राजनीति

ओलीका अनेकथरी मन्त्री, को के मा विवादित भए ?

ओलीका अनेकथरी मन्त्री, को के मा विवादित भए ?

Oli Teamप्रधानमन्त्री केपी ओलीले गणतन्त्रका लागि युद्ध गरेको माओवादीदेखि सक्रिय राजतन्त्रको छत्रछायाँमा उदाएका कमल थापासम्मलाई साथ लिएर मन्त्रिपरिषद् गठन गरे । संविधानमा असहमति जनाउंदै संविधान घोषणा बहिष्कार गरेका विजय गच्छदारलाई ओलीले मन्त्रिपरिषदमा साथै लिए । ०२८ सालमा सिपी मैनालीको नेतृत्वमा झापा विद्रोहमा सहभागी ओलीले उनै मैनालीलाई आफ्नो उपप्रधानमन्त्री बनाए । संघीयताका कट्टर विरोधी चित्रबहादुर केसीलाई उनले संघीयता कार्यान्वन गर्न बनेको सरकारको उपप्रधानमन्त्री बनाए । ६ जना उपप्रधानमन्त्री बनाएका ओलीका मन्त्रीले ९ महिने अवधीमा केही रोचक र विवादास्पद काम गरे ।

कमल थापा:- संघीयता विरोधी थापा संघीय मामिला मन्त्री बनेर व्यवस्थाकै खिल्ली उडाए । भारतीय दुतावासलाई ३ करोडसम्म लगानी दिने मन्त्रिपरिषद्ले निर्णय गर्दा उनी परराष्टमन्त्री थिए । पछि उनले सो निर्णय सच्चाउनुपर्ने भन्दै पार्टी घोषणापत्रमा समानान्तर सरकारको अन्त्य गर्नुपर्ने भन्दै लिपिबद्ध गरे । तर, दोहोरिएर परराष्टमन्त्री हुँदा उनले सो निर्णय सच्चाउन ध्यानै दिएनन् । बरु, नेपालको आन्तरिक मामिलाको हल गर्न भारतमा चार बुँदे एजेण्डा थमाए । गणतन्त्र र धर्मनिरपेक्षता कार्यान्वनमा लाग्नुपर्ने संवैधानिक धर्म विपरित उनी मन्त्रीको झण्डा हल्लाउंदै सोका बिरुद्धमा सडकमा निस्किए ।

विजय गच्छदार:- उपप्रधानमन्त्री विजय गच्छदारका लागि सत्ता नै सबथोक हो । राजनीतिको यो ब्रह्मसूत्रलाई उनले लाज नपचांइ व्यवहारमा उतारेका छन् । संविधानमा हस्ताक्षर गर्न समेत नमानेका गच्छदार सोही संविधान अन्र्तगतको उपप्रधानमन्त्री बन्न तयार भए । उनकै पार्टीबाट मन्त्री भएका रामजनम चौधरी आन्दोलनकारी बनेर प्रचण्डसमक्ष मागपत्र बुझाउन गए । हसाउंनु हसाए गच्छदार र उनका मन्त्रीले ।

चित्रबहादुर केसी:- मन्त्री भएकै भोलिपल्ट टेलिभिजन कार्यक्रम यक्ष प्रश्नमा भारतले देश टुक्राउन खोजेको अभिव्यक्ति दिएर उनले तरंग पैदा गरिदिए । संघीयताको विरोध गर्न उनी पछि परेनन् । बुढाले काम केही गरेको देखिएन तर उनका कुरा संचारमाध्यमका लागि सधैं विकाउ मसला बने ।

सिपी मैनालीः- सिपी मैनालीको राजनीतिको अवरोह नभएको भए यि कम्युनिष्टजनका लागि सर्बमान्य नेता हुन्थे । तर, उपप्रधान तथा महिला मन्त्रालय पाउँदापनि दंग पर्ने गरी यिनको राजनीति ओरालो लाग्यो । उनीपनि विवादस्पत अभिव्यक्तिका लागि चर्चामा रहे । बोल्न केही बाँकी राखेनन् । काम भने केही गरेको देखिएन ।

टोपबहादुर रायमाझी:- प्रधानमन्त्रीले २ बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणालाई उनैले हावाधारी गफ बनाइदिए । माओवादीबाट नेतृत्व गरेर मन्त्रिपरिषदमा गएका उनी खाशै चर्चामा रहेनन् ।

भीम रावलः भीम रावल खरा व्यक्ति हुन् । तर, उनी कार्यकालभरि मौनजस्तै रहे । रक्षा मन्त्री रहेका उनी गृहमन्त्री हुँदाको जस्तो छबी बनाउन सकेनन् ।

शक्ति बस्नेत:- गृहमन्त्री शक्ति बस्नेत नाममा मात्र शक्तिशाली देखिए । काम उनको फितलो भनि चर्को आलोचना भयो । गृह प्रशासनमा उनी जत्तिको सरल शैलीको नेतृत्व पहिलो पटक आएको चर्चा छ । छोरी, आफन्त र प्रचण्डका नातिनीलाई चीन भ्रमणमा पठाएपछि उनको साख नराम्रोसँग गिह्रो । शुरुवाती दिनमा उनको गासमा ढुंगा लाग्यो ।

गिरिराजमणि पोखरेल:- शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा क्षेत्रमा केही दमदार निर्णय गरे । ऐन ल्याए । तर, ऐनको प्रभाव कस्तो हुन्छ, मूल्यांकन गर्न हतारो हुन्छ ।

रेखा शर्मा:- माओवादी युद्ध कालमा सेनाबाट पीडित रेखा विवादमा परिनन् । दोहोरो सुविधा लिने कर्मचारीविरुद्ध उनले कडाइ गरिन् । लालाबाबु पण्डितलगत्तै सामान्य प्रशासनमन्त्री बनेकी उनी ओझेलमा परिन् ।

सोमप्रसाद पाण्डे:- माधब नेपालका सम्धी पाण्डेले खाशै केही भुमिका निर्वाह गर्न सकेनन् । लगानी भित्राउने कुरामा उनी निष्प्रभावी देखिए । ग्यास उत्खनन गर्ने भन्दै हिडेपनि उनी कार्यान्वयनमा विफल भए ।

शेरधन राईः संचारमन्त्री शेरधन राई मन्त्री भएपछि एकाएक राष्टिय राजनीतिमा छाए । अविवाहित उनी विवाहको प्रसंगमा चर्चामा रहे । उत्तरार्धमा उनी केटी काण्डमा मुछिए । आरोप या सत्य ? यो काण्डले उनको छबि धुमिल्याएको छ ।

हरिबोल गजुरेलः- कृषि मन्त्री बनेका गजुरेल फिल्मबाट यति प्रभावित भएकै फिल्म हेर्दा त के गरे कुन्नी ? बाहिर निस्केपछि डांको छोडे ।

सान्ता मानवीः शान्ति मन्त्री नियुक्त भएपनि सफथ नलिंदै उनको मन्त्रालय फेरियो । विनाविभागीयबाट उनी एकैपटक पशुमन्त्रीमा हुत्तिइन् । संर्घषशील मानवीले केही गर्न खोजिन तर भांति पुगेन ।

यि र यस्तै मन्त्रीलाई साथ लिएर सरकार संचालन गरेका ओली बोलीका कारण चर्चामा रहे । उनको मुख्य योगदान नाकावन्दीका विरुद्ध अडान लिनु रह्यो । चीनसँग इन्धन सम्झौता नगरेपछि उनको खुट्टा कांपेको देखियो, भलै उनले पारवहन सम्झौता गरेका हुन् ।

KP Oli

विशेष