‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख नदेउ’ – ओली
साउन - १४ । मदन भण्डारी फाउन्डेसनले शुक्रबार आयोजना गरेको ‘परिवर्तित सन्दर्भमा नेपाल र भारत तथा चीनसँगको सम्बन्ध’ विषयक विचारगोष्ठीको उद्घाटन गर्दै विभिन्न वहानामा भारतले नेपालमाथि हस्तक्षेप सह्य नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले भने, ‘नेपाल कस्तो धर्म चाहन्छ भन्ने यहाँका जनताले निर्णय गर्ने हो । कुनै मुलुकलाई के मन पर्छ भन्ने आधारमा तय गर्ने विषय होइन । हाम्रा मामिलामा अरुको हस्तक्षेप थोपर्ने काम स्वीकार्य छैन ।’
प्रधानमन्त्री ओलीले मित्रराष्ट्रलाई मित्रकै हैसियतमा रहन आग्रह गर्दै भने, ‘छिमेकीले रातदिन छौँडा खेलाएर दुःख दिनु बेठीक कुरा हो ।’
संविधान बन्न नदिने र त्यसपछि सरकार बन्न नदिने पक्षले आफ्नो सरकारलाई करेली र लगाम लगाएर ठेगान लगाउन खोज्ने तथा कहिलेकाहीँ काँधमाथि चढ्न खोजेर नेपालीको स्वाभीमानमा हस्तक्षेप गर्न खोजेको आरोप लगाए ।
उनले ‘कागका गुँडमा कोइलीले खुसुक्क अन्डा हालेर बच्चा कोरलेजस्तो’ स्थिति नेपाली राजनीतिमा देखिएको भन्दै यस्तो अवस्थामा यहाँ कसैले आफ्नो पुनःरोदय भयो भनेर दसैँमा आँगनमा निस्केर केटाकेटी नाँचेजस्तो गर्नु आवश्यक नभएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालीको नयाँ सरकार सचेत जनताको निगरानीमा रहने जनाउँदै भने, ’त्यो सरकार पनि नेपालभित्र चल्ने हो, बाहिर चल्ने होइन ।’
नेपाली कांग्रेसका नेत्री सुजाता कोइरालाले वर्तमान ओली नेतृत्वको सरकार ढाल्नुपर्ने पक्षमा आफ्नो पार्टीका कार्यकर्ता नरहे पनि शक्तिका खेलाडीले सरकार परिवर्तन गर्न लागेको टिप्पणी गरिन् ।
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालका भारत र चीन दुवै छिमेकीबीच सन्तुलित सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताए ।
मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का नेता जितेन्द्र देवले राष्ट्रियताको परिभाषा सबैका लागि एउटै हुने टिप्पणी गरे ।
KP Sharma Oli