नेपालको विकासमा चीन र भारतलाई सहभागी हुन ओलीको आग्रह
साउन - २१ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँंग नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले भेटी नौ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्विपक्षीय दीर्घकालीन हितका विषयमा भएका महत्वपूर्ण सम्झौताको कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री ओली निवास बालकोटमा भएको भेटवार्ताका क्रममा उनले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालका विकासमा चिनियांँ लगानी र सहयोगलाई द्विपक्षीय समझदारीमा अघि बढाइएको र त्यसका सकारात्मक परिणाम आइरहेको समेत बताए ।
नेता ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारवहन तथा यातायात लगायत ऐतिहासिक सम्झौता भएकामा सन्तोष लागेको र तिनले नेपालको विकासलाई अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
ओलीले नेपालको विकासमा चीन र भारतलाई उत्तिकै महत्वका साथ सहभागी हुन आग्रह गरिएको र सन्तुलनका आधारमा वैदेशिक सम्बन्ध अघि बढाइएको बताउँदै चीनसँंगका सम्झौता र समझदारी नेपालको हितमा हुने बताए ।
यसअघि आजै नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले पनि अध्यक्ष ओलीसँंग भेटी नेपाल र बेलायतबीचको सम्बन्ध सुमधुर रुपमा अघि बढेकामा अध्यक्ष ओलीलाई धन्यवाद व्यक्त गरेकाे ओलीका प्रेस सहयोगी चेतन अधिकारीले जानकारी दिए । रासस
KP Sharma Oli