राजनीति

बधाइ खाएरपनि मन्त्री नखाइएला भन्ने पीरलोमा परेका यि नेता

बधाइ खाएरपनि मन्त्री नखाइएला भन्ने पीरलोमा परेका यि नेता

मंगलबार माओवादीवृत्तमा बधाइको लहरो चल्यो । कुनैबेला बाबुराम भट्टराईका नजिक रहेका राम कार्कीले पछिल्लो समय प्रचण्डलाई साथ दिएका छन् । पूराना कम्युनिष्ट नेता कार्कीले अवसर नपाएको भन्दै यिनलाई मन्त्री बनाउनुपर्ने तर्क माओवादीमा जबरजस्त चलिरहेको छ । प्रचण्डले प्रधानमन्त्रीको सपथ खाएकै दिन मन्त्री बन्ने पक्का भनिएका कार्की मंगलबार संचारमन्त्री नियुक्त भएको चर्चा चल्यो । उनलाई धेरैले बधाइ दिए । उनले स्विकारपनि गरे । सहकार्य गर्नुपर्ने भन्दै धेरै पत्रकारलाई उनले मित्रताको हात फैलाए । तर, उनको नियुक्तिले औपचारिकता पाउन सकेन ।

राजनीतिमा रातारात अर्कै खेल भएको कार्कीले धेरै पटक देखेका छन् । बधाइ खाइवरी बसेका कार्की अहिले सोचमग्न रहेको बताइन्छ । यसअघि भट्टराई प्रधानमन्त्री हुंदा अवसरको ओइरो लाग्ने ठानिएका कार्कीको रित्तो हात भएको थियो । रुकुमले उर्जामन्त्री पाएको भन्दै जनार्दन शर्मालाई बधाइको ओइरो लाग्यो । सार्वजनिक लेखा समितिको सभापति जस्तो मर्यादित र शक्तिशाली पदमा आसिन व्यक्ति के मन्त्री खान गाको भनेर आलोचना पनि प्रशस्तै भयो ।

पार्टीमा हेडमाष्टरका रुपमा चिनिने हितराज पाण्डे स्थानीय विकास मन्त्री भएको खबर फैलियो । मेहनती नेताको मूल्यांकन भएको तर पार्टीको निश्चित घेरामा रहेका यिनले मन्त्रालयमा के गर्लान भन्दै माओवादीमा तर्कविर्तक शुरु भयो । प्रशु शाहले कानून मन्त्रीका रुपमा बधाइ खाइरहेका थिए प्रभु शाहले । दोहोराएर कानून मन्त्री हुन लागेका उनलाई मधेशको प्रतिनिधित्वका रुपमा माओवादीवृत्तमा अर्थाइएको थियो ।

नेता नारायणकाजी श्रेष्ठ पक्षबाट डिआर पौडेललाई शिक्षा मन्त्री बनाइएको खबर मंगलबार फिजियो । राष्ट्रिय राजनीतिमा नचिनिएका यि पात्रको फोटो खोज्नै पत्रकारलाई धौधौ भयो । गिरिराजमणि पोखरेलले राम्रो काम गरेकाले उनैलाई दोहोराउनुपर्ने माओवादीमा आवाज उठेको थियो । धेरैले तर्क गरे, ‘श्रेष्ठ गुटमा जो मन्त्री भएपनि काम उही हो । उनीहरु सामुहिक प्रयासबाट निर्णय लिने र कार्यान्वयन गर्ने गर्दछन् । हामीजस्ता माओवादी होइनन् ।’

माओवादीका मात्र होइन केही काँग्रेसका नेताले समेत मन्त्रीका रुपमा बधाइ खाए । सशांक कोइरालाको स्वास्थ्यका कारण शेखर कोइरालालाई भावी नेतृत्वको रुपमा काँग्रेसजनले अर्थाउन थालेका छन् । उनलाई परराष्ट्रमन्त्री नियुत्त गरेर सभापति शेरबहादुर देउवाले गजब गरे भनेर चिया गफ भइसकेको थियो । तर, उनि नियुक्त भइसकेका थिएनन् । कार्यकर्ताको फोन सहजै उठाउने शेखर भन्दैथिए, ‘पहिले हुन त दिनोस् । अझै केही भएकै छैन ।’ गृहमन्त्री नपाएको झोकमा सपथ नगरेका अर्जुननरसिंह केसीलाई रक्षा मन्त्री बनाइएको खबर बाहिरियो । कार्यकर्तासँग औधी निकट केसीलाई धेरैले जसरीपनि जुनसुकै मन्त्री भएपनि हुनैपर्ने दबाब दिइरहेका थिए । मन्त्री नहुंदा उनका लागि भुंइको टिप्न खोज्दा पोल्टाको समेत पोखिएको जस्तो हुंने निश्चित थियो । उनलाई पनि बधाइको ओइरो आउन थालेको थियो । उनी भन्दै थिए, ‘बधाइ दोहोराएर खाइसके । मन्त्री खाने हो कि होइन थाहा छैन ।’

बधाइ खाएरपनि मन्त्री खाइनसकेका यि नेताहरु मन्त्री बन्ने सम्भावना अझै बलियो छ । तर, मन्त्री बन्छन् नै भन्ने ग्यारेन्टी छैन । किनकी रातारात अर्कैले गोल हान्न कत्ति बेर छैन । बधाइ खाएरपनि मन्त्री खान नपाउंदाको पीर दुनियाँलाई के थाह ।

Nepali Politices Nepali Politiss

विशेष