अभिलेख

सरकार बचाउँन यादवलाई ओलीको ५० करोडको अफर

सरकार बचाउँन यादवलाई ओलीको ५० करोडको अफर

साउन– ६ । संघीय समाजवादीले माओवादीको समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको सरकार बचाउन प्रधानमन्त्री केपी शर्मा ओलीले ५२ करोड अफर गरेको खुलासा बाहिर आएको छ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले यस्तो अफर लिएर आएको बाहीर आएको छ ।

 

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पार्टीको बैठक तथा गठबन्धनका नेताहरुसँगको कुराकानीमा पोखरेल र रिमालले ल्याएको ५२ करोडको अफरको खुलासा गरेका छन् । काङ्ग्रेस र माओवादी मिलेर संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओलीले सरकार बचाउनका लागि आफ्ना दूतहरुलाई गठबन्धनका नेताकहाँ पठाएका थिए । पार्टी कार्यालयमा त्यस दिन उपस्थित फोरम नेपालकै एक नेताले दिएको जानकारी अनुसार ‘अध्यक्षको च्याम्बर कता हो ?’ भन्ने सोधेर उनीहरु सरासर तीन तल्लामाथि रहेको पार्टीका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवको कार्यकक्षमा पसेका थिए ।

 

त्यतिबेलासम्म कार्यालयमा फाटफुट नेता तथा कार्यकर्ताहरु मात्र आइपुगेका थिए । अहिले राजनीतिक उथलपुथलका विषयमा दुई नेताबीच कुराकानी भएको होला भन्ने अन्य नेताहरुले अनुमान गरेका थिए । तर, आधा घण्टासम्म कुराकानी गरेर पोखरेल र रिमाल त्यहाँबाट बाहिर निस्किए । त्यसपछि उपेन्द्र यादवले गठबन्धनमा रहेका नेताहरुसँग पोखरेल र रिमालले ल्याएको अफरबारे ब्रिफिङ गरेका थिए । सरकारको अफरको बारेमा साउन २ गते बसेको कुपण्डोलमा र साउन ३ गते फोरम नेपालको कार्यालय तीनकुनेमा बसेको गठबन्धनको बैठकमा यादवले यसबारे जानकारी दिएका थिए । यस बैठकमा अशोक राईदेखि शरतसिंह भण्डारीसम्मका शीर्ष नेता उपस्थित थिए । गठबन्धनका उपलब्ध नेताहरुसँगको ब्रिफिङमा यादवले सुनाएका थिए, ‘पोखरेलले मधेशको सबै माग पुरा गरिदिने, अरु के के सहयोग चाहिन्छ, सबै सहयोग गर्ने तर काँग्रेस र माओवादीलाई समर्थन नगर्न’ आग्रह गरेका थिए । यादवले त्यति मात्र होइन, त्यहीँ ब्रिफिङमा ५२ करोड अफरको विषय पनि सुनाएका थिए । ‘उहाँहरुले ५२ करोड रुपियाँको लोभसमेत देखाएर गएका छन् ।’

 

सरकार बचाउन प्रधानमन्त्रीले ठूलो रकमसहितको अफर पठाएको कुरा सुनेपछि त्यसदिन छलफलमा सहभागी गठबन्धनका नेताहरु अच्चम परेका थिए । उपेन्द्र यादवले गठबन्धनका नेताहरुलाई बताए अनुसार पोखरेल र रिमाल दुई वटा सुटकेश बोकेर आएका थिए । भेटमा पोखरेलले ‘तपाईहरुको आन्दोलनमा खर्च भएको होला, तपाईसँग ४२ जना सभासद छन् । सबैलाई एक–एक करोड अरु बाँकी आन्दोलनको खर्च, अरु पछि पनि सहयोग गरौंला’ भनेको अध्यक्ष यादवले आफ्ना नेताहरु समक्ष राखेका थिए । यादवले आफुुले पोखरेल र रिमाललाई ‘रेल प्लेटफर्मबाट हिँडिसक्यो । अर्कै रेल चढिसकेका छाैँ ।

 

अब अर्को चढ्ने सम्भव छैन,’ भनेको समेत गठबन्धनका नेताहरुलाई सुनाएका थिए । यादवले गठबन्धनका नेताहरुलाई सुनाए अनुसार पोखरेलले एकपटक पुनः विचार गर्न आग्रह समेत गरेका थिए । ओलीले यस अघि काँङ्ग्रेस सभापति शेरबहादुर देउवा र काँङ्ग्रेस वरिष्ठ नेता रामचन्दै पौडेललाई प्रधानमन्त्री बन्न अफर गरेका थिए । देउवाले ‘टू लेट’ भन्दै र पौडेलले ‘सदासयताका लागि धन्यवाद’ भन्दै ओलीको प्रस्ताव अस्वीकार गरिसकेका छन् । प्रधानमन्त्री ओलीले भारतको इसारामा आफ्नो सरकार ढाल्न खोजिएको बताउँदै आएका छन् । उनले संसदमा अविश्वासको प्रस्ताव का विरुद्धमा लड्ने बताएका छन् । अब करिब ५० सांसदले ओली सरकारको समर्थनमा मतदान गरे उनको सरकार बच्न सक्छ ।

upendra yadav Upendra Yadv

विशेष