राजनीति

‘रेल कसरी चलाउने स्रोत खोइ भन्नुभयो, सुझाव माग्न आउनुस् स्रोत म देखाइदिन्छु’ ओली

‘रेल कसरी चलाउने स्रोत खोइ भन्नुभयो, सुझाव माग्न आउनुस् स्रोत म देखाइदिन्छु’ ओली
Prachanda-kp-oli साउन - १९ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा रेलवे लाइन जोड्न र ठूला आयोजना चलाउन स्रोत कहाँबाट ल्याउने भनी प्रचण्डले संसदबाट गरेको प्रश्नको आफ्नै निवास बालकोटबाट जवाफ दिएका छन् । प्रचण्ड प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई बधाई दिएर संसद भवनबाट सिधै बालकोट पुगेका ओलीलाई बानेश्वरदेखि नै उनका समर्थकहरुले पछ्याउँदै गएका थिए । मोटरसाइकल, गाडी र पैदल जुलुस समेत गरेर बालकोट पुगेका कार्यकर्ता र समर्थकलाई ओलीले केहीबेर सम्बोधन गरे । उनले प्रचण्डका प्रश्नको जवाफ दिँदै भने ‘रेल कसरी चलाउने स्रोत खोइ भन्नुभयो, विकास आयोजना चलाउने स्रोत देखाऊ भन्नुभयो । उहाँ मसँग सुझाव माग्न आउनुभयो भने म स्रोत देखाइदिन्छु ।’ आर्थिक सम्वृद्धिका कार्यक्रममा आफ्नो पनि सहभागिता रहेको भन्ने प्रचण्डको दाबीको उनले खण्डन गरे । ओलीले भने, ‘उनीहरुले विकासका कुरा कहिल्यै गरेनन् । यसो उसो गर्याे, लडाकूलाई पैसा माग्नेबाहेक कहिल्यै सम्वृद्धिका कुरा आएनन् । जसरी पनि पैसा चाहियो ।’ व्याङ्ग्यात्मक शैलीमा भने ‘जोसुकै प्रधानमन्त्री आए पनि अबका २० वर्ष मैले खनेको गोरेटोमा नहिडी सुख छैन ।’ ओलीले एमाले जिम्मेवार प्रतिपक्षमा बस्ने तर राष्ट्रिय स्वाधीनता र आर्थिक सम्वृद्धिको मूल्यमा कोहीसँग सम्झौता नगर्ने प्रष्ट पारे । ओलीको पक्षमा नाराबाजी गर्दै युवा संघ र अनेरास्ववियु सम्वद्ध कार्यकर्ताहरु बालकोट पुगेका थिए ।

KP Sharam Oli Prachanda

विशेष