रामहरिको ज्यान लिने माओवादी, लाशमाथि राजनीति गर्ने एमालेः पीडित रमिलाको पीडा सुन्ने कसले ? (भिडीयो सहित)
रमलिा र रामहरिको प्रेम
रामेछापका रामहरि श्रेष्ठ काठमाडौंमा संर्घष गर्दै थिए । न्यूरोडका पसलको रात्रिकालिन सुरक्षाको जिम्मा लिएका उनी हट्टाकट्टा खाइलाग्दा थिए । बसन्तपुरकी रैथाने रमिला मानन्धर न्यूरोडतिर टहलिन निस्कन्थिन् । यस्तैमा रामहरि र रमिलाको भेट भयो । ०५२ सालमा उनीहरुको प्रेम उत्कर्षमा पुग्यो । उनीहरुका बीचमा प्रेम विवाह भयो । ठीक त्यहीबेला माओवादीले सशस्त्र संर्घष थालेको थियो । श्रेष्ठ परिवारलाई माओवादी युद्धसँग प्रत्यक्ष लिनुदिनु केही थिएन । व्यापार व्यवसायमा लागेका रमिला र रामहरिले राम्रै आन्दानी गरिरहेका थिए । उनीहरुले कोटेश्वरमा जेनतेन एउटा घर पनि बनाइसकेका थिए । एक छोरा र एक छोरीका आमाबुबा भइसकेका उनीहरुको सानो परिवारमा खुशी सबैभन्दा ठूलो धन थियो । प्रचण्डसँगको नाटकीय भेट युद्ध थालेको १० बर्षमा माओवादी शान्ति प्रक्रियामा आयो । यो बीचमा देशको राजनीतिमा धेरै उथलपुथल भइसकेको थियो । युद्ध प्रत्यक्ष नभोगे पनि युद्धको बित्यासले श्रेष्ठ परिवारलाई पनि पिरोलेको थियो । शान्ति छाँउने र देशले कोल्टे उनीहरुको अपेक्षा थियो । उनीहरुको घर भर्खरमात्र सकिएको थियो । केही मान्छे म्यानपावर कम्पनीका लागि फ्ल्याट चाहिएको भन्दै आए । उनीहरुको घर भनेजति नै पैसामा भाडामा लाग्यो । बुझ्दै जाँदा भाडामा बस्ने म्यानपावर कम्पनिका रहेनछन्, माओवादी रहेछन् । माओवादीका बारेमा सुनेको तर संगत नगरेको श्रेष्ठ परिवार छाँगाबाट खसेजस्तै भयो । श्रेष्ठ परिवारका आफन्तले सुझाए, ‘शान्ति प्रक्रिया शुरु भयो । अब केही हुँदैन ।’ रामहरि फाष्टफुड व्यवसायमा व्यस्त थिए । एक दिन भाडामा बस्नेले भने, ‘२०/२५ जनालाई खानाको व्यवस्था गरिदिनु, हाम्रो पाहुना आउँदै हुनुहुन्छ ।’ रामहरिले फाष्टफुडबाट स्टाफ बोलाए । परिवारका सदस्यलाई खटाए । आफैं पनि खटिए । आफ्नो व्यवसाय त्यसमाथि आफ्नै घरमा खाना खुवाउंने भनेपछि उनले सकेसम्म मिठो बनाउने प्रयत्न गरे । खाना पाकी सक्दा नसक्दै उनको घरमा एक हुल हुत्तिदै आइपुग्यो । उनले कहिल्यै नसोचेका व्यक्तिहरु उनको घरमा खाना खान आएका थिए । बिद्रोही नेताहरु प्रचण्ड, बाबुराम, बादल आफ्नै आँखा अगाडि देख्दा उनी झसङ्ग भए । केही तिलमिलाएका उनी एकै छिनमा फुरुङ्ग भए । प्रचण्डको मुस्कानले उनलाई छोयो। एक पोज फोटो पनि सँगै खिचे । त्यसपछि रामहरिको परिवारमा माओवादीलाई हेर्ने दृष्टिकोण फेरियो । नेताहरु पनि सरलै रहेछन् भन्ने लाग्यो । त्यसपछि उनी आफ्नो घरमा बस्दै आएका म्यानपावर भेषधारी माओवादीसँग बोलचाल गर्न थाले । हल्काफुल्का संगत