‘म बुढीलाई मारिदेऊ, टन्टै साफ हुन्छ’
देशकै सबैभन्दा पूरानो अस्पताल वीरको तेस्रो तला । कोठा नम्बर ७ । जहां एउटी महिला महिनौंदेखि आमरण अनसनमा छिन् । चार जना महिला प्रहरीले पालैपालो सुरक्षा दिइरहेका हुन्छन् । अस्पतालले औषधि र ग्लुकोज दिइरहेको छ । पेटमा अन्न नपरेको धेरै भइसक्यो । शरीर उठ्नै नसक्ने गरी हल न चल भइसकेको छ । यति मात्र होइन उनले यसैगरी आमरण अनसनमा बसेका श्रीमानलाई गुमाइसकेकी छिन् । उनी वीर अस्पतालमा छिन् । उनका बुढा शव गृहमा बाकसभित्र महिनौंदेखि भण्डार गरिएका छन् । श्रीमान मरेसँगै छोरा पनि वेपत्ता छन् ।
यो कथा हो गंगामाया र नन्दप्रसाद अधिकारीको । न्यायका लागि भन्दै देह त्याग गर्न पछि नेपर्ने यि अधिकारी दम्पत्तिको कथामा माओवादी युद्धको कालो पाटो दर्पण छाँयाजस्तै छर्लङ्ग देखिन्छ । उनका किशोरवयका छोरालाई माओवादीले मारेका थिए । मार्ने को थिए ? एकीन छैन । अधिकारी दम्पत्तिले किटानी जाहेरी दिएर हत्यारालाई कारवाही गर्न माग गरिरहेका छन् । न्यायको निरुपण हुनैपर्छ तर हुन गाह्रो छ । अधिकारी दम्पत्तिजस्तै थुप्रै पीडितहरु न्यायका लागि छट्पटाइरहेको बेला युद्ध कमाण्डार प्रचण्ड प्रधानमन्त्री हुँदैछन् । गंगामायाको प्रचण्डसँग आग्रह छ, ‘गरिखाने छोरालाई मार्ने तपाईसँग शक्ति छ । म मरिजान नसकेकी बुढीलाई पनि मारिदिनु । टन्टै साफ हुन्छ ।’
संर्घष
‘न्याय नपाए गोरखा जानू’ भन्ने भनाई नेपाली समाजमा प्रचलित छ । तर, गोरखा फुजेल ७ का नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्ति न्यायको खोजि गर्न भन्दै राजधानी छिरे । त्यतिबेला गोरखाकै बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनी बाबुराम मात्र थिए, गोरखाली राम शाह हुंन सकेनन् ।
अधिकारी दम्पत्ति सडकमै बास बस्न बाध्य भए । भट्टराई सरकार विस्तापित भइ प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बन्यो । न्यायमूर्ती नै कार्यान्वयनकर्ता भएपछि केही होला भन्ने उनीहरुलाई लाग्यो । उनीहरुले राज्यको ध्यान तान्नका लागि बालुवाटार अघि धर्ना दिए । प्रहरीले पक्राउ गरेर ४९ दिन हिरसातमा राख्यो । बिस्तारै उनीहरुका बारेमा राष्ट्रिय बहश शुरु भयो । अधिकारकर्मीले साथ दिन थाले । आमरण अनसन गर्न पनि सुझाए । आमरण अनसन बस्दाबस्दै नन्दप्रसादको ज्यान गयो । त्यतिन्जेल सुशील कोइराला प्रधानमन्त्री भइसकेका थिए । पति नन्दप्रसादको निधन भएको सन्दर्भमा उनको आँखामा आँशुको भल छुट्यो । काँपेको स्वरमा गंगामायाले भनिन् ‘यही आँशु पनि सकिन थाल्यो । नुरका बा पनि खसे । उनी खसेपछि जेठो छोरा नुरपनि वेपत्ता छ । प्रहरीले बेपत्ता बनाएको होला ।’
