सन्दर्भ राष्ट्रिय १३ औँ धान दिवस
प्रत्येक वर्ष असार १५ गतेका दिन राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । यस वर्ष १३ औँ धान दिवस ‘व्यावसायिक धान खेतीको आधार, सामुदायिक नर्सरीको विस्तार’ भन्ने नाराका साथ भोलि मनाइँदैछ । नेपालले २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको छ ।
धान नेपालको प्रमुख खाद्यान्न बाली हो । देशको अर्थतन्त्रमा यसले उल्लेखनीय भूमिका खेलेको छ । कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत, कृषिमा २० प्रतिशत र कुल खाद्यान्न उत्पादनको ५५ प्रतिशत धानबालीले योगदान पुर्याएको छ ।
कृषि विभागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । तराईमा करिब ७० प्रतिशत, पहाडी क्षेत्रमा २६ प्रतिशत र हिमाली क्षेत्रमा ४ प्रतिशत धानबाली लगाइन्छ । धान खेती हुने क्षेत्रफलमध्ये ९० प्रतिशतमा रोपाइँ गरिन्छ भने १० प्रतिशतमा मेसिनद्वारा धान रोपिन्छ ।
युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा प्रचुर जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीकरण, आकासे खेतीमा परनिरर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद्य एवम् कृषि अनुदानको राम्रो व्यवस्था नहुनु नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) का कार्यकारी प्रमुख युवराज पाण्डेको भनाइ छ । उनका अनुसार किसानले उचित मूल्य प्राप्त गर्न नसक्नु, सरकारी उदासिनता र शिक्षित वर्गबाटै कृषि पेसालाई उपहास गरेका कारण कृषि उत्पादकत्व बढाउन नसकिएको हो ।
हालको मागलाई आपूर्ति गर्न जग्गा वृद्धि गर्न नसकिएपनि उत्पादन बढाउन हाइब्रिड धान (जसले २० प्रतिशतसम्म बढी उत्पादन दिन सक्छ) लाई विकल्पका रुपमा छान्न सकिने बताउँदै उनले अहिले चिनीयाँ वैज्ञानिक नेपाल आइ यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिए।
नार्कले अहिले तराई क्षेत्रका लागि ‘राधा १३’, ‘राधा १४’ र ‘सुगन्धित धान १’ जातका धानका बीउ सिफारिस गरेको छ । यसैगरी राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम, वनस्पति महाशाखा र गैह्रसरकारी संस्थाको संयुक्त प्रयासमा नार्कले भौगोलिक हावापानी सुहाउँदो ७८ धानको जात सिफारिस गरेको छ ।
अझैपनि नेपाली कृषक परम्परागत तथा स्थानीय बीउको प्रयोग गर्दै आएका छन्, जसको कारण बीउ परिवर्तन दर १०.९ प्रतिशत मात्र छ । उन्नत जातका धानका बीउमा कृषकको पहुँच पुग्ने हो भने २० प्रतिशतसम्म धान उत्पादनमा वृद्धि गर्न सकिने धानविज्ञ भोलामान सिंह बस्नेतको भनाइ छ ।
अहिले नेपालको धान उत्पादकत्व ३.१७ मेट्रिक टन प्रतिहेक्टर छ, यसलाई बढाएर ४ मेट्रिक टन प्रतिहेक्टर बनाउन सकेमात्र पनि मुलुकभित्रको मागलाई पुरा गर्न सकिने उहाँ बताउनुहुन्छ । धानविज्ञ बस्नेतले नेपालमा बिहान बेलुकी नै भात खाने सँस्कृति रहेकाले त्यसलाई बदल्नुपर्छ भने । उनले बिहान भात खाएपनि बेलुकी भातको सट्टा गहुँ, फापरको रोटी, आलु, खान सकिन्छ, यसले खाद्य सङ्कट उत्पन्न हुने सम्भावना नरहने बताए ।
यसैगरी भारतमा करिब ४ मेट्रिक टन प्रतिहेक्टर, बङ्गलादेशमा ४.४ मेट्रिक टन प्रतिहेक्टर र चीनमा ६.७ मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुन्छ । धेरै धान उत्पादन गर्नेमा चीन पहिलो नम्बरमा पर्छ ।
विसं २०७२ सालको भूकम्प र त्यसपछि भारतको नाकाबन्दीका कारण गत वर्ष धान उत्पादनमा १० प्रतिशतले घटेको कृषि विभागको तथ्याङ्क छ । नेपालमा अहिले वार्षिक ३४ लाख मेट्रिक टन चामलको माग हुने गरेकामा २८ लाख मेट्रिक टन मात्र चामलको आपूर्ति भइरहेको छ । पछिल्लो १० महिनामा रु १८ अर्ब ८६ करोडको चामल आयात भएको थियो । यो वर्ष मौसमले पनि साथ दिएकाले करिब १५ लाख हेक्टर जमिनमा धानको उत्पादन हुने धानविज्ञ बस्नेतले बताए ।
नेपालको छैठौँ कृषि गणना २०६८ मा एक लाख १६ हजार व्यक्तिले आफ्नै जमिन नभएका कारण कृषि पेशा गर्न नपाएको उल्लेख छ । राष्ट्रिय कृषि गणना २०६८ ले १० वर्षमा एक लाख २९ हजार हेक्टर उर्बर जमिन बाँझो भएको र एक लाख १६ हजारले आफ्नै जमिन नभएका कारण कृषि पेसा गर्न नपाएको उल्लेख गरिएको छ ।छैटौँ कृषि गणनाले ७१ प्रतिशत जनता पूर्णकालीन कृषक रहेको भएपनि ८३ प्रतिशत जनता कृषि पेसामा आत्मनिर्भर रहेको जनाएको छ । एसियाली देशमा ९० प्रतिशत धानको उत्पादन तथा खपत हुन्छ । कृषि क्षेत्रको अन्नबालीमध्ये धानको योगदान ५२ प्रतिशत छ ।
संसारको सबैभन्दा उच्चस्थानमा धानखेती हुने देश नेपालको जुम्ला जिल्लाको छुमचौरमा पर्दछ । वैज्ञानिकका अनुसार २५ डिग्री तापक्रमदेखि ३२ डिग्री तापक्रमभित्र रही धानखेती गर्न सकिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन झापा र सबैभन्दा कम मुस्ताङ जिल्लामा हुन्छ ।