पनि भयो । माओवादी ०६४ सालको संविधान सभामा ठूलो पार्टी बन्यो । उसैको नेतृत्वमा सरकार बन्ने तयारी भइरहेको थियो । माओवादीहरुको दौडधुप चर्को थियो । उनको घरमा नयाँनयाँ मान्छे आइरहन्थे । उनी रमितेजस्तै बनेका थिए । रामहरिको हत्या ०६५ साल बैशाख १५ गते रातको २ बजे रामहरिको ढोका ढकढक गरियो । माओवादीका गोविन्दबहादुर बटाला आएका रहेछन् । उनीसँग केही व्यक्ति पनि थिए । केही सोध्न छ भन्दै रामहरिलाई लग्न खोजे । रमिलाले रोक्न खोजिन् । सामान्य कुरा हो, कसैलाई केही नभन्नुहोला भन्दै रामहरिलाई लगियो । चिनेजानेकै मान्छेले लगेकाले रमिलाले शुरुमा केही पर्यो होला भन्ठानिन् । एक दिन बित्यो, दुई दिन बित्यो .....विस्तारै रमिलाको मनको ज्वाराभाटा बढ्दै गयो । दशौं दिनका दिन रमिलाले रामहरिसँग कुरा गर्न पाइन् फोनमा । रामहरिको आवाज कांपिरहेको थियो । शुरुमा त उनले सामान्य रुँघाखोकी हो भनेर टार्दै थिए । रामहरिको धड्कन बुझ्न सक्ने रमिलाले के भएको हो भन्नोस् भनेपछि उताबाट जवाफ आयो, ‘......फसाउन खोजेका छन् ।’ फोन काटियो । रमिलाको मुटु रोपेजस्तो भयो । बाहिर हल्ला गरे श्रीमान्लाई सिद्धाइदिने उनीहरुले धम्की दिएकाले उनी सहन बाध्य थिइन् । श्रीमान्को अवस्था बुझेपछि उनी हारगुहार गर्न थालेकी थिइन् । प्रचण्डलाई भेटेपछि उनी केही विश्वस्त भएकी थिइन् । सुप्रिम कमाण्डर प्रचण्डले पूरा विश्वासका साथ भनेका थिए, ‘रामहरिजीलाई भरे वा भोलिसम्म पार्टीका मान्छेले घरमै ल्याइदिन्छन् । आत्तिनुपर्दैन । मैले भनिसकेको छु ।’ भोलिपल्ट रामहरि आइपुगेनन् । बरु प्रचण्ड बिदेश हानिए । प्रचण्ड फर्केर आउंदा स्थिति अर्कै भइसकेको थियो । रामहरिको हत्या गरी गाडिइसकेको रहेछ । पछि गाडेको ठाऊँबाट निकालेर बोरामा हालेर त्रिशुली नदी नजिक फ्याँकिएको रहेछ । दर्दनाक दृश्य एकपछि अर्को गर्दै खुल्दै गएका थिए । रमिला अचेत बनिन् । भर्खर ३१ लागेकी रमिलाले ३५ बर्षका लक्काजवान श्रीमान् गुमाएकी थिइन् । बाल्यकालका छोराछोरी टुहुरा भएका थिए । असाह्य रमिलालाई आफन्तले सान्त्वना दिए । रामेछाप पुख्र्यौली भएका श्रेष्ठहरुको कोटेश्वरमा आफ्नै वस्ती थियो । उनीहरुले हत्याको विरोधमा आन्दोलन गर्ने निधो गरे । माओवादीको जग्जगी भएको बेलामा रमिला कफन बाँधेर सडकमा निस्किइन् । सायदै कसैले कल्पना गर्न सक्छ यस्तो क्षण ! रमिलाकी दिदी बिमला अविवाहित थिइन् । युवा संघमा सक्रिय उनले आफ्ना साथीभाइ पनि लिएर आइन् । उनीहरु पनि थपिएपछि आन्दोलन सशक्त बन्दै गयो । रामहरिको हत्या: एमाले र माओवादीको दोहोरो राजनीति बिमलाकी बहिनीको घरमा बज्रपात परेका कारणले एमालेले विशेष चाँसो देखायो । काँग्रेसका नेता कार्यकर्ता पनि साथ दिए । आन्दोलन चर्कदै जादा महेश बस्नेतको आक्रामक प्रस्तुति समाचारका खुराक बन्न थाले । माओवादीमाथि रमिलाको अदम्य साहसका कारण दवाव चर्को पर्यो । खुला राजनीतिमा आएपछि प्रचण्डका लागि पहिलो पटक अन्तराष्ट्रिय दवाव परेको थियो । प्रधानमन्त्री हुन तम्तयार भएका प्रचण्डको सिंहदरबार प्रवेश कठीन बन्दै गयो । प्रचण्डसँग अनेक चरणमा बार्ता भए । प्रचण्डले रमिलाप्रति बेग्लै सहानुभुति देखाए । पार्टीभित्रका कुहिएका आलुका कारण आफ्नो शीर निहुंरिएको उनको प्रष्टिकरण थियो । अन्ततः प्रचण्ड लिखित सहमति गर्न राजि भए । क्षतिपूर्ति दिने र दोषिलाई कारवाही गर्ने उनको लिखित प्रतिबद्धता थियो । एमालेका तत्कालिन अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी उनको घरमा पुगे । छिमेकी माधव नेपाल जाने भइहाले । केपी ओलीले रामहरि परिवारको पक्षमा प्रचण्डको उछितो काँडिरहेका थिए । रामहरिलाई सहिद घोषणा गर्ने, राज्यका तर्फबाट उनका सन्तानलाई उच्च शिक्षा दिने, रामहरिको नाममा प्रतिष्ठान बनाउने लगायतका कुरा भए । राजनीतिमा रमिला राजनीतितर्फ रुची नभएकी रमिला विस्तारै राजनीतिमा लागिन् । एमालेमा सक्रिय भइन् । एमालेको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भए । गृहमन्त्री एमालेले पायो । तर, रामहरिलाई मार्ने केशब अधिकारी रघु र गगांराम थापा एटम पक्राउ परेनन् । गोबिन्दबहादुर बटालालाई पनि मतियार मात्र बनाइयो । रमिला दिनहुँ जसो नेताकोमा जान्थिन् । उनीहरुले पक्राउ गर्नै लागिएको जवाफ फर्काउंथे । तर, पक्राउ गरिएन । माधव नेपाल नेतृत्वको सरकार बन्यो । रमिला गृहमन्त्री भीम रावललाई भेट्न गइन् । उनले क्षतिपूर्ती वापत डेडदुई लाख दिन सक्ने उत्तर दिए । उनी लाखका लागि धाएकी थिइनन्, न्यायका लागि भौतारिएकी थिइन् । निराश हुँदै घर फर्किन् । एमालेलेको राजनीतिमा पुनरागमन रामहरि हत्याकाण्डको विषयलाई लिएर भएको थियो । प्रचण्ड लिखित सम्झौता गरेकै थिए, दोषिलाई प्रहरीको जिम्मा लगाइनेछ । तर, न एमाले रामहरिको विषयमा बोल्न तयार देखियो । नत प्रचण्डले दोषिलाई प्रहरीसमक्ष बुझाए । रमिलाले शब नबुझे सिंहदरबार प्रवेश अनिश्चित देखेका प्रचण्डले लिखित सम्झौता गरेर रमिलालाई झुक्काएका थिए । रमिलाले सडक बसाइ नलम्ब्याए आफूहरुको राजनीति पुनरागमन नहुंने एमालेले बुझेका थिए । उनले ढिलागरी बुझिन्ः उनको आँशुमाथि राजनीति भइरहेको रहेछ । तीन बर्षपछि गोविन्दबहादुर बटालालाई मतियार प्रमाणित गरियो । र, छुटाइयो । रमिलाले अन्याय भएको भन्दै सर्वोच्वमा निवेदन दिइन् । सुशीला कार्की र ताहिर अली अन्सारीको संयुक्त इजलाशले रमिला पक्षधरका वकिलको वहश नै सुनेनन् । बटालाको रिहाइ नाटकीयरुपमा सदर