प्रधानमन्त्री प्रचण्डका यी ‘नेगेटिभ’ पक्ष पढेपछि त निराश मात्रै बनाउँछ
पुष्पकमल दाहाल प्रचण्ड नेपालको ३९ औ प्रधानमन्त्री भएका छन् । २०६५ सालमा पहिलो पटक प्रधानमन्त्री भएका प्रचण्ड ८ वर्षपछि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री भएका हुन् । दोहोर्याएर प्रधानमन्त्री बन्न सफल बामपन्थी प्रधानमन्त्रीको रेकर्ड उनकै पोल्टामा परेको छ ।
प्रचण्डको राजनीतिक उतारचढाव असामान्य छ । कसैले यसलाई गतिशिलताको रुपमा प्रसंसा गर्ने गर्दछन् भने कतिपयले अस्थिरताको पर्यायका रुपमा प्रचण्डको आलोचना गर्दछन् । जे भए पनि पछिल्लो दुई दशक उनकै सेरोफेरो वा उनकै विषयमा नेपालको राजनीति कुनै न कुनै हिसावले घुमिरहेको छ ।
प्रचण्डलाई राजनीतिमा ‘म्याच फिक्सिर’को आरोप लाग्ने गर्दछ । आफैं सम्मिलित सरकारले पास गरेको आर्थिक विधयेक फेल गराउने गरी उनले केपी शर्मा ओलीलाई विस्थापित गरेका हुन् । प्रचण्डको ढल्काइ कुन बेला कता हुन्छ भन्ने भेऊ पाउन मै हुं भन्नेलाई सम्म हम्मे–हम्मे पर्दछ । प्रचण्डको सचिवालयमा बसेर काम गरिसकेकी पूर्व माओवादी नेतृ हिशिला यमीका शब्दमा प्रचण्ड अरुलाई जुधाएर आफुले फाइदा लिने पात्र हुन् । मुखले एउटा भन्ने तर दिमाग भिन्दै रुपमा चलाउने उनको प्रवृत्ति पुरानै भएको यमीको आरोप छ ।
भारतीय एजेन्सीसँगको सम्बन्ध
भारतसँगको उतारचढावपूर्ण सम्बन्धका कारण पनि प्रचण्डलाई आंशकायुक्त हिसावले हेरिन्छ । युद्धकालको लामो समय भारतमा बिताएका प्रचण्डले भारतसँगकै मिलिभगतमा कतिपय रणनैतिक महत्वका निर्णयहरु लिएको उनि आफैंले स्विकार गरेका छन् । नयाँ दिल्लीमा भएको सात दल र माओवादीबीचका १२ बुँंदे सहमतिको एक साझेदार भारत भएको प्रचण्डले प्रष्टै भन्ने गरेका छन् । युद्धकालमै उनले भारतीय प्रधानमन्त्री अटलबिहारी बाजपेयीलाई पत्र लेखी भारतका विरुद्धमा आफ्नो युद्ध नरहेको र नरहने कबुलनामा गरेको तथ्य सार्वजनिक भइसकेको छ ।
रमाइलो त के भने, भित्र भित्र यसो गर्ने प्रचण्डले बाहिर भने भारतसँग सुरुङ युद्धको चर्चा गरेर राष्ट्रभक्तहरुको सहानुभूति प्राप्त गर्ने कोसिस गरेका थिए । ‘प्रभुका सामू नझुक्ने’ भन्दै ८ बर्ष अघि राजीनामा गरेका प्रचण्डको भारतसँगको सम्बन्ध यसबीचमा तीतोप्रायः रह्यो । संविधान निर्माण र नाकावन्दीका सवालमा उनले लिएको अडानले उनको छबी फराकिलो भएको थियो । भारतीय नेतालाई सामुन्ने राखेर उनले खुलामंचमा भारतीय पक्षलाई चुनौतीसमेत दिए । तर, अहिले दाहाल चुकेको चर्चा छ । भारतसँगकै साँठगाँठमा प्रचण्ड प्रधानमन्त्री बन्न लागेको भन्ने कुरा जनजनको मनमनमा बसेको छ ।
प्रचण्डको संशययुक्त छबिलाई प्रष्ट्याउन पत्रकार सुधीर शर्माको पुस्तक र पूर्वसैनिक सचिव विवेवकुमार शाहको पुस्तक सहयोगी बनेका छन् । शर्माले लेखेको प्रयोगशालामा प्रचण्डले कसरी अरुलाई प्रयोग गर्छन र कसरी अरुबाट प्रयोग हुन्छन् भन्ने अनेकौं दृष्टान्त दिएका छन् । भारतसँगको उनको रहस्यमय सम्बन्ध प्रयोगशालामा पटकपटक छचल्किएको छ । त्यस्तै पूर्वसैनिक सचिव शाहले ‘मैले देखेको दरबार’मा माओवादीलाई भारतीय सैनिकले आफ्नै तालिम केन्द्रमा तालिम दिएकोसम्म दाबी गरिएको छ ।
