राजनीति

प्रधानमन्त्री अाेली र दाहालबीच भेटवार्ता

प्रधानमन्त्री अाेली र दाहालबीच भेटवार्ता
Prachanda-kp-oli साउन - १५ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीलाई राष्ट्रिय सहमतिको सरकार गठन गर्न र त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतिको सरकार गठनका लागि दलहरुलाई दिनुभएको समयसीमा भोलि आइतबार सकिन लागेको अवस्थामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता भएको हो । राष्ट्रिय एजेन्डामा मिलेर अगाडि जाने अवस्था रहेको भए पनि तत्काल आफ्नो पार्टी सरकारमा सहभागी हुने सम्भावना कम रहेको भन्दै प्रधानमन्त्री ओलीले अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो । अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेसनोटमा छलफलका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नयाँ सरकार गठन, संविधान कार्यान्वयनलगायतका विषयमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको जनाएको छ । एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनको प्रक्रियामा माओवादी केन्द्र अगाडि बढिरहेका बेला भएको भेटवार्तामा दुई दलबीच पछिल्लो दिनमा बढेको दूरी घटाउने र राष्ट्रिय मुद्दामा मिलेर जाने सहमतिसमेत भएको उल्लेख गरिएको छ । रासस

KP Oli political Puspakamal Dahal rajniti

विशेष