भीमार्जुनजी, जनतालाई आतंकित बनाउने गरी संविधानको व्याख्या गर्न बन्द गर्नुहोस् !
वकिलका बारेमा धेरै भन्नु छैन । किशोरी बलात्कृत हो भन्ने बुझ्दा बुझ्दै पीडक निर्दोष हो भन्न सक्ने मान्छे दुनियाँमा कोही छ भने त्यो वकिल हो । वकिललाई आफ्नो क्लाइन्ट निर्दोष कि दोषी भन्ने थाहा हुन्छ । तर, दोषीलाई निर्दोष करार गर्न उ दौडधुप गर्छ, लेखपढ गर्छ र वकालत गर्छ । किनकी उसलाई पैसारुपी इन्धन हालिएको हुन्छ । १०० को माललाई २०० मा बेच्ने व्यापारी ठगको रुपमा पक्राउ गरिन्छ भने बलत्कारीलाई उन्मुक्ति दिन हिड्नेलाई के गर्ने ?
पेशा धर्म हो तर दोषीलाई निर्दोष करार गर्नु पक्कै अधर्म हो । निर्दोषलाई दोषी बन्नबाट जोगाउनु र न्याय दिलाउनु वकिलको पहिलो काम र अन्तिम ध्येय हुनुपर्ने हो । तर, यहां दाम आएपछि जस्तोपनि काम गर्ने र त्यसैलाई आफ्नो धर्म परिभाषित गर्ने कालोकोटधारीको जमात छ । त्यो भीडमा मैले तपाईलाई पृथक व्यक्तिका रुपमा लिएको छु । र, केही जिज्ञाशा राख्दैछु ।
१) तपाईको चर्चा संविधानसभाको निर्वाचनको सन्दर्भसँगै व्यापकरुपमा भयो । सेलिब्रेटी वकिल तपाईलाई संविधानसभाले बनायो । तर, तपाईले नेपालमा संविधानसभाले संविधान बनाउनै सक्दैन, लेखेर राख्नोस भनेर सबैजसो अन्तरवार्तामा भन्नुभएको यही कानले सुनेको हो । तपाईले त्यसो भन्दाभन्दैपनि संविधान जारी भएको यही आँखाले देख्यो ।
२) संविधान जारी भएपछि तपाईले भाषामा परिवर्तन गर्नुभयो तर आतंकित पार्ने अभिव्यक्ति दिन छाड्नु भएन । भन्नुभयोः यो संविधान लागू हुनै सक्दैन । तर, संविधानले काम गरिरहेकै छ ।
जहाँसम्म संविधान लागू गर्ने विषय छ त्यो हठात् हुँदैन । दक्षिण अफ्रिकामा एउटा पक्षले संविधानसभा बहिष्कार गरेको थियो । भारतको दक्षिणी राज्यले १० बर्षसम्म संविधानको स्वामित्व लिएको थिएन । अन्यत्रपनि यस्तो हुन्छ । नेपालमा पनि संसद बहिष्कार गरेकाहरु फर्केका छन् । एकाध विषयको विवाद टुंगिए संविधान सबै पक्षले शिरोधार्य गर्ने अवश्था छ । सहजीकरण गर्नुको साटो तपाई लागू हुनै सक्दैन भनेर भन्नुहुन्छ ।
३) सबैभन्दा आतंकित पार्ने शैलीमा तपाईले पछिल्लो समय अभिव्यक्ति दिनुभयो । संविधानले नयाँ प्रधानमन्त्रीको निर्वाचन गर्ने बाटो कहाँ देखाएको छ भन्दै तपाई पत्रकारहरुलाई प्रतिप्रश्न गर्नुहुन्थ्यो । नेपालका अधिकांश पत्रकारले संविधान सायदै पढेका छन् । त्यसमाथि उनीहरु कानून पढेका पनि हुंदैनन् । यसैको फाइदा उठाएर तपाई अन्र्तवार्ताकारलाई चुप बनाउनुहुन्थ्यो । घरमा टिभी हेरेर बस्ने मजस्ता अवाँक पथ्र्यौं ।
साच्चै बाटो छैन । अब के होला ? फेरी देश द्वन्द्वउन्मुख हुंने भयो भनेर चिन्ता लाग्थ्यो । अर्को मनले भन्थ्यो । संसदीय व्यवस्थामा संसदमा बहुमत हुुने व्यक्ति प्रधानमन्त्री हुंने कुरा त सामान्य हो । यो त संविधानको सार्वभौम पक्ष हो । फेरि मन फेरिन्थ्यो, संविधानविद् भीमार्जुन आचार्यले नै संविधान संशोधन नगरेसम्म ओलीलाई कुनै माइकालालले हटाउन सक्दैन भनेपछि त विश्वास गर्नैपर्यो ।
