छोरा प्रकाशका लागि प्रचण्डले पार्टीकै नियमलाई लात हान्दै कार्यभार सम्हाले
साउन २२ । केपी ओली सरकारमा आफ्नोतर्फबाट मन्त्रीहरु पठाउँदा तत्कालीन एनेकपा माओवादीले २३ बुँदे आचारसंहिता बनाएको थियो । २३ बुँदेको एक महत्वपूर्ण बुँदा थियो– ‘मन्त्रीले नातेदारलाई सचिवालयमा राख्न नपाउने ।’ नौ महिनापछि पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री बनेलगत्तै प्रचण्डले आफ्नै छोरा प्रकाशलाई स्वकीय सचिवालयमा नियुक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई सरकार सञ्चालन समन्वय समिति गठन गरेर संयोजक तोकिएको थियो । श्रेष्ठ संयोजकत्वको समितिले तयार पारेको आचारसंहितामा परम्परागत राज्य सञ्चालन पद्धतिलाई मन्त्रीको तहबाट सुधार गर्न सकिने धेरै विषय समावेश गरिएका थिए । तर आचारसंहितामा भएका धेरै बुँदाहरु माओबादीकै मन्त्रीहरुले उल्लंघन गरिदिए ।
त्यस्तो आचारसंहिता अघिल्लो सरकारका लागि तयार पारिएको थियो भनेर प्रचण्डपुत्र प्रकाशको बचाउ गर्न मिल्ने तर्क गर्न सकिने अवस्था छ । तर नौ महिनामै आफन्तलाई निजी सचिव वा सचिवालयमा राख्न मिल्ने गरी अवस्था भने फेरिएको छैन । मन्त्रीहरुलाई नातावादबाट मुक्त गर्न राखिएको बुँदा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै उल्लंघन गरिदिएका छन् । प्रधानमन्त्री दाहालले बिहीबार पद तथा गोपनियताको सपथ लिएलगत्तै आफ्नो सचिवालयमा प्रकाशलाई नियुक्त गरेका हुन् ।
आफैले बनाएको आचारसंहिताको खुलेआम धज्जी उडेको देख्दा कस्तो लागिरहेको छ ? भन्ने प्रश्नको जवाफलागि माओवादी नेता नारायणकाजी श्रेष्ठलाई फोन गरिएको थियो । उनले भने, ‘म दुई चार दिन व्यस्त छु । बोल्ने फुर्सदै छैन ।’
घरमा पत्नी हुँदा हुँदै अर्काकी पत्नी बीना मगरलाई टिपेर हिँडेका प्रकाश पार्टीभित्र र बाहिर पनि आलोचित छन् । बैधानिक पत्नी सिर्जना त्रिपाठी हुँदा हुँदै बिनालाई कान्छी बनाएर भित्र्याएपछि प्रकाशलाई केही समय पार्टीले निलम्बन गरेकोे थियो । त्यो लगत्तै दोस्रो संबिधान सभा निर्वाचनमा बीनालाइ कञ्चनपुरबाट टिकट दिएर पुस्कृत गरिएको थियो । अहिले प्रकाश बिनातर्फको बच्चा बोकेर प्रचण्डको वरपर घुमि नै रहेका हुन्छन् । वैधानिक पत्नी सिर्जनातर्फका छोरा भने मावलीमा छन् ।
सिर्जना परिवारबाट ‘आउट’ पोखराकी सिर्जना त्रिपाठीलाई प्रचण्डले विधिपूर्वक बुहारीका रुपमा भित्र्याएका थिए । प्रकाशको राजीखुसीमै विवाह भएको थियो । राजीखुसीकै फल थियो छोरा प्रशिद्धको जन्म । वैवाहिक जीवन सामान्य हिसाबले चलिरहेको थियो । प्रकाशले अर्काकी पत्नी बीना मगरलाई टिपेर हिँडे । धेरैले ठाने –प्रकाशले सिर्जनमाथि अन्याय गरे । पछिल्लो घटनाक्रमले अर्कै देखाउँछ ।
राष्ट्रपति भवनमा आयोजित प्रधानमन्त्री प्रचण्डको सपथग्रहण समारोहमा सहभागी हुन जाने पार्टीका नेता कार्यकर्ता, इष्टमित्र र नातेदारको लामो सुची बन्यो । त्यो सुचीमा ल्याइते बुहारी बिना मगरसमेतको नाम थियो । तर वैधानिक बुहारी सिर्जना र नाति प्रशिद्धलाई बोलाइएन । वैधानिक बुहारीलाई नबोलाउने र ल्याइतेको नाम राष्ट्रपति भवनमा टिपाउनुले सिर्जना परिवारबाटै अवहेलनामा परेको अनुमान लगाउन गाह्रो छैन ।
कुटनीतिज्ञका वरिपरि फन्फनी चिनियाँ राजदूत उ चुन्ताई प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनलाई शुभकामना दिन लाजिम्पाट पुगे । ठूलो बुकेसहित प्रचण्डनिवास लाजिम्पाट पुगेका चुन्ताईले शुभकामना दिए । सो क्रममा सामूहिक तश्बिर पनि खिचियो । त्यहाँ राजदूत चुन्ताई, चिनियाँ दूतावासका केही कर्मचारी, प्रचण्डपत्नी सीतालगायत थिए । प्रकाशत ल्याइतेतर्फका छोरा बोकेर सामूहिक फोटो सेसनमा सरिक भए । बहुबिवाह गर्नु कानुनतः अपराध हो । प्रकाशले आफ्नो छोरो बोकेर फोटो खिच्नु स्वभाविक पुत्रमोह थियो । तर विगतको अपराध जोडिने भएकोले प्रकाशका यस्ता गतिबिधि विवादास्पद हुने गरेका छन् ।