राजनीति

फोक्सो फालिएकी र मुटु–व्यथाले छोएकी माओवादी नेतृ जयपुरीको वेदना

फोक्सो फालिएकी र मुटु–व्यथाले छोएकी माओवादी नेतृ जयपुरीको वेदना

jaya puriसाउन २९ । नेकपा माओवादी केन्द्रकी कार्यालय सदस्य जयपुरी घर्तीको संर्घष र निष्ठापूर्ण जीबनमा सायदै कसैले प्रश्न उठाउन सक्छ । रोल्पाको दुर्गम गाऊँमा जन्मिएकी र खाशै अध्ययन नगरेकी जयपुरीले स्वअध्ययन, संर्घष र व्यवहारबाट लोभलाग्दो शिक्षा प्राप्त गरेको उनी निकटहरु बताउंँछन् । युद्धमा श्रीमान गुमाएकी जयपुरीले ढाडमा छोरी बोकेर लडाइमा होमिएकी थिइन् । रोग लागेपछि एउटा फोक्सो काटेर फालिएकी तथा मुटुको व्यथाले छोएकी जयपुरीलाई घर धान्न धौ धौ छ । पूर्वमन्त्री समेत रहेकी नेतृ जयपुरीले हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार नारायण पौडेलसँग मनको बह पोखेकी छिन् । त्यसैको सारांश यहाँ लिपिबद्ध गरिएको छ ।

म बेलाबेला बिरामी परिरहन्छु । पहिले मेरो एउटा फोक्सो काटेर फाल्नु पर्‍यो । त्यसको केही समयपछि मेरो मुटुमा समस्या देखियो । शरीरका दुई संवेदनशील अंग फोक्सो र मुटुमा खराबी भएपछि मेरो शारीरिक अवश्था उति ठीक हुने कुरा भएन । तर, रोग लाग्यो भन्ने भावनाले मलाई गाँजेको छैन । म सक्रिय छु । आखिर धेरै कुरा मानसिकता र मनोविज्ञानले असर पार्ने रहेछ ।

अहिले मैले सोचेको कुरा पूरा भएको छ । पार्टी छिन्नभिन्न हुंदा हामी सबैले धक्का खानुपर्‍यो । माओवादी हार्नु भनेको देश, जनता र वर्गका एजेण्डा हार्नु हा । मैले निरन्तर पार्टी एकताका लागि कोसिस गरेकी थिएं । बैद्य दाइ, विप्लव दाइ सबैसँग मेरो कुरा भएको थियो । ढिलो चाँडो हामी सबै एक हुन्छौं ।

बुझाइ र विचारमा एकरुपता ल्याउन जरुरी छ । तर, अहिलेको सन्दर्भमा प्रचण्ड नै सबैको नेता हो । उहाँको पहलले पनि एकता सम्भव भएको हो ।

पार्टी यसरी नै अघि बढ्ने भन्ने हुँदैन । हामीलेल केही न केही परिवर्तन गर्नैपर्छ । नेता र कार्यकर्ता, कार्यकर्ता र कार्यकर्ताका बीचमा जुन किसिमको खाडल देखिएको छ त्यो गम्भीर छ । कसैलाई सबै पुगेको छ । कसैलाई औषधीपनि खान नपाउने, दुई छाक टार्नपनि नपुग्ने अवश्था छ ।

मैले घरखर्च टार्न कुखुरा पालन गरे । सहकारी चलाउन खोजे । पार्टीकै साथीहरुले विरोध गरे । माओवादी निकट पत्रकारले चर्को टिप्पणी गरे । काम गरेर खान्छु भन्दापनि नपाइने ? आत्मनिर्भर बन्नु त राम्रो हो । तर, चन्दाको भरमा बाच्ने र अरुलाई श्रमको पाठ सिकाउने शैली राम्रो भएन ।

रोग छ । छोरी छ । काठमाडौंको बसाइ छ । त्यसैले केही गर्न पर्‍यो भन्दा कतिपयले आलोचना गरे । मलाई उपचारका लागि पार्टीले पैसा दिएको छैन । मैले मागेकीपनि छैन । एक डेड बर्ष म एकताका लागि भन्दै कुनै पार्टीमा रहिन ।

म गाडी चढ्ने, आर्थिक हैसियत धेरै हुंने नेताको संगतमा छैन । उनीहरुकोमा म पुग्नपनि पुग्दिन । साथीभाइसँग २/४ हजार सरसपाट गरेर काम चलाउने गरेकी छु । मलाई यसैमा खुशी लाग्छ । जसको आर्थिक हैसियत माथि छ उनीहरुसँग भएको गाडी पैसा हाम्रालागि काम लाग्दैन । मैले यसको राम्रो अनुभव गरेकी छु ।

म मन्त्री भइसकेकी थिएँ । टेम्पोमा यात्रा गर्दैगर्दा महिला पत्रकारले देखिन् । तपाईपनि टेम्पोमा भन्दै अचम्म मानिन् । मैले तपाई हामी सबै एकै भन्ने उत्तर फर्काए । जनतासँग जोडिने कुरामा के अफ्ठयारो ? हिजोको मूल्यमान्यता छाड्नु पो लाज हो । म प्रष्ट छु ।