४) ओलीले महानता देखाए । संविधानको अर्थ न बर्थको व्याख्या उनले ग्रहण गरेनन्। बहुमत गुमिसकेपछि पनि बहुलठ्ठी बन्न चाहेनन् । तपाईको तर्कलाई आधार मानेको भए उनी अजम्बरी प्रधानमन्त्री बन्न सक्थे । संविधान संशोधन गर्न दुई तिहाइ चाहिन्थ्यो । ओली र उनका समर्थकको मत नलिइ संविधान संशोधन हुन सक्दैनथ्यो । ओलीले चलाखीपूर्वक बाधाअड्काउ फुकाउको धारा सिफारिश गरे । पछि देउवाले बाधाअड्काउ फुकाउ आवश्यक नै नरहेको जनाए । संसदबाट निर्वाचित भएको प्रधानमन्त्री संसद चालू रहेको अवस्थामा र बहुमत गुमिसकेको सन्दर्भमा स्वतः पदमुक्त हुने स्वंयसिद्ध तथ्यलाई तपाईको व्याख्याले के के न हो जस्तो बनाएको थियो । सहजै निस्कने रहेछ परिणाम । तपाईलाई विश्वास गर्ने ठूलो पंक्तिलाई टेन्सन दिने काम तपाईबाट भएको छ ।
५) तपाई संविधानको ज्ञाता हो । तर, संविधानको व्याख्या गर्दा तपाईले संक्रमणकालिन व्यवस्थाको २ पेजमात्रै पढेर गरेजस्तो देखियो । बाधा अड्काउ फुकाउने व्यश्थापनि रहेछ । त्यो किन भन्नुभएन ? बाधा अड्काउ फुकाउ गर्न संक्रमणकालमा मिल्दैन भने अदालत जानुहुन्छ ? सायद जानुहुन्न । प्रधानमन्त्री निर्वाचन नहुंंने व्यवस्था थियो भने संविधानको मस्यौदामाथिको छलफलकै बेला किन जानकारी दिनुभएन । तपाईलगायतका विज्ञसँग त छलफल गरेकै थियो संविधानसभाले ।
६) प्रधानन्यायाधीश खीलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने निर्णय बलजफ्ती भएको थियो । दलले संविधानमाथि कैंची चलाएका थिए । योसम्म त ठीकै हो । तर, देशलाई अस्थिरतामा लैजाने, तानाशाह खडा गर्ने, विदेशीको के के जाति गर्ने लगायतका अनेकथरी टिप्पणी तपाईहरुबाट आयो । निर्वाचन परिणाम आएसँगै प्रक्रियामा पूरै खोट देख्नेहरुको मुहारमा चमक देखियो । बलत्कारबाट जन्मिएपनि बच्चाको बैधानिकता हुन्छ भन्ने सुन्दर तर्क गरियो । जबकी पहिले भनिएको थियोः अवैधरुपमा भएको निर्वाचनले कसरी बैध संविधानसभा गठन गर्न सक्छ ? अनि, अवैध संविधानसभाले कसरि वैध संविधान दिन सक्छ ?
७) कुरा २०६६ सालको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेनापति रुक्माङ्गत कटवाललाई बर्खास्त गरेका थिए । मध्यरातमा राष्ट्रपति डाक्टर रामबरण यादवले थमौति गरे । भोलिपल्ट बिहान (संभवत कान्तिपूर हेडलाइनर्समा) तपाईको अन्तरवार्ता आइरहेको थियो । तपाईले राष्ट्रपतिद्वारा राजनीतिक निर्णय लिइएको र संविधानको सीमा मिचिएको उत्तर दिनुभएको थियो । दिउंसो तपाईलगायतका संविधानविद्सँग राष्ट्रपतिको छलफल भयो शितलनिवासमा । तपाईको अभिव्यक्तिमा बदलाव आयो । संविधानको संरक्षकका हैसियतमा आवश्यकताको सिद्धान्तअनुसार राष्ट्रपतिले कदम चालेको भन्ने तपाईको प्रष्टिकरण सुनियो । संविधानविद्को संविधानको व्याख्या शितल निवास प्रवेश गरेसँगै कसरि फेरियो ?
संविधान सबै जनताको हातमा पुग्दैन । पुगेपनि यसको व्याख्या गर्ने सामाथ्र्य हामीमा हुँदैन । हामी तपाईहरुको व्याख्या सुन्छौं । आङ नै जिरिङ्ग पार्ने गरी तपाईहरु व्याख्या गर्नुहुन्छ । तर, तपाईहरुको व्याख्या परिणाममा तौलेर हेर्दा पहाड खनेर निकालिएको मुसो जस्तो लाग्छ । बेकारमा तनाव लिइएको भन्ने लाग्छ । त्यसैले भीमार्जुनजी आतंकित नबनाइदिनोस् । अरु त जति चर्को स्वरले बोलेपनि यो कानले सुन्दैन । तपाईप्रतिको भरोसा नटुटोस् भन्ने कामना छ ।
प्रस्तुतिः बिनोद शर्मा
Bhimarjun Acharya