निजी क्षेत्रसँग मिलेर काम गरिने– उपप्रधानमन्त्री महरा
साउन - २१ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले मुलुकको आर्थिक चुनौती सामना गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग आज अर्थमन्त्रालयमा भएको छलफलमा उनले निजी क्षेत्रसँग सहकार्य गर्दै मुलुकको आर्थिक वृद्धिमा महत्वपूर्ण योगदान गर्ने बताए ।
निजी क्षेत्रको नेतृत्वमा मुलुकको आर्थिक विकास प्रक्रियाले गति लिएकाले यही क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने उनले प्रतिबद्धता व्यक्त गरे । महासङ्घका अध्यक्ष पशुपति मुरारकाका अनुसार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री महराले सरकार, निजी क्षेत्र एकअर्काका सहयोगी भएकाले मिलेर काम गर्ने वचन दिएका छन् ।
“सरकारले ल्याउने आर्थिक वृद्धिको कार्यक्रममा हातेमालो गरेर अगाडि बढ्न महासङ्घ तयार रहेको हामीले अर्थमन्त्रीलाई जानकारी गरायौँ, उहाँले आफू सबै पक्षको साथ र सहयोगमा अगाडि बढ्न तयार रहेको बताउनुभयो”– अध्यक्ष मुरारकाले भने।
अध्यक्ष मुरारकाको नेतृत्वमा महासङ्घका उपाध्यक्ष शेखर गोल्छा, उद्योगी तथा व्यवसायी सौरभ ज्योति, अञ्जन श्रेष्ठलगायतले अर्थमन्त्री महराको सफल कार्यकालको शुभकामनासमेत दिएका थिए । रासस
Krishna Bahadur Mahara