नेपाली बाबु स्टाइलमा राम कार्की शितल निवास पुग्दा प्रचण्डको यस्तो हाउभाउ
नेपाली बाबु भन्ने चलचित्रमा भुवन केसी दौरा सुरवाल र ढाका टोपीमा ढल्किएका हुन्छन् । नेपाली बाबुको पहिचान दिन उनले पोशाकलाई माध्यम बनाएका थिए । त्यही शैलीमा झुल्किए राम कार्की ।
बिहानसम्म सुरेन्द्र अर्थात राम कार्की पूर्वी नेपालमा थिए । उनको शैली हेर्दा मन्त्री भइहाल्लान भन्नेजस्तोपनि देखिएको थिएन । तर, कार्कीको तयारी भने भित्रभित्रै गजबको रहेछ । सपथ खान डाकिएसँगै उनि काठमाडौं हानिए । घरमा पुगेर माओवादीकै शब्दमा ‘सामन्ती’ पोशाक लगाए र शासनको तयारी थाले ।
कार्कीले लगाएको पोशाक माओवादीका लागि त नयाँ अभ्यास थियो नै, अरु दलका लागि नयाँनयाँ नै थियो । खद्दरको दौरा सुरवाल र कोटमा उनले ढाकाको इष्टकोट र पाल्पाली टोपी लगाएका थिए । माओवादीमा दौरा सुरवाल लगाएर मन्त्रीको सपथ लिने कार्की पहिलो व्यक्ति हुन् ।
कार्कीलाई बिल्कुलै फरक पोशाकमा देख्दा कोट पाइन्टमा शितल निवास पुगेका माओवादीका अन्य मन्त्रीहरु एकअर्कालाई हेर्दै मुस्कुराएका थिए । कार्की आइयो कमरेड यसरी भन्दै समकक्षीहरुसँग हात मिलाएका थिए ।
कोटप्यान्टमा सजिएका प्रधानमन्त्री प्रचण्डले चाख मानेर राम कार्कीलाई हेरेका थिए । पोशाककै कारण प्रचण्डले नियालेको बुझेका कार्कीले पनि प्रचण्डलाई मुस्कानमार्फत नै जवाफ फर्काएका थिए । प्रचण्डले कार्कीको इष्टकोटमा विशेष ध्यान दिएका थिए । दौरा सुरवाल नलगाएपनि प्रचण्डले कुनै बेला पाल्पाली इष्टकोट खुबै लगाएका थिए ।
मन्त्री रहंदा शक्ति बस्नेत, टोपबहादुर रायमाझी र मन्त्री नहुंदा नारायणकाजी श्रेष्ठ दौरासुरवालमा सजिइसकेका छन् ।
कुनैबेला माओवादी कमाण्डर रहेका नन्दकिशोर पुन उपराष्ट्रपति हुंदै गर्दा नन्दबहादुर पुन बने । उनको नाममात्रै नयाँरुपमा अघि आएको थिएन, पहिरनपनि नयाँ देखिएको थियो । सक्रिय राजनीति छाडेर संवैधानिक पदमा गएका उनले दौरा सुरवाल लगाएर धेरैको मन जितेका थिए । त्यसयता उनी औपचारिक कार्यक्रममा दौरासुरवालमै देखिने गर्दछन् ।
प्रचण्डले पनि दौरा सुरवाल लगाउने
कार्कीले दौरा सुरवाल कुनै शासक पोशाक नभएको प्रतिक्रिया दिएका छन् । नेपालको ठूलो हिस्साले पहिरिने पोशाकको आफ्नै परम्परा र महत्व रहेको उनको भनाइ छ । बिस्तारै सबैले लगाउने भन्दै उनले प्रचण्डले पनि सो पोशाक लगाउन सक्ने संकेत गरेका छन् ।
प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री हुंदा दौरासुरवाल लगाउनुपर्ने चर्चा लाजिम्पाटमा चलेको थियो । तर, कुनै सास्कृतिक पर्वको सन्दर्भ मिलाएर लगाउने भन्दै प्रचण्ड उम्किएका थिए । प्रचण्डले कुनै दिन दौरा सुरवाल लगाएमा कुनै अनौठो हुनेछैन । सुटप्यान्टमा भादगाउंले टोपी नसुहाएको प्रतिक्रिया त उनले धेरैतिरबाट पाइसकेकै छन् ।