !! वर्षौं देखि अँध्यारो पोतिएको मेरो चेहरामा उषाको पहिलो किरण झुल्किएको थियो ।
हाम्रो टर्रो जीवनगाथालाई गुलियो सपनाले झंकृत बनायौ राज्यको सौतेनी व्यवहारले आजद भएका हामी अनागरिक जस्तालाई-टुहुरा जस्तालाई आफ्नो भाग्यसंग गुनासो गर्न मात्र जानेकाहरुलाई- तिमिले नै सिकाएका थियौ हक-अधिकारका कुरा गर्न, जीवन र दर्शनको कुरा गर्न !! मेलापात गर्दा धुलोहिलो शीत र मलमा लतपतिएर ध्वाजा फाटेका हातखुट्टा लिएर जान्थ्यौं कखरा सिक्न बोकेर काठको कालोपाटी ! बनाउथ्यौं धुलोमै कखराको आकार तिमिले नै सिकाएथ्यौ विरोध गर्न यहिँ हो बुर्जुवा शिक्षा भनेर अनि, उठाएथ्यौ वैज्ञानिक शिक्षाको आवाज ! त्यतिबेलै त हो म तिम्रो क्रान्तिमा समाहित भएको !!
शोषण र उत्पिडनले जगडिएको बेला ल्याएथ्यौ मुक्तिको बेजोड योजना त्यतिबेलै त हो तिमिलाई मैले साथ दिएको !! चुहिने छाना टाल्न छोडेर बालबच्चा र बुढा बाआमा पाल्न छोडेर रोग भोकको मुन्टो निमोट्छु भनेर अशिक्षाको कालो रात चिर्छु भनेर निस्केकै हो म पनि तिमीसँगै, घाँसदाउरा काटेका हातहरुले सामान्तिका टाउका छिनाल्छु भनेर झोला भरी परिवर्तनका सपना बोकेर कम्मरमा खुकुरी, कुममा बन्दुक भिरेर हातमा लाल झण्डा उचालि छिचोल्दै घनाघोर कचालि गरेका थियौं मृत्युसँग लुकामारी !! मोर्चाबन्दी हुँदा तारिफ भैरहन्थ्यो घरिघरि दुश्मनका किल्ला तोड्दै गर्दा बीरताको प्रतीक थिएं म पनि !! अपसोच, जुनजुन कुराको विरुद्धमा लड्न सिकाएथ्यौ आज त्यही त्यही ठाउँमा तिमी छौ तिमी सँगै सहकार्य गरि हिडेकी हुँ म, खैर, फेरि किन खोज्नु परेको तिमिलाई बुर्जुवा शिक्षाको प्रमाणपत्र त्यहि शिक्षाका विरुद्ध नारा घन्काउदै हिडाउने तिमी नै त हौ !!
निधारमा रातो फेटा बाँधेर बुर्जुवा शिक्षाका किताब जलाउदै हिड्ने अगुवा नारी मै त हुँ के चिन्नै सकेनौ र ?? प्राणको बाजि थापी जल्लादका सिपाही माथी धावा बोल्ने नारी मै त हुँ कसरी तिमिले अयोग्य भन्यौ ?? सर्वहारालाई भकुण्डो बनाइ आफ्नै लागि खेलिरह्यौ जब एउटा गोल भयो हावा फुस्काइ राखिदियौ अब त सब चिज रित्तो भैसक्यो न त घरवार बाँकी रह्यो न त केही गर्ने सम्भावना नै रह्यो उजाड र पत्झड भैसक्यो जिन्दगी !! झिक्नै नसकिनेगरी शरीरभरी छरिएर छट्पटी,बेचैनी बनेर बसेका छन् राइफलका गोलिहरु !! प्रयोगपछि फ्याँकिएको प्लास्टिक जस्तो भएर हाम्रो अस्थित्व मेटिएको छ सपना केवल निन्दामै देखे जस्तो भोकाइको यथार्थ भने जर्जर छ !! भ्रमको जालो देखेपछि कति सराप्लान् आत्माहरुले सहिदको रगत मुछिएको बाटो कुल्चिएर हिड्यौ संिंहदरबारतिर !!
मुटुभरी देश र राष्ट्रियता बोकेर मनभरी तीता अनुभूति संगालेर नेपाली हुनुको परिचय- नागरिकता र राहदानी बोकेर जानू परेकोछ खाडितिर खन्याउनु परेकोछ अर्कैको भूमिमा रगत र पसिना ! बेच्नु परेकोछ अर्कैलाई पाखुरा र पौरख सम्झेर ल्याउँदा बलिन्धारा छुट्छ !! के जनयुद्धको लक्ष यहि नै थियो त ??