राजनीति

प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै निराश हुँदै वैद्यले भने, ‘प्रचण्डलाई के बनाउन खोजेको थिएँ, के भएर निस्के’

प्रचण्ड प्रधानमन्त्री भएको भोलिपल्टै निराश हुँदै वैद्यले भने, ‘प्रचण्डलाई के बनाउन खोजेको थिएँ, के भएर निस्के’

Mohan Baidhyaसाउन २२ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले सशस्त्र युद्धको घोषणा गरेका छन् । आफ्ना पूर्वसहकर्मी प्रचण्डले प्रधानमन्त्रीको कार्यभार सम्हालेको भोलिपल्ट बैद्यले रक्तपातपूर्ण संर्घषको तयारी गरिरहेको खुलासा गरेका हुन् । राज्यसत्ताको आधारभूत चरित्र परिवर्तन नभएकाले आफुले फेरि पनि बन्दुक बोक्न लागेको बैद्यको भनाइ छ ।

हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा पत्रकार नारायण पौडेलसँगको कुराकानीमा क्रान्तिकारी माओवादीका अध्यक्ष बैद्यले भने, ‘कार्यदिशा स्पष्ट छ । जनवादी राज्यसत्ता स्थापना गर्न सशस्त्र संर्घष अनिवार्य छ । मेरै नेतृत्वमा ठूलो पंक्तिले बन्दुक बोक्नेछ ।’

बैद्यले प्रचण्ड नेतृत्वमा भएको जनयुद्ध असफल भएको दाबी गरे । आफुहरुलाई धोका दिइएको भन्दै उनले राज्यसत्ता परिवर्तनका लागि आफुले नयाँ शिराबाट संशस्त्र संर्घषको तयारी गरिरहेको उनको भनाइ छ । बृद्धवय र कमजोर स्वाश्थ्यका बारेमा उठाइएको प्रश्नमा बैद्यले भावपूर्ण जवाफ दिएका थिए , ‘म ७० लागें । कम्तिमा १० बर्ष सक्रिय जीबन जिइन्छ । १० बर्ष भनेको धेरै हो । यो १० म थकाइ मारेर बस्दिन । सशस्त्र क्रान्ति गरेर छाड्छु ।’

प्रचण्ड पनि बन्दुक बोक्न बाध्य हुंँने कुराकानीका क्रममा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत सशस्त्र क्रान्तिमा सहभागी गराउने उनको दाबी छ । प्रचण्डसहित सबै माओवादी सशस्त्र संर्घषमा आउनै पर्ने उनको भनाइ छ । १० बर्षे माओवादी जनयुद्धको नेतृत्व गरेका प्रचण्डले बाटो बिराएको बैद्यको आरोप छ । प्रचण्ड संसदीय राजनीतिमा लागेको र माओवादी आन्दोलनलाई छिन्नभिन्न बनाएको भन्दै उनले पुर्नगठनका लागि आफु सक्रिय रहेको स्पष्ट गरे । बैद्यले बादल र विप्लवको बर्हिगमनका बारे प्रष्टिकरण दिंदै भने, ‘हिजो जनयुद्ध थाल्दा पनि एकता र विभाजनकै बीचबाट गएका थियौं । केही साथीहरु जाने र नयाँ साथीहरु आउने क्रम स्वभाविक हो । विचार भएपछि नेता कार्यकर्ता फैलदै जानेछन् ।’

प्रचण्डः के सोचेको के भए तत्कालिन मशालका महामन्त्री मोहन बैद्यले आफुलाई घटुवा गर्दै कनिष्ठ नेता प्रचण्डलाई महामन्त्रीमा बढुवा गरिदिएका थिए । त्यसपछि झण्डै २ दशक बैद्यले प्रचण्डलाई निरन्तर काँध थापे । यक्ष प्रश्नमा कुरा गर्दै बैद्यले प्रचण्डलाई के सोचेको थिएं के निस्किए भन्दै दुःख व्यक्त गरे । क्रान्तिको नायक बनाउन खोजेको व्यक्ति अर्कै कित्ताको हिरो भएको उनको भनाइ थियो । बिगतमा प्रचण्डपथसम्मको वकालत गरेका बैद्यले प्रचण्डलाई काँध थापेर गल्ति गरेको जनाए । प्रचण्ड क्षमतावान भए पनि उनको क्षमताको प्रयोग पछिल्लो दशकमा गलत ढंगबाट भएको बैद्यको निष्कर्ष छ । संसदीय व्यवस्थाबाट प्रचण्ड प्रधानमन्त्री हुनुको कुनै अर्थ नरहेको उनको भनाइ छ । बैद्य भन्छन्, ‘उहाँ यसरी प्रधानमन्त्री हुनुको अर्थ छैन । यो त हाम्रो उद्देश्य नै होइन । प्रधानमन्त्री भएपछि मेरो कुराकानी भएको छैन ।’

पार्टी एकताका बारेमा कुराकानी भइरहेको सन्दर्भमा प्रचण्ड झनै गलत दिशामा अघि बढेको उनको आरोप छ । जनवादी राज्य स्थापनाका लागि बैचारिक एकता कायम गर्दै पार्टी एकताका बारेमा वार्ता गम्भीररुपमा अघि बढे पनि प्रचण्डले धोका दिएको बैद्यको जिकिर छ ।

विप्लवले बन्दुक उठाउंँदैनन् आफुसँग अलग भइ गएका नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्दले बन्दुक नउठाउने बैद्यको दाबी छ । बैद्य भन्छन्, ‘विप्लवजीको ठूलै समस्या छ । उहाँमा वैचारिक स्पष्टता छैन । एकीकृत क्रान्तिमा स्पष्ट बाटो छैन । उहाँमा अलमल छ । उहाँले बोक्नुहुन्न, मै बोक्छु बन्दुक । मेरै नेतृत्वमा बन्दुक बोकाउने प्रयास गर्छु ।’

प्रचण्डको प्रधानमन्त्रीत्व जे बिऊ रोपेको त्यहीं फल फल्ने भन्दै बैद्यले प्रचण्डबाट असल कर्मको अपेक्षा नरहेको स्पष्ट गरे । प्रचण्डलाई प्रधानमन्त्री बनाइएको भन्दै उनले सकेसम्म सत्कर्म गर्न सुझाए । प्रचण्ड प्रधानमन्त्री हुंने बाटोमा लागेर गल्ति गरिसकेकाले धेरै टिप्पणीको आवश्यकता पनि नरहेको भन्दै बैद्यले कटाक्ष गरे ।

एउटा प्रचण्डले धोका दिए पनि थुप्रै इमान्दार प्रचण्ड क्रान्ति र आन्दोलनकै बीचबाट पैदा हुँने बैद्यको विश्वास छ । पश्चगामी प्रचण्ड भन्दा अग्रगामी प्रचण्डको आवश्यकता रहेको बताएका बैद्यले आफ्नो पार्टीमा थुप्रै क्षमतावान व्यक्तिहरु रहेको दाबी गरे ।

अध्यक्ष बैद्यको अन्तरवार्ता हेर्न तलको लिंकमा जानुहोस् ।

विशेष