मेरो वा मभन्दा कमजोर पृष्ठभूमी भएका नेताका छोराछोरी÷नातिनातिना पजेरोमा स्कुल जान्छन् । छोरीले यो देखेकी छ । त्यसैले उसले पनि कहिलेकाहीं मसँग सुविधा माग गर्छे । मोटरसाइकल किन्दे भन्दै थिई । मैले उसलाई सम्झाएं । तिम्रो मोटरसाइकल किन्ने बेला र हैसियत भइसकेको छैन भनेर सम्झाएकी छु । एक हिसावले भन्दा यो उसमाथि भएको अन्याय मान्न सकिएला, किनकी उसका दतौरी पजेरोमा हिड्छन् । तर, गाडी चढ्नेलाई हेर्ने होइन, गाऊघरमा रहेका सहिद परिवार जसले खानापनि पाएका छैनन् उनीहरुलाई हेर्ने हो । ९० प्रतिशत माओवादी नेताकार्यकर्ताको हालत खराब छ । केहीको मात्र चुरीफुरी बढेको हो । हामी ९० प्रतिशतको एक हिस्सामात्रै हौं ।

मेरी छोरी त काठमाडौं आउन पाइ, पढ्न पाइ । कति सहिद परिवारका छोराछोरीले पढ्न पनि पाएका छैनन् । कम्तिमा पनि हामी सहिद परिवारले उनीहरुलाई बिर्सन हुंदैन भन्ने गरेकी छु । उसले बुझेकी छ ।

मेरा अन्तरजातिय विवाह भएको हो । मेरो श्रीमान युद्धमा सहिद हुनुभयो । ०५९ सालमा उहाँ सहिद हुँदा छोरी ४ बर्षकी जति थिई । अहिले ऊ ठूली भइसकी । अन्तरजातिय सन्तान भएर होली बाठी छ । मलाई जनयुद्धका बारेमा अनेक प्रश्न गर्छे । सायद उसको मनमा बुबाको सहादतीप्रति दुःख छ होला । व्यक्त गर्दिन । धेरैहदसम्म सकारात्मक छ । धेरै नेताका छोराछोरी जनयुद्धप्रति सकारात्मक नभएको पाएकी छु । मेरी छोरीले अनेक प्रश्न त गर्छे तर यसको आवश्यकतालाई स्विकार गरेकी छ । अहिलेको जमानाको भएरपनि होला प्रश्न भने गरिराख्छे । पार्टीमा श्रीमानले श्रीमतीका लागि बार्गेनिङ गर्ने गर्दछन् । श्रीमानश्रीमती दुबै जिवित भएका नेता दम्पत्तिले अनेक फाइदापनि लिएका छन् । केही हदसम्म त्यो स्वभावतः हुने भयो । तर, यस्तो प्रवृत्ति राम्रो होइन । म त भन्छुः नेता आफैं निखारिएर बन्नुपर्छ । कसैको ज्याकको भरमा तानिने सोच कसैले पाल्नुहुंदैन ।

मन्त्रीमा महिला कमरेडलाई पठाउने कुरामा केही समस्या आएकै छ । महिला नेतृहरुको ठूलो हिस्सा संसदभन्दा बाहिर छ । निर्वाचन बहिष्कार वा पराजयका कारणले मन्त्री बन्ने महिला नेतृको सवालमा केही समस्या देखिएको मान्न सकिएला । तर, यसैलाई कारण बनाएर क्षमतामाथि प्रश्न उठाएर महिलालाई निषेध गर्न पाइदैन ।

हिजो केही नेतृहरुको क्षमतामाथि प्रश्न उठ्दाउठ्दै मन्त्री बने र स्थापित भए । देश हाक्न सक्ने भए । उनीहरुका नेता श्रीमान भएकाले प्रश्न कमजोर बन्यो । अहिलेपनि सांसद महिला छन् । उनीहरुलाई मन्त्री बनाउनुपर्छ । क्षमता नभए विकास गर्नुपर्छ ।

मैले पार्टीको बैठकमा स्पष्ट भनेकी छु । महिलाको समानुपातिक प्रतिनिधित्व हुनुपर्छ । भएन भने राम्रो हुंदैन मेरो असहमति रहन्छ भनेकै छु । मैले महिलाको हक र समानुपातिक प्रतिनिधित्वको लागि धेरै संर्घष गरेको छु । पाएको मन्त्रीसमेत (झलनाथ खनाल मन्त्री हुँदा) मैले खान्न भनेर विद्रोह गरेर मुद्धा स्थापित गरेकी हुं । यहाँ धेरै बाहिर मुद्धा उठाउछन्, आफुले पाएपछि लुसुक्क जान्छन् । मेरो स्वभाव त्यस्तो छैन । म अहिलेपनि दृढ छु । (माओवादी नेतृ जयपुरीसँगको कुराकानी तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुन्छ )

विशेष