गरिएको रमिलाको बुझाइ छ । रमिलाले न्यायाधीश सुशीला कार्कीसँग अनुनय गरिन् । महिलाले महिलाको आँशुको अर्थ बुझ्ने उनको अपेक्षा पनि फिका भयो । हाल प्रधान्यायाधीश रहेकी कार्कीकै इजलाशले आफ्नो बयान नसुनेको हो भन्ने विश्वास गर्न उनलाई गाह्रो भइरहेको छ । महेश बस्नेतको उदय महेश बस्नेतको राजनीतिक उदय रामहरि हत्याकाण्ड पछि भयो । बस्नेतले रामहरि हत्याकाण्डपछि आफूले आन्दोलन छेडेका दाबी गर्दै आएका छन् । सो घटनाको ५ बर्षपछि बस्नेत आफैं मन्त्री भए । रमिलालाई लाग्योः महेशले कुरा उठाउलान् । तर, रामहरि प्रकरण बस्नेतले पूरै बिर्सिसकेका थिए । रमिला महेश बस्नेतकै जोडबलमा राजनीतिमा लागेकी थिइन् । सोकमा पनि सडकमा आएर उनले दुनियाँलाई भिन्दै पाठ सिकाएकी थिइन् । रमिलाको सोकले बस्नेतको राजनीतिमा उभार ल्याइदिएको थियो । बस्नेतले पटकपटक आग्रह गरेपछि रमिला राजनीतिमा लागिन् । उनी निर्वाचित केन्द्रीय सदस्य थिइन् । उनीजस्तै अरु निर्वाचितलाई तल पार्ने गरी महेश बस्नेतले सचिवालय गठन गरे । रमिला रमिते बनेर बस्ने स्वभावकी थिइनन् । उनले बिराटनगरको बैठक बहिष्कार गरिदिइन् । त्यो घटनाभन्दा पहिले देखिनै बस्नेतले रामहरिको चर्चा गर्न छाडिसकेका थिए । त्यसपछि बस्नेत झनै टाढिए । महेश बस्नेत मन्त्री भएकै बेलामा लेखक बनेर निस्किए । उनको किताब म महेश बजारमा आयो । भव्यरुपमा सार्वजनिक भयो । धरैले भने कितावको मुख्य सन्दर्भ नै रामहरि हत्याकाण्डका बारेमा छ । तर, दुनियाँभरका मान्छे आमन्त्रित गरिदाँ किताबकी मुख्यपात्र रमिला बेखबर थिइन् । धेरैले ठानेका थिए रमिला नै मुख्य बक्ता र अतिथि बनाइनेछिन् । किताबका बारेमा अनेक चर्चा चले । रमिलालाई महेशले यस्तो लेखेको छ उस्तो लेखेको छ भनेर सुनाउन थाले । रमिला आफैंले किताब किनेर पढिन् । महेशको कितावमा रमिलाको आपत्ति महेश बस्नेतप्रतिको सम्मानमा उनले कमी हुन दिएकी थिइनन् । शोकको घडीमा साथ दिएको व्यक्तिका रुपमा उनी सम्मान गर्थिन् । किताब पढ्दै जाँदा उनलाई कताकता खल्लो लाग्यो । महेश बस्नेतले आफूलाई नायक बनाउनका लागि कैयौं घटनाक्रम तोडमोड गरेका थिए । रमिलालाई आन्दोलनमा पुतलीजस्तो बनाइएको अर्थ लाग्ने गरी उनले तथ्यहरु बग्याएका थिए । रमिलालाई लाग्यो, किताबको भण्डाफोर गरौं । तर, उनको मनले मानेन । कतिले उनलाई सोधे, उनले मेरो प्रतिक्रिया नछाप्नुहोला भन्दै विषयलाई प्रकाश पार्दै गरिन् । नेपालआजसँगको कुराकानीमा रमिलाले भनिन्ः १. किताबमा उल्लेख गरिएजस्तो महेश बस्नेतले आन्दोलन शुरु गरेका होइनन् । हामीले शुरु गरिसकेको आन्दोलनमा उनी आएका हुन् । युवा संघ आएपछि आन्दोलन फराकिलो भएको हो । ज्ञानबहादुर दाइ, दामोदर अर्यालहरुको भुमिका