राजनीति

नेवि सङ्घमा ११ जिल्लाको प्रतिनिधि विवाद

नेवि सङ्घमा ११ जिल्लाको प्रतिनिधि विवाद
Nepal-Students-Union 1 साउन - २९ । आइतबार हुने भनिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको निर्वाचन प्रक्रियाका लागि विवादित जिल्लाबाट थपिएका महाधिवेशन प्रतिनिधिको नाममा विवाद आएको छ । सङ्घको महाधिवेशन सम्पन्न गर्न नेपाली काँग्रेसले गठन गरेको निर्देशक समितिले गत मङ्गलबार राति विवादित ११ जिल्लामा १० जनाभन्दा नबढाई प्रतिनिधि थप गर्ने सहमति गरेको थियो । सहमति विपरीत १० भन्दा बढी प्रतिनिधि थपिएको गुनासो आएको समिति सदस्य गुरुराज घिमिरेले जानकारी दिए । 'सङ्घको राजनीतिमा लागेका विद्यार्थीको भविष्यमाथि कुठाराघात नहुने गरी सहमतिकै प्रक्रियाबाट महाधिवेशन सम्पन्न गर्छौं, यसअघि निर्देशक समितिको बैठकमा भएको सहमतिकै आधारमा अघि बढेर समस्याको समाधान निकाल्छौँ'– उनले भने । निर्वाचन समितिले मतदाताको नामावली प्रकाशन गर्ने तयारी गरेपछि शनिबार सङ्घका केही नेताले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी अनशनका नाममा फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन लागिएको भन्दै महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका पशुपति बहुमुखी क्याम्पसका स्ववियु सभापति मनोज वैद्यलगायतका नेताले यस्तो चेतावनी दिएका हुन्। असन्तुष्ट समूहले काँग्रेस केन्द्रीय कार्यालय, सानेपा र पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि फर्जी विद्यार्थीलाई प्रतिनिधि बनाउन पाइँदैन, भागबन्डामा महाधिवेशन गर्न पाइँदैन भनी नाराबाजी गरेका छन् । काँग्रेस केन्द्रीय सदस्य एवम् निर्देशक समितिका सदस्य प्रदीप पौडेल समितिको बैठकमा भएको सहमतिअनुसार चले समस्या नआउने बताउँँछन् । 'समस्या समाधान गर्न आज दिउँसो निर्देशक समिति संयोजक डा प्रकाशशरण महतले डाक्नुभएको बैठकमा समिति सदस्यद्वय गोविन्द भट्टराई र गुरुराज घिमिरे नै उपस्थित हुनुभएन, हामी सहमतिबाटै समस्या समाधान गर्नुपर्ने पक्षमा छौँ'– उनले भने । निर्वाचन समिति संयोजक भरतप्रसाद खरेल निर्देशक समितिले मतदाता नामावली दिएपछि शनिबार साँझसम्म नामावली प्रकाशन गरी आइतबारदेखि निर्वाचन कार्यक्रम अघि बढाउने तयारी गरिएको बताए । 'समितिले टाइप गरेको मतदाता नामावली उडेपछि आज ५ बजे प्रकाशन गर्ने भनिएको नामावली टाँस गर्न सकिएन, निर्देशक समितिले नाम दिनेबित्तिकै निर्वाचन कार्यक्रमको प्रक्रिया अघि बढ्छ'– उनले भने । साउन २५ गते सम्पन्न गर्ने भनिएको सङ्घको ११औँ महाधिवेशन प्रतिनिधि विवादका कारण एक साताभन्दा बढी समय लागेपछि जिल्ला जिल्लाबाट आएका प्रतिनिधि समस्यामा परेका छन् । साउन २३ गते उद्घाटन भएको महाधिवेशनको अझै बन्दसत्र सुरु हुन सकेको छैन । बन्दसत्र नगरी निर्वाचन कार्यक्रम अघि बढाउने निर्देशन समितिले जनाएको छ । विसं २०६४ पछि सङ्घको महाधिवेशन भएको छैन । सात पटक मिति तोकेर पनि विविध कारणले ११औँ महाधिवेशन स्थगित हुँदै आएको थियो । आठौँ पटक पनि महाधिवेशनले नेतृत्व छनोट गर्नेमा शङ्का उत्पन्न भएको महाधिवेशन प्रतिनिधि तेजबहादुर बानियाँको भनाइ छ । रासस

Mahadibeshan Nebi Sangh

विशेष