राजनीति

संशोधन नभए देश विखण्डनतिर जानसक्ने – अध्यक्ष यादव

संशोधन नभए देश विखण्डनतिर जानसक्ने – अध्यक्ष यादव
Upendra-Yadav-in-Parliament (1) साउन - २८ । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन गरी जनताको हक अधिकार सुनिश्चित नगरिए भविष्यमा देश कुनैपनि बेला विखण्डनतिर जान सक्ने बताए । शुक्रबारदेखि जनकपुरमा आयोजित दुईदिने सङ्घीय समाजवादी फोरम नेपालको तराईमधेस प्रदेश भेलाको उद्घाटन गर्दै वर्तमान संविधानमा धेरै त्रुटि भएकाले यसको संशोधन होइन पुनर्लेखन गर्नेपर्ने यादवले बताए । वर्तमान संविधान संशोधनको सबैभन्दा ठूलो बाधक ओली सरकार भएकाले त्यो सरकारलाई संसदीय अस्त्र प्रयोग गरी धरासायी पारिएको भन्दै अध्यक्ष यादवले भने, 'जबसम्म संविधान संशोधनबाट समस्या समाधान गरिँदैन तबसम्म देश अशान्त रहन्छ ।' संविधान संशोधन गर्न दुई तिहाइ बहुमत चाहिन्छ जुन यो सरकारसँग छैन भन्दै अध्यक्ष यादवले थपे “तरपनि संविधान संशोधन हुँदैन भने हामी यो संविधान खारेज गरी आठौँ संविधान ल्याउँछौँ ।” अहिलेको संविधानमा जुन सङ्घीयता छ त्यो सङ्घीयता नभएको भन्दै अध्यक्ष यादवले भने —सङ्घीयतामा पहिचान, स्वायत्तता र आत्मनिर्णयको अधिकार हुनु पर्दछ । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न वक्ताले बोलेका थिए । नारायणी अञ्चलदेखि पूर्व मेची अञ्चलसम्मको भूभागको प्रदेश निर्माण तथा वर्तमान राजनीतिक परिस्थितिबारे छलफल गरिने सो दुईदिने भेलामा चितवनदेखि झापासम्मका जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय परिषद् सदस्य, कलाकार कमिटी सदस्य तथा विभागीय सदस्य गरी १७५ जनाको सहभागिता रहेको छ । रासस

upendra yadav

विशेष