राजनीति

संविधान कार्यान्वयनका लागि एमाले आवश्यक छ – नेता गगन थापा

संविधान कार्यान्वयनका लागि एमाले आवश्यक छ – नेता गगन थापा
Gagan_Thapa_performing_speech_in_Sydney साउन  - १५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संविधान कार्यान्वयनका लागि नेकपा(एमाले)लाई पनि साथमा लिएर अगाडि बढ्नुपर्ने बताए । खरिपाटीमा नेपाली काँग्रेस नगरकोट नगरसमितिले आयोजना गरेको ‘संविधान कार्यान्वयन र नेपाली काँग्रेसको भूमिका’ विषयको अन्तक्र्रिया कार्यक्रममा सांसद थापाले संविधान कार्यान्वयनका लागि एमालेसँगको सहकार्य आवश्यक रहेकाे स्पष्ट पारे । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग गरेको विभिन्न सम्झौता अब बन्ने सरकारले कार्यान्वयन गर्ने उनले बताए । नेपालले भारत र चीनसँग बराबरको सम्बन्ध राख्नुपर्ने बताउँदै उनले भने – “नेपालले दुवै देशको हस्तक्षेप सहँदैन, नेपाल चीन र भारतको राजनीतिसँग खेल्दैन, नेपालको राजनीतिसँग पनि खेल्न दिदैनाैँ ।” उनले आगामी चैत अन्तिममा स्थानीय निर्वाचन र जेठमा प्रान्तको निर्वाचन हुनुपर्नेमा जोड दिँदै जेठमा प्रान्तको निर्वाचन हुन नसके एकै पटक प्रान्त र केन्द्रको निर्वाचन गर्न सकिने बताए । कार्यक्रममा काँग्रेसका केन्दीय सदस्य एवम् नेपाल महिला सङ्घका केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौलाले विपक्षी दल, साना दल र मधेसकेन्द्रित दललाई आफूसँगै ल्याएर काँग्रेस अगाडि बढ्नुपर्ने बताए । सांसद रामेश्वर ढुङ्गेलले जबसम्म स्थानीय निकायको निर्वाचन हुँदैन, तबसम्म संविधान कार्यान्वयन हुन नसक्ने भनाइ छ । कार्यक्रममा काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेसका पूर्वजिल्ला अध्यक्ष गणेश चक्रधर, काँग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन खत्री, र काँग्रेस नगरकोट नगर समितिका सभापति यादव अधिकारीले भक्तपुरलाई एउटै उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिए ।

Gagan Thapa

विशेष