टाकटुके नेता
नेकपा एमालेका नेता प्रदीप नेपालको शब्दमा प्रचण्ड टाकटुके नेता हुन् । मोहन बैद्यको दर्शन, डाक्टर बाबुराम भट्टराईको बौद्धिकता र रामबहादुर थापाको सांगठनिक कौशलताको उपयोग गरेर उनी नेता बनेको आरोप लाग्ने गर्दछ ।
उनी सिद्धान्तलाई ग्रहण गर्दैनन्, बरु सिद्धान्तको उपयोग परिस्थितिअनुसार गर्दछन् । जस्तो जनयुद्ध थाल्दाको राजनीतिक प्रतिवेदनमा उनले जनवादी राज्यसत्ता प्राप्त गर्ने महान उद्देश्य पूरा नभएसम्म हतियार बिसाउने अपराध गरिने छैन भन्ने उल्लेख गरेका छन् । तर १० बर्षमै उनले हतियार बिसाएर उनकै शब्दमा अपराध गरे ।
शान्तिप्रक्रियामा आइसकेपछि उनले आफ्नो पार्टी पंक्तिलाईमात्र होइन, देशलाई नै तिरीमिरी झ्यांई पार्ने काम गरे । पहिलो संविधानसभाको निर्वाचनमा उनले ‘मुखमा निर्वाचन मस्तिष्कमा बिद्रोह’ भन्ने नारा आन्तरिकरुपमा सर्कुलर गरे । लडाकुलाई हतियार बिसाउन लगाए तर बिद्रोहका लागि तयार रहन निर्देशित गरिरहे ।
‘कालीगण्डकीले जता पनि हानेकी, जसो पनि जानेकी’ भनेजस्तो शैली प्रचण्डको देखिन्छ । केपी ओलीलाई मानसिकरुपमा रोगी घोषणा गरेको केही महिनामै उनले प्रधानमन्त्रीका लागि काँध दिए । पार्टी एकतासम्मको कुरा गर्न भ्याइसकेका प्रचण्डले सहजै एमालेसँगको सम्बन्ध तोड्न सके । गिरिजाप्रसाद कोइरालालाई नेपालको पहिलो राष्ट्रपति बनाउने बताएर कोइरालालाई गणतन्त्रमा जान उक्साए । जब राष्ट्रपति बनाउने पालो आयो, कोइरालालाई खिस्स पारे । पछि प्रचण्ड स्वयंले भनेः कोइरालालाई राष्ट्रपति नबनाएको पाप ममाथि लागिरहेको छ ।
प्रचण्ड र पैसा
प्रचण्डलाई ‘एनी हाउ, पैसा कमाऊ’मा लागेको आरोप लाग्ने गर्दछ । युद्धमा लुटिएको धनदेखि हालसम्म लिइएको चन्दाको कुनै लेखाजोखा छैन । लडाकुको नाममा लिइएको रकमबाट आएको लाभ कति छ कसैलाई भेउ छैन । विवादस्पद व्यापारीसँग जोडिएर उनको नाम हमेशा आइरहन्छ ।
प्रचण्ड र परिवारवाद
प्रचण्डका कारण दुनियाँका छोराछोरी सहिद भए । कतिका छोराछोरी टुहुरा भए । प्रचण्डको परिवारले भने यो क्षति व्योहर्नु परेन । सास्कृतिक कारण देखाएर पार्टीमा बरिष्ठ नेता रामबहादुर थापासमेत कारबाहीमा परे । आलोक मारिए । गाऊँगाऊँमा अर्काका छोरीबेटी जिस्काएको भन्दै दिनउमेरका केटाहरुलाई समेत भाटे कारबाही गरियो । तर, प्रचण्ड आफ्नै छोराको मामिलामा भने नराम्रोसँग चुके । छोराले बैधानिक श्रीमती घरमा हुँदाहुँदै अर्काकी श्रीमती टिपेर हिडिदिए । हनिमुनका लागि गरिएको निलम्बनपछि छोरा सचिवालयमा भित्रिए । बैधानिक बुहारीले घर छाडेर माइतीमा बस्ने अवस्था आयो । ल्याइते बुहारीबाट घर धान्ने स्थिति क्रान्तिकारी दाबी गर्ने माओवादीजनका लागि लज्जाको विषय बनिरहेको छ । घरपरिवार बिगर्नुमा उनकी श्रीमती सीतालाई दोष दिइने गरिन्छ । सीताको कार्यशैलीलाई प्रचण्डले प्रश्रय दिएको र नेताहरुका बीचमा सीताले भाँजो हालेको भनि बाबुराम भट्टराईले युद्धकालमै प्रष्ट लेखिदिएका थिए ।
