नाकाबन्दी ओली सरकारले होइन, जनताले खुलाएका हुन् : रामशरण महत
साउन ९ — नेपाली काँग्रेसका प्रभावशाली नेता डा रामशरण महतले नयाँ संविधान जारी भएसँगै भारत सरकारले नेपालमाथि लगाएको नाकाबन्दी केपी ओली नेतृत्वको सरकारले नभई जनताले खुलाएको दाबी गरेका छन् ।
प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि आइतवार संसदमा बोल्दै नेता महतले सरकारको कूटनीतिक सफलताका कारण नभई देशभित्र भारतसँगको सम्बन्ध बिग्रन थालेका कारण नाकाबन्दी खुलेको बताएका हुन् । ‘नाकाबन्दी सरकारले खुलाएको होइन, जनताले खुलाएका हुन्, जनतामा विद्रोह हुनथाल्यो, नेपालमा भारतविरोधी जनमत बढेका कारण भारतीयहरूले नाकाबन्दी खेलेका हुन्,’ महतले भने ।
नेपालको प्रमुख नाका वीरगञ्जको ठाउँ भैरहवाले लिन थालेका कारण पनि नाकाबन्दी खोल्न दबाब परेको उनले दाबी गरे । महतले ओली सरकारले कूटनीतिक सम्बन्धलाई हलुका बनाएको जिकिर गरे । ‘कूटनीति यति सस्तो भयो, भारतलाई पाठ सिकायौं भनेर अभिव्यक्ति आए, यति सस्ता अभिव्यक्ति जनताले गर्न सक्छन्, अखबारले गर्न सक्लान् तर नेताले गर्न सक्दैनन् ।’ महतले चीनसँग पारवहन सन्धि गर्नु तत्कालीन परिस्थितीको उपज भएको दाबी गरे ।
‘त्यो परिस्थितिमा कुनै पनि सरकार चीनसँग सम्झौता गर्न बाध्य हुन्थ्यो,’ उनले भने, ‘यही सरकारले ग—यो भन्ने कुरा मान्न म तयार छैन ।’ वर्तमान सरकारभन्दा पूर्ववर्ती सरकारले कूटनीतिक परिपक्वता देखाएको महतले दाबी गरे । ‘लिपुलेकको कुरा आएपछि सुशील कोइरालाको आग्रहमा मैले दिल्ली गएर कुरा गरें,’ महतले भने, ‘प्रम कोइरालाले मोदीसँग कुरा गर्नुभयो, तर वर्तमान सरकारले गरेको थाहा छैन ।’