राजनीति

भागबन्डाका आधारमा मन्त्री छान्नु हुँदैन– नेता केसी

भागबन्डाका आधारमा मन्त्री छान्नु हुँदैन– नेता केसी
Arjun-narsing-kc साउन - २२ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीले भागबन्डाका आधारमा मन्त्री पद छान्न नहुने बताएका छन् । शनिबार भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका बालकोटमा स्वर्गीय श्यामबहादुर कार्कीको नबाैँ स्मृति दिवसको अवसरमा श्यामबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर, औषधि वितरण, एवम् रक्तदान कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । उनले भने –“पदको भागबन्डा गर्ने होइन, व्यक्तिको योग्यता, क्षमता, जनप्रियता र अनुभवको आधारमा मन्त्री छानिनुपर्छ, पार्टीभित्र सहमति र संवादबाट वरिष्टता, मर्यादा र हैसियतलाई मिलाएर लानुपर्छ ।” आफूले पाएको मन्त्री पद किन स्वीकार नगरेको भन्ने चासो विभिन्न तहबाट राखिएको चर्चा गर्दै नेता केसीले पदभन्दा जनसेवा ठूलो भन्ने लागेर त्यसलाई स्वीकार नगरेको स्पष्ट पारेका छन् । नेता केसीले भने–“रक्षा मन्त्रालय जनतासँग नजिक राख्ने, जनतासँग घुलमिल हुने मन्त्रालय होइन, त्यहीँ भएर म गइन, मैले जनताको सेवा गर्ने मन्त्रालय रोजेको हो ।” कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, काँग्रेस नेता रामप्रसाद दवाडीलगायतले सरकारले जनताको मन जित्ने काम गर्नुपर्ने धारणा राखेका छन् । प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गणेश प्रावि बालकोटका ५३ जना र गोठाटार बालआश्रमका १२ जना बालबालिकालाई स्टेसनरी सामग्री, झोला र ट्र्याकसुट वितरण गरिएको थियो । त्यस अवसरमा मध्यपुर अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर र निःशुल्क औषधि वितरण र रक्तदान समेत गरिएको थियो । रासस

Arjun Narshing KC

विशेष