उपयोगको राजनीति
प्रचण्ड अरुका लागि उपयोगी हुन र अरुलाई उपयोग गर्न सिपालु रहेको बताइन्छ । परिस्थिति अनुसार उनले पार्टीकै नेताहरुलाई उपयोग गर्ने र प्रतिकुल हुँदा जस्तैलाई पनि चट्टै छाड्न सक्ने उनको बानी छ । उनी मुद्धा पनि आफू अनुकुल बोक्ने गर्दछन् । पहिचानसहितको संघीयता भन्दै २०७१ माघ ५ मा माओवादीले संसदमा तोडफोड गर्यो । तर, प्रचण्डकै सक्रियतामा जारी भएको संविधानमा पहिचानसहितको संघीयता अटाएन । उनले पहिचान खोज्नेहरुलाई विदेशीका मतियारसम्म भन्न भ्याए । एजेण्डालाई छोड्न र बोक्न उनलाई कुनै आइतबार चाहिंदैन ।
सबल पक्ष
सामाजिक जागरणका अगुवा
माओवादी जनयुद्धलाई अनेक कोणबाट विश्लेषण गर्न सकिन्छ । व्यक्ति हत्याको जघन्य बाटोलाई अक्षम्य मान्न सकिने हजार तर्क प्रस्तुत हुन सक्छन् । तर, एउटा सत्यमा सायदै कसैको विमति होलाः त्यो हो माओवादी युद्धका कारण नेपालको दूरदराजमा पुगेको राजनीतिक र सामाजिक चेतना । पछाडि परेको बर्ग, क्षेत्र र समुदायको चेतनालाई स्वाटै बढाउन प्रचण्ड नेतृत्वको युद्धले महत्वपूर्ण भुमिका निर्वाह गर्यो । रोल्पाकी सामान्य परिवारकी सामान्य क्षमताकी मगर देण्शको सभामुख बन्ने परिस्थिति प्रचण्डको उदय नभएको भए सायदै यति छिटो सम्भव हुंने थियो ।
गणतन्त्रका सारथी
संवैधानिक राजतन्त्र अपरिवर्तनीयरुपमा संस्थागत भइसकेको थियो । काँग्रेस र एमालेले संवैधानिक राजतन्त्रलाई अपरिवर्तनीय सकारिसकेका थिए । प्रचण्डको नेतृत्वमा युद्ध थालिएपछि राजतन्त्र खुम्चिदै गयो । अन्त्यमा काँग्रेस एमालेसँगको सहकार्यमा प्रचण्डकै जोडबलमा राजसंस्था खारेज नै भयो । काँग्रेस एमालेले गणतन्त्र नचाहेको भए प्रचण्ड एक्लैको बलले गणतन्त्र सम्भव थिएन । तर, गणतन्त्रसम्म देशलाई पुर्याउन उनको भूमिका महत्वपूर्ण छ ।
समावेशी समानुपातिक व्यवस्था
प्रचण्डको राजनीतिक उदयले समावेशी र समानुपातिक व्यवस्थाको जग तयार गरेको हो भन्दा अतिसयोक्ति हुदैन । एउटै वर्ग र समुदायको बहुसंख्यक प्रतिनिधित्व हुंने ठाउँंमा अहिले बहुसमुदायको प्रतिनिधित्व स्थापित भएको छ ।
शान्तिपूर्ण शान्ति प्रक्रियाका सारथी
प्रचण्डले युद्ध थालेर देशलाई थला पारेको र दीर्घकालसम्म युद्धको व्यवस्थापनका लागि समय र सामाथ्र्य खर्च गर्न बाध्य पारेको तथ्यसँग कोही असहमत हुंन सक्दैन । तर, युद्धको शान्तिपूर्ण अवतरणको उदाहरण नेपालमा जस्तो अन्यत्र पाइँदैन । शान्तिप्रक्रियामा आइसकेपछि दोहोरो भिडन्तको कुनै अप्रिय घटना भएन । माओवादीबाट अलग भएर कसैले रक्तपात गरेन । माओवादीले हतियार नबुझाउन्जेल एकीकृत रहिरह्यो । हतियार नबुझाउंदै माओवादी विभाजित भएको भए परिस्थिति अर्कै हुन्थ्यो । जनवादी राज्यसत्ताको सपना बोकाएर हिडाएका कार्यकर्ता र लडाकुलाई यो स्थितिसम्म धैर्य बनाएर राख्नु प्रचण्डको ठूलै सफलता हो ।
