राजनीति

संविधान कार्यान्वयन गर्नुको विकल्प छैन

संविधान कार्यान्वयन गर्नुको विकल्प छैन
Nepal ko Sambidhan 2072 साउन - ३० । विभिन्न राजनीतिक दलका नेताले सबै राजनीतिक दलबीच राष्ट्रिय सहमति र सहकार्य गर्दै संविधान कार्यान्वयन गर्नुको विकल्प नभएको बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले शनिबार आयोजना गरेको ‘वर्तमान राष्ट्रिय राजनीति र संविधान कार्यान्वयन’ विषयक बृहत् छलफल कार्यक्रममा उनहरुले मधेसी, आदिवासी, महिला, सिमान्तकृत समुदायको मागलाई सम्बोधन गरी हालै जारी भएको नयाँ संविधान सर्वस्वीकार्य हुनुपर्नेमा जोड दिए । नेकपा (एमाले)का नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले जनताको सुख, समृद्धि तथा देशको परिवर्तनलाई केन्द्रमा राखेर राजनीतिक दलले राजनीति गर्नुपर्ने बताए । उनले नेपाल अहिले अन्तिम सङ्क्रमणकालबाट गुज्रिरहेकाले सङ्घीयतालाई पूर्णता दिनुपर्ने र यसका लागि राज्यका निकाय, प्रदेश तथा स्थानीय निकायको निर्वाचन समयमा गरेर सङ्घीयतालाई संस्थागत गर्न विशेषगरी चार ठूला शक्ति मिल्नुको विकल्प नभएकाे बताए । नेकपा (माओवादी केन्द्र)का नेता देव गुरुङले नेपालमा संसदीय प्रजातन्त्रभन्दा पनि सहमतिको प्रजातन्त्र आवश्यक रहेको बताउँदै देशको मुख्य मुद्दामा माओवादी, काँगे्रस र मधेसवादी दलको राष्ट्रिय सहमति बन्नुपर्ने बताए । उनले सङ्घीयतालाई संस्थागत गर्ने जिम्मेवारीपूर्ण काम पूरा गर्न एमाले पनि सहमति र सहकार्यमा जानुको विकल्प नभएकाे जनाए । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा सरकार र नीति परिवर्तन गर्ने होइन संस्कार तथा नियत परिवर्तन गर्नुपर्ने आवश्यकतामा जोड दिए । केसीले तराई–मधेसलाई उपेक्षा गरेर संविधान बनाउनु नहुने बताउँदै उनीहरुको माग सम्बोधन गर्ने तथा संविधानमा रहेका अपूर्णतालाई संविधान संशोधन गरी पूर्णता दिने कार्य नयाँ सरकारले सुरु गरेको बताए । जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले हालै जारी भएको संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दल धु्रवीकृत हुनुपर्नेमा जोड दिए । समारोहको सभापतित्व परिषद्का अध्यक्ष दिनेशचन्द्र देवकोटाले गर्नुभएको थियो । रासस

Nepalko Sambidhan

विशेष