राजनीति

माओवादी युवाले प्रचण्डलाई सामुन्नेमै र्याख – र्याख पारे, 'तपाई बोल्दैमा सिद्धान्त हुन्छ ?'

माओवादी युवाले प्रचण्डलाई सामुन्नेमै र्याख – र्याख पारे, 'तपाई बोल्दैमा सिद्धान्त हुन्छ ?'

माओवादी केन्द्रको युवा संगठन वाइसिएलमा उमेर हदको विवाद चुलिएको छ । रामबहादुर थापासँगै एकतामा आएका नेपबहादुर कुवरलाई अध्यक्ष बनाउन लागेपछि वाइसिएलको पदाधिकारी टिमले पार्टी अध्यक्ष प्रचण्डलाई आच्छु आच्छु पारेको छ । कुवरको उमेर ५० को हाराहारीमा रहेकाले वाइसिएलको अध्यक्ष बन्न नसक्ने अहिलेका संयोजक आरसी शर्मा, उपाध्यक्ष शिब फुयाल, महासचिव रामप्रसाद सापकोटालगायतका पदाधिकारीको मत छ ।

देशको राष्ट्रिय युवा नीति, पार्टीको अन्तरिम कार्यविधि र वाइसिएलको विधानमा १६ देखि ४० बर्ष उमेर समुहको व्यक्ति युवा हुने उल्लेख छ । एकता प्रक्रियालाई सहज बनाउन भन्दै कुवरलाई अध्यक्ष बनाउन थालेपछि माओवादी युवाहरुले प्रचण्डलाई 'तपाई बोल्दैमा सिद्धान्त नबन्ने' भन्दै र्याखर्याख पारेका हुन् ।प्रचण्डले कुवरको उमेरका बारेमा आफुलाई थाहा नभएकाले निर्णय गरिएको र अब पछाडि फर्कन गाह्रो रहेको भन्दै कुरा बुझिदिन वासिएल पदाधिकारी टिमसँग आग्रह गरेका थिए । लाजिम्पाटस्थित प्रचण्ड निवासमा भएको छलफल बिना निष्कर्ष सकिएपछि विवाद थप जटिल बनेको छ ।

इन्चार्ज मणि थापासँग वाइसिएल पदाधिकारीको भनाभन

पार्टी एकतापछि युवा फाँटको जिम्मेवारि लिएका मणि थापाले पार्टी निर्णय स्विकार गर्न भन्दै विहीबार वाइसिएल पदाधिकारीलाई दबाब दिए । उनले प्रचण्डसहितको बैठकले निर्णय गरेकाले वाइसिएल पदाधिकारीले विवाद गर्नुको अर्थ नरहने अभिव्यक्ति दिएपछि पदाधिकारी आगो भएको थियो । वाइसिएलका अध्यक्ष आरसी शर्माले नेपाल आजसँग कुरा गर्दै आफुहरु पद्धतिको पक्षमा रहेको र सिद्धान्तसँग सम्झौता गर्न नसकिने जनाए । उनले भने, 'छलफलबाट विषय हल हुन्छ । नेताले भनेको भन्दैमा नीति छोड्न सकिदैन ।'

माओवादीमा वाइसिएललाई सबैभन्दा शक्तिशाली संगठन मानिन्छ । यो संगठनलाई आफ्नो पक्षमा पार्न रामबहादुर थापा खेमाका कुलबहादुर केसीले जोडबल लगाइरहेका छन् । केसीकै दबाबमा थापा र प्रचण्डले नेपबहादुर कुवरलाई अध्यक्ष बनाउने सहमति गरेका थिए । कुवरलाई अध्यक्ष बनाउने निर्णय पार्टी केन्द्रले गरेपछि वाइसिएलको साविकको टिम असन्तुष्ट भएको छ । संगठनका उपाध्यक्ष शिब फुयाल भन्छन्, 'नेता नीतिको आधारमा बन्ने हो । नीति मिचेर नेता बन्न र बनाउन सकिदैन । उमेर अझ घटाएर वाइसिएललाई अझ बढी युवामैत्री बनाउनुपर्ने ठाऊमा उमेर बढाउने कुरा स्विकार्न सकिदैन ।'

विहीबारको बैठकमा थापाको निर्देशनात्मक अभिव्यक्तिका कारण असन्तुष्ट वाइसिएलले थापाको इन्चार्जसिपमाथि प्रश्न उठाउन थालेका छन् । उनीहरुले एकता प्रक्रियाका नाममा मनपरी स्विकार्न नसकिने सन्देश लाजिम्पाट पठाइसकेका छन् । एकताका नाममा आत्मकेन्द्रीत अवसरबाद र सांगठनिक अराजकतालाई प्रश्रय नदिन युवाहरुले प्रचण्डलाई सिधा सिधा सन्देश दिएको बताइएको छ । वाइसिएल इन्चार्ज मणि थापासँग यसबारेमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

Prachanda YCL Young Comunist Leauge

विशेष