उत्तिकै महत्वपूर्ण छ । मेरो दिदी आफैं पनि नेता हुनुहुन्थ्यो । महेशजीको भुमिका अवश्य छ । तर, कितावमा भनेजस्तो होइन । २. प्रचण्डसँग महेशजीले वार्ता गरेको कुरा झूटो हो । प्रचण्डजीसँग वार्ता गर्दा उहाँलाई मैले देखिन । ३. महेशजीले मलाई के बोल्ने भनेर सिकाएको भन्ने कुरा गलत हो । श्रीमान् मर्दाको पीडा भन्न कसैले सिकाइरहनुपर्छ र ? रुन पनि कसैले भन्नुपर्छ र ? व्यथा कसैले भन्दैमा पोखिन्छ र ? यो सत्य होइन । कार्यक्रमलाई राजनीतिक तवरले व्यवस्थित गर्न उहांको भुमिका छ तर उहांले भनेजस्तै म प्रस्तुत भएको भन्नु मेरो पीडामाथिको अवमूल्यन हो । ४. मेरो पीडाबाट कसैको राजनीतिक उदय भयो । यसबारे मलाई भन्नु केही छैन । प्रचण्डलाई प्रधानमन्त्री बन्ने बाटो मैले शव बुझेर तयार भयो । मेरो श्रीमान्को हत्याले कसैलाई मन्त्री बन्ने आधार बनायो । हामीले के पायौं ? छोराछोरी पढाउने व्यवस्था मिलाउने भनेको के भयो ? प्रतिष्ठान बनाउने भनेको के भयो ? दोषी पक्राउ गर्ने कुरा कहाँ हरायो ? यो कुरा सम्झदा ममाथि दोहोरो अन्याय भएजस्तो लाग्छ । मेरो आँशु र कसैको राजनीति साटिएको छ । रमिलाले आफूलाई दह्रो बनाउँदै अघि बढाइन् । अहिले छोराछोरी बुझ्ने भइसके । श्रीमान्ले शुरु गरेको फाष्टफुडले जीवन चलिरहेको छ । उनलाई दिन उमेरमै कोही विधवा भएको देखे मुटु चुंडिएर आउँछ । कसैको दुर्घटनामा परेर मरेको वा कोही मारिएको समचार हेर्दा र पढ्दा पनि आँशु छुट्छ । भन्छिन्, ‘कसैको मृत्यु नै हुनुछ भने पनि स्याहार गर्न पाइयोस् । ताकि चित्त बुझाउने बाटो होस् ।’ प्रचण्डलाई सिंहदरबारमा देख्दा प्रचण्डलाई फेरी प्रधानमन्त्री हुंदैछन् । उनी प्रधानमन्त्री हुँदै गर्दा उनी आग्रह गर्छिन, ‘एउटी विधवासँग झूटो सम्झौता गरेको बात र पाप नलागोस् । देशको प्रधानमन्त्रीले हत्यारा लुकाइराखेको भन्दा मेरो मन कति पोल्ला ?’ प्रचण्ड त उनका पराइ भए । श्रीमान्को हत्या गर्ने कार्यकर्ताका नेता जो परे । आफ्नै पार्टीका नेतासँग उनको सबैभन्दा ठूलो गुनासो छ । प्रचण्डलाई काँध दिएर प्रधानमन्त्री बनाउन र प्रचण्डको काँध चढेर प्रधानमन्त्री बन्ने वातावरण बनाउनका लागि रामहरि हत्याकाण्डमा एमालेले राजनीति गरेको रहेछ भन्ने उनलाई लाग्न थालेको छ । युवा संघमा न्यायका लागि लड्न भन्दै लागेकी उनी आफैं अन्यायमा परेकी छिन् । फोहोरी राजनीति र गुटबन्दी देख्दा राजनीतिबाट पार लगाउला भन्ने उनको विश्वास हराउँदै गएको छ । उनी जे बोलेको हो त्यहीं गर्ने व्यवहारिक राजनीतिको पक्षमा छिन् । त्यस्तो राजनीति उनले अहिलेको परिस्थितिमा असम्भव देखेकी छिन् । [embed]https://youtu.be/2ZjO_8473Xs[/embed] [embed]https://youtu.be/xKrOpPFElFE[/embed]