माओवादी केन्द्रले आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने

साउन - ७ । नेकपा (माओवादी) केन्द्रले व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्णयार्थ पेस हुने बजेटसम्बन्धी आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । पार्टी सरकारबाट बाहिरिइसकेकाले सरकारले पेस गरेका आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । संसद् बैठक अहिले ४ः३० बजे बस्दैछ । प्रमुख दलहरुबीच लामो छलफलपछि संसद्मा आर्थिक विधेयक कि अविश्वासको प्रस्ताव कुन पहिला छलफल गर्ने भन्ने विवाद मिलेको छ । दलहरुबीच पहिले आर्थिक विधेयकको टुङ्गो लगाउने र आजै अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्रलगायत दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत असार २९ गते संसद्मा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । यसअघि दलहरुबीच संसद् कार्यसूचीको प्राथमिकताका सम्बन्धमा सहमति नहुँदा संसद् बैठक पटक पटक स्थगित भएको थियो । रासस