६१ लाखको खाजा प्रकरणमा ओलीका सल्लाहकारले भने, ‘प्रधानमन्त्री ओलीले दैनिक दुईवटा भैंसी खानु भएको हो र ?’
साउन २४ । निवर्तमान प्रधानमन्त्री केपी ओलीले खाजाका लागि मात्रै ६१ लाख रुपैयाँ सरकारी ढुकुटीबाट सकेको समाचार बाहिरिएपछि दुनियाँ चकित भएको छ । ९ महिनाको कार्यकालमा प्रधानमन्त्री निवास बालुवाटारमा मासिक सरदर ७ लाखका दरले खाजा खाइएको देखिन्छ । सो रकमको हिसाव गर्दा प्रधानमन्त्री ओलीले दैनिक २३ हजारको खाजा खाएको देखिन आउंँछ ।
यो खाजा खर्च राजामहाराजाले बिगतमा गरेको खर्चभन्दा बढी रहेको बताइन्छ । अपत्यारिलो खाजा खर्चका बारेमा पूर्वप्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले कडा प्रतिक्रिया दिएका छन् ।
‘समाचारमा कुनै सत्यता छैन । यो बिल्कुल झूट कुरा हो । बदनाम गर्नलाई ल्याइएको कुरा हो । ओलीको लोकप्रियतालाई घटाउनका लागि गरिएको दुष्प्रचार हो । तर, कसैले यस्तो कुरा पत्याउनेवाला छैन । प्रधानमन्त्रीले दिनमा दुईवटा भैंसी खाएका हुन् र यत्रो खर्च हुनलाई । लेख्दापनि विचार पुर्याउनुपर्छ ।’ खर्चको विल भरपाइ सहित आएको समाचारलाई कसरि भ्रामक भन्न सकिएला भन्ने प्रश्नको जवाफमा रिमाल भन्छन्ः ‘विल कसरी आयो त्यो समाचार बनाउने र दिनेलाई थाहा होला । सामान्य हिसावले पनि बुझ्न सकिन्छ यो खर्च भएको थिएन । यस्ता कुराको पछि लागेर हामी समय बर्बाद गर्न चाहंदैनौं । झिंगाले सरापेर ढिंगा मर्दैन । ओलीजीलाई यस्तो कुराले केही असर गर्दैन ।’
रिमालको आक्रामक जवाफले भन्छः ‘प्रधानमन्त्रीले खाजामा त्यत्रो खर्च गरेकै होइनन् । सामान्यतयाः खाजामा त्यत्रो खर्च हुंदैन पनि । त्यसमाथि प्रधानमन्त्री ओली बिरामी छन् । प्रधानमन्त्री ओलीले बाहिर फेर जाँदा पनि श्रीमती राधिका शाक्यले बनाएको खाना हटकेसमा राखेरै लैजाने गर्दछन् । यो पृष्ठभूमीमा प्रधानमन्त्रीको खाजा खर्चको रहस्य के ?
खाजा खर्च स्वतस्फूर्तका लागि पूर्वप्रधानमन्त्रीले बालुवाटार छाड्दै गर्दा १८ लाखको खाजा खर्च विल पेश गरे । अस्वभाविक शैलीको विल टेबुल भएपछि एक कान दुई कान मैदान हुँदै बाहिरियो । स्रोतका अनुसार खासमा सो बिल पूरै खाजा खर्चको होइन । खाजा खर्चमा मिलाउदा सहजै भुक्तान हुंँने हँुंदा गरिएको सेटिङमात्र हो । खाजा खर्चबापतको बिलको अधिकांश रकम ओली निकट युवासंघका कार्यकर्ताले गरेको खानपिन र रजाईं हो । ओलीको पक्षमा निस्किएको भनिएको ‘स्वतस्फुर्त’ जुलुशको व्यवस्थापन र खर्चको रकम मिलानका लागि प्रधानमन्त्रीको खाजा खर्च बढाइएको स्रोतको दाबी छ ।
सेटिङमा होटलले नक्कली खाजाका लागि सक्कली बिल दिने गर्दछन् । यसबापत होटेलले केही रकम पाउंँने गर्दछन् । बाँकी रकम बिल लिनेले पछिबाट होटेलसँग बुझ्ने गर्दछन् ।
पूर्वप्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकारले बालुवाटारमा खाजा खर्चका लागि ६१ लाख खर्च हुँदै नभएको प्रष्टिकरण दिएपछि विषय झनै गम्भीर बनेको छ । खाजाका नाममा के भएको हो ? त्यसको खोजी हँुंन जरुरी छ ।