विचार राजनीति

यसकारण एमालेले उम्मेदवारी नदिने भयो

यसकारण एमालेले उम्मेदवारी नदिने भयो

Uml साउन १८ । प्रधानमन्त्री केपी ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग त्यस्तो व्यक्ति भिडाउन चाहन्थे जो सांकेतिकरुपमा प्रचण्डका लागि भारी होस् । प्रचण्डको जित निश्चित भएपनि ओलीले उनलाई अर्थपूर्ण उम्मेदवारमार्फत प्रहार गर्न चाहन्थे । त्यसैले उनको नजर सादगी नेताको छबी बनाएका जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीमा पर्यो । गांईगुंइ सुन्न नपाउंदै केसीले प्रस्तावलाई ठाडै अस्विकार गरिदिए । त्यसपछि ओलीले पार्टीभित्रै उम्मेदवार खोज्न थाले ।

पार्टीका दुई बरिष्ठ नेता माधबकुमार नेपाल र झलनाथ खनाल प्रधानमन्त्री तथा पार्टी प्रमुख भइसकेकाले हार्ने निश्चित भएको निर्वाचन लड्नेवाला थिएनन् । त्यसैले ओलीले उपाध्यक्ष बामदेब गौतम र उपनेता सुवास नेम्वाङ्गलाई उम्मेदवारीका लागि संकेत गरे । यि दुबै उम्मेदवारी प्रचण्डका लागि कुनै कुनै हिसावले बलिया हुन्थे । एमालेभित्र रहेरपनि प्रचण्डको खुला दिलले प्रशंसा गर्ने गौतम प्रचण्डकै विरुद्धमा मैदानमा आमनेसामने स्थिति बन्थ्यो । अर्कोतर्फ अविश्वासको प्रस्तावको प्रस्तावक बनेका प्रचण्डलाई संसदमा व्यंग्यात्मक हिसावले दह्रो जवाफ फर्काएका नेम्वाङ्गको उम्मेदवारीपनि चर्चित हुन सक्थ्यो । तर, दुबैले उम्मेदवारी दिन मानेनन् ।

गौतमले संसदीय दलको नेता बनाउनुपर्ने माग गरे । उनलाई बरिष्ठ नेताद्वय खनाल र नेपालले ग्रिन सिग्नल दिइसकेका थिए । स्थायी समितिमा यो विषय उठ्योपनि । तर, ओलीले संसदीय दलको नेता परिवर्तनलाई बेमौसमको बाजाको संज्ञा दिए । गौतमलेपनि जवाफ फर्काएः खाइ न पाइ छालाको टोपीलाई भनेजस्तो उम्मेदवारी किन दिने ?

संसदीय राजनीतिमा कहिल्यै नहारेका र भावि राजनीतिपनि सुरक्षित रहेको ठानिएका नेम्वाङ्गलाई उम्मेदवार बनाउनुपर्ने आवाज बाक्लै उठेको थियो । ओलीले कार्यकर्ताको चाहनापनि भन्दै नेम्वाङ्गलाई उम्मेदवार बन्न आग्रह गरेका थिए । राजनीतिक हिसावकितावमा माहिर नेम्वाङ्गले ‘अहिले हार्ने भोलि के गर्ने ?’ प्रश्न उठाएका थिए । उनको प्रश्नको प्रष्ट संकेत थियोः भोलिका दिनमा प्रधानमन्त्री निश्चित हुँदा को उठ्ने हो ? यो प्रश्न ओलीका लागिपनि भारी पर्यो । उनले नेम्वाङ्गलाई ‘तपाई नै उठ्ने’ भनेर निश्चितता दिन सकेनन् । त्यसपछि नेम्वाङ्ग अघि नबढेको बताइन्छ ।

चर्चा दोस्रो बरियताका नेताको

प्रचण्डलाई तुलनात्मकरुपमा कमजोर उम्मेदवार उठाएर हलुका बनाउने बारेमापनि एमाले बैठकमा छलफल भएको बताइन्छ । तर, सम्भावना बोकेका युवा नेताहरुले प्रयोगका लागि तयार नहुंने सन्देश पठाइसकेका थिए । नेपाल आजसँग कुरा गर्दै प्रमुख सचेतक भानुभक्त ढकालले दोस्रो बरियताका नेतालाई हार्ने उम्मेदवार बन्ने रहर नभएको सन्देश पठाइएको बताए ।

उम्मेदवार छान्नै सकस भएपछि एमालेको स्थायी समिति बैठकमा नयाँ प्रस्ताव आयो । उम्मेदवारी नदिने तर प्रचण्डको विपक्षमा मतदान गर्ने । यसअघि माओवादीले माधबकुमार नेपाल प्रधानमन्त्री हुँदा त्यसै गरेको थियो । यो प्रस्तावमा सबैले होमा हो मिलाएपछि बैठक सकियो । सचिव योगेश भट्टराईले उम्मेद्वारी नदिने निर्णय गरिएको जनाएपछि हामीले सोधेका थियौं, ‘उम्मेदवार नदिने निर्णय गरेको कि उम्मेदवार चयन गर्न नसकेको ?’ उनले हास्दै जवाफ फर्काए, ‘अहिलेलाई उम्मेदवारी नदिने निर्णय भन्दा नै काफी हुँदैन र ?’

Nepali Rajniti UML Baithak

विशेष