प्रचण्ड प्रधानमन्त्री नहुने बाटोमा राजनीति
बिहीबारको शीर्ष नेताहरुको बैठकमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सबै दललाई मान्य हुने खालको प्रस्ताव प्रस्तुत गरे । उनको प्रस्ताव थियो– सरकारका विरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फिर्ता लिएर आर्थिक विधयेकमाथिको छलफल अगाडि बढाउने र लगत्तै प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिने ।
पौडेलको यो प्रस्ताव आउंदाबित्तिकै नेताहरु सकारात्मक देखिए । कोहीले भने–नयाँ शिराबाट छलफल अघि बढाएर संविधान कार्यान्वयन गर्ने बाटोमा अघि बढौं । बिहीबार रातभरि राजनीतिमा यसैगरी हावा चले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने गरी तय भएको बाटो बढारिने देखिएको छ । प्रधानमन्त्री केपी ओली र काँग्रेसको एउटा तप्का प्रचण्डलाई हरहालतमा रोक्ने पक्षमा छ । प्रचण्डलाई रोक्दै चौटा खान गएकी बुढी झोलमा डुबरे मरी भन्ने गरी सबक सिकाउने ध्याउन्नमा ओली छन् । उनले प्रचण्डबाहेक जोकोहीलाई प्रधानमन्त्री बनाउन तयार रहेको सन्देश प्रवाह गरिरहेका छन् ।
अर्कोतर्फ प्रचण्ड र ओलीलाई अलग नगरी आफु प्रधानमन्त्री नबन्ने निश्चित देखेपछि प्रचण्डलाई बोक्न तयार भएका देउवा फेरिएको परिश्थितिमा फेरिन सक्छन् । किनकी प्रचण्ड र ओली अलग भइसकेका छन् । ओलीले देउवाको नेतृत्वमा सरकार बने आफ्नो दलपनि सहभागी हुंने प्रस्ताव गरेमा प्रचण्डका लागि सिंहदरबारको दैलो बन्द हुंनेछ । आखिर ओलीले देउवालाई नभनेपनि रामचन्द्र पौडेललाई प्रस्ताव गरिसकेकै छन् । प्रधानमन्त्री ओलीलाई राम्रो गरी हेक्का छ –सरकारबाट विस्तापित भएपछि एमालेका लागि पुनरागमन सहज छैन । रणनैतिक दृष्टिले पनि अबको सरकार महत्वपूर्ण हुनेछ । एमाले एकाध प्रसंगमा बाहेक सत्ताभन्दा बाहिर रहेको छैन । सत्तामा हुँदा लिन सकिने फाइदा बाहिर गएपछि पाइदैन भन्ने बुझाइ बिजय गच्छदारलाई बाहेक अरुलाई सायदै थाहा होला ।
एमालेले काँग्रेसको नेतृत्वमा सरकार बनाउन तयार रहेको सन्देश प्रवाह गरेमा प्रचण्डका सामू धर्मसंकट पैदा हुंनेछ । किनकी राष्ट्रिय सहमतिको सरकारका लागि आखिर उनैले सबैभन्दा बढी जोड दिंदै आएका छन् । उनले जसको नेतृत्वमा सहमति उसैको नेतृत्वमा सरकारपनि भनेकै थिए । देउवा त आफुलाई आएको कुनैपनि दाऊ फुत्कन दिने खेलाडी होइनन् । २०५१ सालमै उनले रामचन्द्र पौडेल, शैलचा आचार्यलाई जिल खुवांउदै संसदीय दलको नेता भएका थिए । नेताहरुले सहमतिका लागि भन्दै पौडेल र आचार्यलाई संसदीय दलको नेताको उम्मेदवारी फिर्ता गर्न लगाए । देउवाले फिर्ता लिइदिएनन् । राजाबाट बर्खास्तमा परेपनि फेरी थमौति भए । थमौति भएपछि उनले जवाफ फर्काएर्, गोरखाली राजाले न्याय दिए ।’ देउवाका लागि सत्ता प्राप्ति राजनीतिको सबैभन्दा ठूलो न्याय प्राप्ति हो ।
भारतपनि प्रचण्डको विपक्षमा भारत प्रचण्डको पक्षमा किन हुन्थ्यो र ? भारत दाहिने भइदिएको भए प्रचण्ड पहिलो संविधानसभामा दोहोराएर प्रधानमन्त्री भइहाल्थे । प्रचण्डलाई सात–सात पटक उम्मेदवार हुँदापनि मधेशी मोर्चाले मतदान गरेन । तर, उनकै पार्टीका बाबुराम भट्टराईलाई त्यसलगत्तै मोर्चाले समर्थन गरेको थियो । नाकावन्दी विरुद्ध भारतलाई खुलेर लल्कार्ने प्रचण्ड नै थिए । मनमा आएको कुरा भ्याट्टै बोल्ने प्रचण्डसँग भारत संशकित रहदै आएको छ । भारतलाई ओली सरकार ढाल्नु थियो, प्रचण्डको नेतृत्वमा सरकार बनाउनु थिएन । प्रचण्डलाई अघि नबढाइ ओली नढल्ने स्थितिमा मात्र प्रचण्डलाई फूलपाती चढाइएको थियो ।
प्रचण्ड मोहरामात्रै ! प्रचण्ड मोहरामात्रै बने भनेपनि नौलो हुनेछैन । राजनीति सरल हुंदो हो त उनले प्रधानमन्त्री बन्ने सोच्नपनि सक्दैनथे । सानो आकारको तेस्रो दलको नेता प्रधानमन्त्री कसरी बन्न सक्थे र ? तर, यहाँ जेपनि हुन सक्ने भएकाले उनी प्रधानमन्त्रीका लागि दाउपेचमा लागे । उनीमाथि अरुको दाउपेच छँदैछ । प्रचण्डलाई यो पटक खिस्याउन सके ओलीसँगै भारतको धोकोपनि एकसाथ पूरा हुनेछ । प्रचण्डलाई प्रधानमन्त्री नबनाइ सोझै प्रधानमन्त्री पाउने स्थितिमा काँग्रेस तयार नहुने कुरै भएन । यस्तो अवश्थामा प्रचण्ड मोहरामात्रै बन्ने देखिन्छ । राजनीतिको हावा कता फर्कन्छ, यसै भन्न सकिन्न । यत्ति भन्न सकिन्छः प्रचण्ड नै प्रधानमन्त्री भन्ने एकीन छैन ।
politics in prachanda prachanda pradhanmantri nahunu