उनी केही बोल्न सकिनन् । एक तमासले सिलिङ्गतिर हेरिरहिन् । औंला हल्का चलिरहेका थिए । आँशुको धारा बग्दै उनको ओठमा ठोक्कियो । न्यायका लागि संर्घष गर्दा थप अन्यायमा परेकी उनले शब्दमा ब्यक्त गर्न नसक्ने पीडाको पहाड छिचोल्दै गरेको सहजै बुझिन्थ्यो । छोरा मारिएको सोक छँदै थियो, बुढा पनि मरे । गंगामायाका लागि घर घर रहेन । उनलाई सास त्याग्नु नै सबैभन्दा ठूलो उपलब्धी जस्तो लाग्न थालेको छ । भन्छिन्, ‘दैबले मलाई नुरका बा (श्रीमान्) सँगै किन लगेन ? काख त खोस्यो–खोस्यो साथ पनि खोसियो ।’
पीडालाई अधिकारकर्मीले व्यापार बनाए
उनीहरुले आन्दोलन थाल्दा देशमा संविधानसभाको दोस्रो निर्वाचन हुँदै थियो । उनीहरुका समाचार बिकाउ विषय बन्थे । अधिकारकर्मीहरु उनीहरुको अघिपछि तछाडमछाड गर्थे । अधिकारी दम्पत्तिले चित्त बुंझाउथे, ‘कृष्णलाई माओवादीले मारे पनि धेरै कृष्णहरु हाम्रा साथमै रहेछन् । यि जिउँदा कृष्णले पक्कै बैतरणी तार्लान ।’
चुनाव सकियो । सरकार परिवर्तन भयो । विस्तारै उनीहरुलाई साथ दिन अधिकारकर्मी पनि लाखापाखा लागे । उनीहरुले महशुश गरे, हाम्रो पीडालाई अर्कै प्रयोजनका लागि प्रयोग गरिएको रहेछ । गंगामाया भन्छिन्, ‘यतिका समय वितिसक्यो अझैसम्म न्याय पाइएको छैन । अधिकारकर्मी सबैले पैसाको चलखेल गरेर आफ्नो खल्ति भरेको हुनुपर्छ । न्याय दिन नसके पनि मृत्यु दिए पुग्छ । मरे त मन र शरीरले शान्ति पाउला । हाम्रो आत्माले त यिनलाई सुःख दिने छैन ।’
गंगामायाको आक्रोश सुदिप पाठकप्रति बढी छ । पाठककै कारणले आफूहरुको यो अवस्था भएको भन्दै उनले पटकपटक दुःख व्यक्त गरिन् । पाठकले आफूहरुको फोटो प्रयोग गरी डलर कमाएको उनको आरोप छ । आमरण अनसन उत्कर्षमा पुगेका बेला पाठककै कारण अनसन तोड्न आफूहरु राजी भएको तर पछि धोका दिइएको उनले खुलाइन् । ‘तपाईहरुका माग पूरा हुने भए भनेपछि हामीले अनसन तोड्यौं तर माग पूरा भएन ।’ यसो भन्दै गर्दा उनको मुहारमा आक्रोश पैदा भएको थियो । मुठ्ठी दह्रो पार्दै उनले भनिन्, ‘सबैलाई चिनियो ।’ उनले पाठकमाथि लगाएका कतिपय गम्भीर आरोप यहां प्रकाशन गर्न समेत विचार गर्नुपर्ने खालका छन् ।
२०७० सालबाट उनीहरु आमरण अनशन सुरु गरेका थिए । सरकारले ४ बुँदे सम्झौता गरेपछि ४७ औँ दिनमा उनीहरुको अनशन तोडिएको थियो । सरकारले सम्झौता अनुसार काम नगरेको भन्दै २०७० कात्र्तिक ७ गतेदेखि पूनः अनशन सुरु गरे । अनशन बसेको ३३३ दिनको दिन नन्दप्रसादको मृत्यु भएको थियो ।
निवेदनको पत्तो छैन
सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए नदिएको आफूलाई थाहा नभएको बताउँछिन् गंगामाया । दुई जना मासिन आएर हस्ताक्षर गर्नु भनेपछि उनले औँठा छाप लगाइदिएकी थिइन् । ‘को थिए के थिए मलाई थाहा भएन । चितावनमा निवेदन दिनु छ भनेर आएका थिए । औँठा छाप लगाएर पठाइदिएँ ।’ गंगामायाले भनिन् ।
(गंगामायासँग गरिएको कुराकानीमा आधारित । उनीसँग गरिएको कुराकानीको रेकर्ड हामीले यहां उल्लेख गरेका छैनौं ।)
Ganga Maya
Prachanda