शाहसी र गतिशिल नेता
प्रचण्डको दलीय आकार सानो हुँदा पनि उनकै निर्णयको सेरोफेरोमा देशको गति निर्भर हुनु उनको खुबी हो । उनी शाहसिक र अप्रत्याशित निर्णय लिनसक्ने नेता हुन् । परिस्थिति बदलिँदा बदलिन सक्ने र परिस्थितिलाई बदल्न सक्ने दुबै खुबी उनमा देखिन्छ । यही कारणले पनि उनलाई भर नभएको नेता भन्ने गरिन्छ । तर, उनले युद्धको घोषणा गर्दा होस् वा युद्धको समाप्ति गर्दा होस् ठूलै जोखिम मोलेका थिए । शान्ति प्रक्रियाका लागि काठमाडौंमा सार्वजनिक हुँदा होस् वा लडाकुलाई सेनाको जिम्मा लगाउँदा होस्, उनले राजनीति र ज्यानको बाजी थापेकै हुन् । खिलराज रेग्मीलाई सरकारको नेतृत्व दिनेदेखि रुकमाङ्गत कटवाललाई कारवाही गर्नेसम्मका निर्णय कम्ता घातक ठहरिएनन् तर उनले निर्णय लिन भने पछि परेनन् ।
प्रचण्ड जीबनी
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।
उनी २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भए । उनी वि. सं. २०३८ मा क्षेत्रीय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा–सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन् ।
वि.सं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बन्न सफल भए ।
यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकले पार्टीको नाम फेरेर नेकपा (माओवादी) राख्यो । नेकपा माओवादीको महामन्त्री भएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष समेत बन्न सफल भए ।
वि.सं. २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहेका प्रचण्ड २०६३ साल असार २ गते प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक भएका हुन् ।
२०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष समेत बनेका प्रचण्डले २०६९ सालमा हेटौंडामा भएको राष्ट्रिय सम्मेलन, २०७० सालमा विराटनगरमा भएको एकताको महाधिवेशनबाट आफूलाई अध्यक्ष पदमा निर्वाचित गराउन सफल भएका हुन् ।
सार्वजनिक जीवनमा आएसँगै २०६४ साल चैतमा भएको संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीलाई पहिलो नम्बरमा पुर्याएर प्रचण्ड २०६५ सालमा गणतन्त्र नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बन्न सक्षम भए । तर, नौ महिनामै सरकारबाट बाहिरिए ।
२०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट निर्वाचित भएका प्रचण्ड नेतृत्वको पार्टी एकीकृत नेकपा माओवादी भने यस पटक तेस्रो दलका खुम्चिन पुग्यो । तेस्रो भएपछि असाध्यै अत्तालिएका प्रचण्डलाई के थाहाः दैब दाहिना भए संख्या जति नै भएपनि प्रधानमन्त्री हुने बाटो खोलिन्छ । २४० सिट आफ्नो मात्र हुँदापनि दोहोरिएर प्रधानमन्त्री हुन नपाएका प्रचण्ड ८० सिट हुंँदा सिंहासनमा पुनः पुगेका छन् ।
prachanda ka sabal ra durbal pakshya
prachanda's strength and weakness