प्रधानमन्त्रीका रुपमा प्रचण्डका तीन दिनः जनता झुक्याउने तीन ठूला कर्म
साउन २३ । प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले शपथ लिएको आइतबार तीन दिन पूरा भएको छ । यी तीन दिनमा उनले जनता झुक्याउने तीन ठूला काम गरेका छन् । ती कामहरु यस्ता छन्ः
१. डेढ महिनामा पहिलो किस्ताः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुरुमै सबै भूकम्पपीडितहरुलाई डेढ महिनामा पहिलो किस्ता दिने घोषणा गरे । खासमा यो घोषणा गर्न लायक कुरै रहेनछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सवा तीन लाख भूकम्पपीडितलाई पहिलो किस्ता वितरण गरिसकेको छ । सवा लाखलाई वितरण गर्न बाँकी छ । ती बाँकी सवा लाखलाई डेढ महिनाभित्र पहिलो किस्ता वितरण गरिसक्ने पूर्वनिर्धारित कार्ययोजना प्राधिकरणले पहिले नै तय गरिसकेको थियो । प्राधिकरणका सहप्रवक्ता डा. भिष्म भुसालले भने, ‘प्रधानमन्त्रीले अनुदान वितरणसम्बन्धी कार्ययोजना माग्नु भयो । हामीले दियौं । प्राधिकरणको योजनाअनुसार नै उहाँले बोल्नु भएको हो ।’
खासमा प्रधानमन्त्री जो सुकै नियुक्त भए पनि डेढ महिनामा भूकम्पपीडितलाई पहिलो किस्ता स्वतः बाँडिने थियो । यो विषय प्रधानमन्त्रीले घोषणा गरिहने विषय नै थिएन ।
अझ रोचक त के छ भने ओली सरकारका पालामा भूकम्पपीडितलाई पहिलो किस्ता नै २ लाख दिनु पर्छ भन्दै कांग्रेसले संसद नै अवरुद्ध गरिदियो । तत्कालीन प्रधानमन्त्री ओली कायल भएर उनले कांग्रेससँग डेढ लाख दिने सहमति गरेर संसद सुचारु गरे । तर अहिले कांग्रेस स्वयं सरकारमा छ तर भूकम्पपीडितले पाउने पहिलो किस्ता डेढ लाख होइन त्यही ५० हजार हो । सहप्रवक्ता डा. भुसाल भन्छन्, ‘राजनीतिक तहमा भएको सहमतिले मात्रै हुँदैन । हामीले मौजुदा विधि र प्रक्रियाअनुसार वितरण गर्नुपर्छ । हामीले बाँड्ने भनेको नियमानुसारको ५० हजार नै हो ।’
२ राजदूत सिफारिस फिर्ताः केपी ओली सरकारमा माओवादी पनि सहभागी थियो । त्यो सरकारले २२ मलुकुका लागि राजदूत सिफारिस गरेको थियो । सिफारिस गर्दा मुख्य सत्ता साझेदार माओवादीले कुनै विरोध जनाएन । माओवादीले आफ्ना मान्छे पनि राजदूतमा सिफारिस गरेको थियो । सिफारिसमा परेका २२ मध्ये ८ को संसदीय सुनवाई सकिएको छ । १४ जनाको संसदीय सुनवाई हुने क्रममा थियो । तर नयाँ प्रधानमन्त्री दाहालले १४ जनाको सिफारिस उल्टाइदिए । १४ जनामा केही एमालेबाट पनि थिए । एमालेको भागमा परेकाहरुलाई हटाएर कांग्रेसका मान्छे राख्न यसो गरिएको हो भन्ने बुझ्न गाह्रो छैन ।
प्रधानमन्त्री दाहालले गरेको यस्तो निर्णयमा आश्चर्य मान्दै माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले त सामाजिक सञ्जाल फेसबुकमा बाहिरबाट राजदूत सिफारिस फिर्ता भएको खबर सुन्नु परेको भन्दै असन्तुष्टि जनाए । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि राजदूत सिफारिस फिर्ता गरिएको कार्य गलत भएको टिप्पणी गरे ।
३. आचारसंहिता मिच्ने पहिलो व्यक्ति प्रचण्ड–ओली सरकारमा आफ्ना प्रतिनिधि पठाउने बेलामा नौ महिना अघि माओवादीले २३ बुँदे आचारसंहिता बनाएको थियो । आचारसंहिताको एउटा महत्वपूर्ण बुँदा थियो–सचिवालयमा आफन्त नराख्ने । आचारसंहिता नै यस्तो बनेपछि माओवादीका मन्त्रीहरुले आफ्नो सचिवालयमा आफन्त राखेनन् । नौ महिनापछि प्रधानमन्त्रीमा प्रचण्ड बिराजमान भए ।
उनले आफ्नै छोरा प्रकाशलाई सचिवालय सदस्यमा नियुक्त गरिदिए । पार्टीले नै बनाएको आचारसंहिता अध्यक्षबाटै उल्लंघन भएको देख्दादेख्दै पनि प्रकाशलाई शुभकामना दिनेहरु माओवादी कार्यकर्ताहरु पनि भेटिए ।
Prachanda